गोरखाको चुनावी सभामा राप्रपा अध्यक्ष लिङदेनले भने : लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको छ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ ।

शनिवार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गर्नुभयो । उहाँले नेकमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरुले जनताको लागि नभइ विदेशीहरुका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताउनु भयो ।

उहाँले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्ने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गर्नुभयो । उहाँले नेपाली नेताहरुमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललितानिवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् । भन्दा अलगअलग पार्टी मारामार जस्तो गर्ने, खाने बेलामा एकै ठाउँ जम्मा हुने । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेका छन् । हामीले कहिल्यै नेदेखेको, कहिल्यै कल्पना नगरेको आज समाज विभाजित छ । हाम्रो एकता, सद्भाव, संकटमा परेको छ । देशको लागि सरकार बनाउने होइन, विदेशीहरुको सहज, खुशीका लागि हामी कम्फरटेबल सरकार बनाउँछौँ भन्छन् हाम्रा देशका नेताहरु । कहाँ गइरहेको छ देश । हामी नेपाली जनताका लागि सरकार बनाउँछाँै भन्नुपर्ने ठाउँमा विदेशीहरुको खुशी, सजिलोका लागि भनिरहेका छन् । विदेशीको लागि म प्रधानमन्त्री भएँ भने सजिलो हुन्छ । उनीहरु भनिरहेका छन् तर पनि हामी तिनीहरुलाई नेता मानिरहेका छौँ । नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्न थालेका छन् । नेपालको राजनीतिमा विदेशीको आशिर्वाद, समर्थन बिना मन्त्री हुन सकिँदैन । प्रधानमन्त्री हुन सकिँदैन । भइयो भनेपनि टिक्न सकिँदैन भनेर विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको छ ।’

अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गर्नुभयो । पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा लक्षित चुनावी प्रचारप्रसार तिब्र बन्दै गएको । विभिन्न दलका शीर्ष नेताहरुले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तिब्र पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?