राजनीतिमा ‘सुवास’ छरेर विदा भए नेम्वाङ

हिमालय टाइम्स
Read Time = 7 mins

इलाम । इलाम क्षेत्र नं २ का संघीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो । विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो । उहाँ जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुख हुँदा उहाँ सधैँ सर्वसम्मत नै बन्नुभयो ।

नेम्वाङको अवसानले इलाम शोकमग्न

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनुभयो । उहाँले देश र जनताका लागि पु¥याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताउनुभएको छ ।

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । ‘पटक-पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ’, उहाँले भन्नुभयो, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।’

‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।’

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।’

नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताउनुभएको छ । ‘कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।’

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।’

उहाँको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको  छ ।

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उहाँलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम(२ बाट विजयी हुनुभएको थियो । उहाँ एमाले संसदीय दलका उपनेता समेत हुनुहुन्छ ।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष हुनुभएको थियो ।

यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसपछि पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि हुनुभएको थियो

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहनुभएको थियो ।रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?