‘महापुरुषको सफलताले थप चुनौती’

Read Time = 3 mins

दाङ । निर्देशक प्रदीप भट्टराईले ‘महापुरुष’ को व्यावसायिक सफलताले आफूमाथि थप चुनौती थपिएको बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले महापुरुष टिमसँग दाङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले आफूद्वारा निर्देशित चौथो चलचित्र महापुरुषलाई दर्शकले समीक्षात्मक र व्यावसायिक दुवै तरिकाबाट सफल बनाइदिएर आगामी दिनमा अझ उत्कृष्ट सिनेमाको अपेक्षा राखेकाले चुनौती भएको जिकिर गर्नुभएको छ । दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले नायक अरूण क्षेत्रीको कामको तारिफ गर्नुभयो । उहाँले अरूणको महापुरुष डेब्यु चलचित्र भए पनि सशक्त अभिनयमार्फत् दर्शकको मन जित्न सफल भएको र आफूलाई अपकमिङ स्टारका रूपमा उभ्याउन सफल भएको बताउनुभयो ।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम बुधबार मोफसलका दर्शकलाई भेट्न र सफलताको खुसी साट्न नायक अरूण क्षेत्रीको गृहजिल्ला दाङ आइपुगेको थियो । गृहजिल्लामा अरूणसहितको महापुरुष टिमलाई दाङमा स्वागत एवं सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, कलाकारहरू राजाराम पौडेल, अरूण क्षेत्री र अञ्जना बराइलीले आमदर्शकलाई धन्यवाद र आगामी दिनमा पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

दाङ शाखाका संस्थापक उपाध्यक्ष चेतन रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, कलाकार कमल गाउँलेलगायतले चलचित्रले उठाएको विषय गहन र कलाकारको अभिनय सशक्त भएकाले चलचित्र उत्कृष्ट बनेको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?