नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गर्नुभएको छ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा आइतबार भएको छलफलमा सहभागी हुँदै उहाँले उक्त नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग गर्नुभयाे ।

अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताउनु भयो ।

उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनु भयो । उहाँले कालापानीबाट भारतिय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी शतर्क हुनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ । लोकतन्त्रबिरुद्ध बादल मडारिएको छ यसका बिरुद्धमा हामी शतर्क हुनुपर्छ र एक हुनुपर्छ । कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन ।’

उहाँले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका निति, कार्यक्रम पारित हुनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?