आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन उम्मेदवारलाई मतदाताका आग्रह

हिमालय टाइम्स
Read Time = 7 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीका मतदाताहरूले घरदैलो अभियानमा गाउँमा आएका उम्मेदवारसँग विकासका ठूला र महत्वाकांक्षी योजनाहरू भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका हुन् । ‘हामीले खेती समयमा रासायनिक मल र बिउ पाउँदैनौँ, सहज रूपमा मल र बिउ पाउने व्यवस्था मिलाउनुहोस्,’ बेनी नगरपालिका-२ बगरफाँटका पदमपाणी शर्माले भन्नुभयो ‘गाउँमा खानेपानी, सिँचाइ र रोजगारीको व्यवस्था गरिदिनुहोस्, ठूलाठूला योजनाका कुरा गर्नुभन्दा पनि आधारभूत आवश्यकताका कुराहरू पैसा तिरेर भए पनि सहजरुपमा पाउन सक्ने व्यवस्था गरिदिनुभयो भने हाम्रा लागि ठूलो कुरा हुन्छ ।’

मालिका गाउँपालिका–३ बेलीका स्थानीय टेकबहादुर विकले खानेपानी, सिँचाइ, सडक र बिरामी पर्दा नजिकमा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न पाउने व्यवस्था मिलाइदिए राम्रो हुने विचार व्यक्त गर्नुभयो । गठबन्धनको तर्फबाट प्रदेशसभा म्याग्दी (२) का उम्मेदवार रेशम जुग्जालीले जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताउनुभयो । उहाँले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘जिल्लाको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,’ जुग्जालीले भन्नुभयो, ‘मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।’ कृषि उत्पादन बढाउन किसानलाई मल, बिउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, मंगला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेलाबाहेक अरू समयमा पनि गाउँमा आएर जनताका दुःख सुख बुझ्न नेताहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्ना कार्यकर्ताबाहेक अरू जनताको नेताहरूलाई अघिपछि वास्ता नै हुँदैन, चुनाव आयो भने बल्ल जनता चाहिन्छ ।’ उहाँले भन्नुभयो, ‘चुनाव जितेर गएपछि पटक्कै गाउँ फर्केर नआउने चाड-पर्वमा विवाह भएका छोरीबेटी माइत आएजस्तै नेताहरू पनि कहिलेकाँही जिल्लामा आए पनि आफ्ना आसे-पासेलाई मात्रै भेटेर फर्कने गर्दा सर्वसाधारण जनता निराश छन्’ उहाँले भन्नुभयो ।

रघुगंगा गाउँपालिका-३ कलेजावाङका मतदाता पदमबहादुर खत्रीले गाउँमा उत्पादन भएका कृषि अनाज, तरकारी, दूध, फलफूल आदिको उचित मूल्य पाउने वातावरणसहित सजह रूपमा कृषि बजारको व्यवस्था मिलाइदिन सके कृषकहरूलाई ठूलो राहत हुने बताउनुभयो । त्यसका साथै कृषि उपकरण र मल बिउको समयमा नै सहज रूपमा कृषकले पाउनसक्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

मतदातासँगको छलफलको क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमबहादुर (खमबीर) गर्वुजाले आफू र गठबन्धनका उम्मेदवार विजयी भएपछि कृषकहरूका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उत्पादनमुखी कार्यमा ध्यान दिन किसानहरूलाई आग्रह गर्नुभयो । त्यस्तै, गठबन्धनको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार हरि भण्डारीले आफू गाउँ ठाउँमा हुर्के बढेको मान्छे भएको हुनाले किसानहरूका समस्यासँग राम्रोसँग परिचित भएको बताउँदै परिवर्तित अवस्था र चुनौतीपूर्ण विकासको गतिलाई अघि बढाउन गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

उता नेकपा एमालेका उम्मेदवारहरूसँग पनि ग्रामीण भेगका मतदाताहरूले किसानका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् । बेनी नगरपालिका-३ भकिम्लीको मुसुङका टीका मगरले बेनी-भकिम्ली सडकको स्तरोन्नति, कृषि उत्पादनको बजारीकरणका साथै कृषकलाई गाउँमा नै गरिखाने वातावरण मिलाइदिन सके राम्रो हुने बताउनुभयो । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले गाउँका सडकहरूको मापदण्ड तयार गरेर सबै सडकहरूको स्तरीकरण गरी सुविधाजनक गराउने, कृषकहरूको जीवनस्तर वृद्धिका लागि आधुनिक कृषि प्रणाली विकास गर्ने लगायतका योजनाहरू सुनाउनुभयो ।

नेकपा एमालेको तर्फवाट प्रदेशसभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले जिल्ला समन्वय समितिमा पाँच वर्ष समन्वय प्रमुख भएर काम गर्दा आफूले कृषकहरूका समस्या र वाध्यताहरू बुझेको बताउँदै कृषकहरूलाई उत्पादनसँग जोडेर जीवनस्तर उकास्ने काममा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच/पाँचजना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १२० जना मतदाता छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?