चेसमा तण्डुकारको एकल अग्रता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्व-राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नवीन तण्डुकारले समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता कायम गर्नुभएको छ । पाँचौँ चरणको खेलमा अर्का पूर्व-राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता कायम गर्नुभएको छ ।

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा ५० वर्षमाथि उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको च्याम्पियनसिपमा तेस्रो, चौथो तथा पाँचौँ चरणका खेल खेलहरू सम्पन्न भएका छन् ।

शतप्रतिशत नतिजा निकाल्नुभएका तण्डुकारले तेस्रो चरणमा भक्तपुरका बलराम नापित तथा चौथो चरणमा रूपन्देहीका विजय गुरुङलाई पराजित गर्नुभयो । पाचौँ चरणको समाप्तिमा तण्डुकार पाँच अंकका साथ शीर्षस्थानमा रहनुभएको छ ।

दुई खेलमा बराबरीमा रोकिएपश्चात् पूर्व-राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली अंकतालिकाको दोस्रो स्थानमा रहनुभएको छ । पाचौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउन सफल हुनुभएका बद्रीलाल तेस्रो चरणमा कास्कीका रामबहादुर क्षेत्रीसँग तथा चौथो चरणमा अर्का पूर्व-राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँग अंक बाँड्न पुग्नुभयो ।

पाँचौँ चरणपश्चात् बद्रीलाल तथा विजय गुरुङको समान चार-चार अंक भएको छ । विजयले तेस्रो चरणको खेलमा काठमाडौंका जनार्दन श्रेष्ठ तथा पाँचौँ चरणमा बाँकेका तीर्थबहादुर विकलाई हराउनुभयो ।

फिडेमास्टर विलमलाल श्रेष्ठ, पुण्यमान कर्माचार्य, राजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल, जनार्दन श्रेष्ठ, रामबहादुर क्षेत्री तथा भरत धिमालले समान तीन दशमलब पाँच अंक बनाउनुभएको छ । त्यसैगरी, तीर्थबहादुर विक, बलराम नापित, लवकुमार श्रेष्ठ तथा सीताराम अग्रवाल समान तीन-तीन अंकमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?