प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणाले गर्नुभयो । यस्तै, विशेष अतिथि तथा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सूर्यभूषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजीव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान बनाएको थियो । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाकओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेको हो ।

पुरुष डबल्सतर्फ नै राजवीर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै, पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेको छ । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मानबहादुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गर्‍यो ।

यसै स्पर्धामा राजु क्षेत्री र ईश्वर जिसीको जोडीले अमृत गुरुङ र श्याम जिसीको जोडीलाई ६-४,५-७ र १०-८ ले, सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले दावा शेर्पा र जितेन्द्र परियारको जोडीलाई ६-३ र ६-३ ले तथा निरेश श्रेष्ठ र विजय मान तुलाधरको जोडीले डिगेन्द्र श्रेष्ठ र कृष्ण थापाको जोडीबाट वाकओभर पाउँदै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

४५ वर्षमाथिको पुरुष डबल्समा यज्ञ भण्डारी र आशिष सिग्देलको जोडीले नन्द पुन र कृष्ण कौसुलाको जोडीलाई ६-० र ६-० ले तथा सञ्जीव श्रेष्ठ र करिमउलल मुस्लिमको जोडीले निरेश श्रेष्ठ र गोपाल मानन्धरको जोडीलाई ६-० र ७-५ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यसै स्पर्धामा रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीले मनोज श्रेष्ठ र शिवराम मगरको जोडीलाई ६-२ र ६-२ ले, शिव सेढाई र हिमाल शाहको जोडीले किरण नेपाल र अमृत रोकाको जोडीलाई ६-१ र ६-१ तथा राजेन्द्र चापागाईको जोडीले ओजेश उपाध्याय र सुनिल नेपालको जोडीलाई ६-४ र ६-४ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

५५ वर्षमाथि पुरुष एकलमा जीवन घिमिरेले ठाकुर खनाललाई ६-४ र ६-२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाउनुभएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सुरु प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको महिला÷पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाइएको छ । महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?