बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

Read Time = 2 mins

काठमाडौं । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति आज (मंगलबार)बाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलबारबाट लागू हुँदै छ । मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ ।

ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ असारमा ‘बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ संघीय संसद्मा दर्ता गर्नुभएको थियो । विधेयकमाथि २०७५ मंसिर १७ गतेबाट अर्थ समितिमा दफावार छलफल शुरू भएको थियो । तर, बीमा समितिका अध्यक्ष र सञ्चालकहरूले प्राधिकरणमा निरन्तरता नपाउने विषयको विवादले लामो समय छलफल नै रोकिएको थियो । मूल विधेयकमा सांसदहरूले ८५ ओटा संशोधन प्रस्ताव दर्ता गरेकोमा अर्थ समितिले १२४ ओटा बुँदामा संशोधन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?