बागलुङको निसेलढोरः जहाँका स्थानीयलाई छुँदैन चुनावले

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले छुनै सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनाव कहिले भन्ने पनि जानकारी छैन् । जहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तब मात्रै उनीहरुलाई ४ मंसिरमा निर्वाचन हुँदैछ भन्ने थाहा हुनेछ। अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरु भोट माग्न पुगेका छैनन् ।

न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । पहिले-पहिले सिजन अनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायी रुपमा बसोबास गर्दै आएका छन् । यहाँ करिब ६० घर परिवार स्थायी रुपमा बसोबास गर्ने गर्छन् । वर्षातको समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन् । वर्षातको समयमा निसीखोला-५ निसीगाउँबाट सयौँ घर परिवार पशुचौपाया लिएर निसेलढोरमा जाने गर्छन् । चिसो बढेपछि अधिकांश असोज पहिलो सातानै बेसी (निसीगाउँ) मा झरि सके । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् ।

हिउँदमा बेसी र बर्खामा लेकमा बस्नु निसीखोला-५ वासीको परम्परा जस्तै हो । उनीहरुले सयौँको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेक बेसी गर्नु परेको हो । अहिले ६० घर परिवारका एक/डेढ सय जनसंख्या मात्रै निसेलढोरमा रहेको हुँदा नेताहरु भोटमा माग्न नपुगेको स्थानीय गोरख घर्ती मगरले बताउनुभयो । हिउँदमा जाडो हुने हुँदा पहुचौपाया लिएर धेरै स्थानीयहरु निसीमा झरेको हुँदा नेताहरु त्यतै भोट माग्न हिँडेको उहाँ बताउनुहुन्छ । भोट माग्न गए पनि अलि ढिला जाने गरेको उहाँको भनाई छ ।

घर्ती भन्नुहुन्छ-“अहिले जाडो बढ्यो, धेरै जसो मान्छेहरु बेसी झरि सके, यहाँ थोरै मात्रै छन्, पहिले-पहिले चुनाव आउन बित्तिकै नेताहरु उतै बास बस्ने गरि भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले खास्सै गएका छैनन्, अलि अस्ति तिर २/३ जना घुम्न गएकाहरुले भोटका कुरा गर्थे, तर नेताहरु देखिएनन्, अब चुनाव नजिकै आयो भन्छन्, अब जालान् ।”

आफूहरुले भोट दिएर जिताएको मान्छे पटक-पटक सांसद भएको तर निसेलढोरको विकास भने गर्न नसकेको गुनासो पोख्नु भयो । उहाँले अहिलेसम्म यस ठाउँमा विद्युत नपुगेको भन्दै यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो । घर्तीले मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको भन्दै स्वच्छ पिउने पानीको समेत अभाव रहेको उहाँको भनाई छ । यो ठाउँ विगतदेखिनै ओझेलमा पर्दै आएको र अहिलेसम्म मुहार फेरिन नसकेको घर्ती मगरले बताउनुभयो ।

“हाम्रो क्षेत्रबाट धेरै नेताहरु सांसद हुनुभयो, केही त मन्त्रीसमेत हुनुभयो, तर निसेलढोरको विकास गर्न तर्फ ध्यान भने दिनुभएन, अहिलेसम्म यहाँका नागरिकहरु अन्धकार बस्न बाध्य छन्, खानेपानीको राम्रो व्यवस्था छैन, सडक भए पनि गाडी चल्दैनन्” घर्ती मगरले भन्नुभयो-“चुनाव त आयो भोट माग्न त यो ठाउँमा जसरी पनि आउँछन्, यसपाली जसले बिजुली ल्याइ दिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो, अब पार्टी भन्ने हुँदैन, काम गर्नेलाई रोज्नु पर्ने भयो ।”

निसेलढोरमा कुँडे, मस, झुल लगायतका गाउँहरु पर्छन् । यि कुनै पनि गाउँमा विद्युतको पहुँच छैन । स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरु अहिले देखिन छोडेको भन्दै स्वास्थ्य उपचारका लागि बुर्तिबाङ आउनु पर्ने बाध्यता रहेको बताउनुभयो । यहाँबाट बुर्तिबाङ पुग्न झण्डै १२ घण्टा लाग्छ । नेताहरुले अघिल्ला निर्वाचनहरुमा बाटोघाटो, विद्युत, खानेपानी, स्वास्थ्य संस्थाको निर्माण गर्ने बाचा गरे पनि अहिलेसम्म कुनै काम नगरेको विकले गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ-“हामीहरु त चुनाव आउँदा मात्रै चाहिँदा रैछौँ, अघिपछि हाम्रो कुनै वास्ता छैन, पहिला भएका चुनावमा भोट माग्न आउने नेताहरुले मोटरबाटो, बिजुली र घर घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि हाम्लाई फर्किएर हेरेनन्, यो ठाउँमा पाइलो पारेनन्, अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउँछन्, उनीहरुलाई यसपाली भोट नदिने विचार गरेँ, उनी ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले आफू निर्वाचित भएर आएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिले यहाँ कक्षा ५ सम्म पढाई हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्यइकाई स्थापनागर्ने गरि बजेट विनियोजन गरेको बताउनुभयो । अध्यक्ष घर्ती मगरले स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले १५ लाख विनियोजनसमेत गरि रहेको बताउनुभयो ।

उहाँले विगतदेखिनै यो ठाउँ राज्यको नजरमा नपरेको भन्दै गाउँपालिकाको स्रोत र साधानले भ्यायसम्मको विकास गर्ने बताउनुभयो । ढोरपाटन नगरपालिका-९ बाट विद्युत जडान गरि लैजानका लागि आवश्यक छलफल भइरहेको भइरहेको भन्दै केही समयमा यहाँका नागरिक उज्यालोमा बस्न पाउने बताउनुभयो । यहाँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने उहाँका भनाई छ ।

“यो ठाउँ भौगोलिक हिसाबले विकटमा त छँदैछ, त्यसमाथि ठूला नेताहरुको नजरमा कहिल्यै पर्न सकेन, हामीहरु त भर्खर निर्वाचित भएर आएका छौँ, यहाँका समस्या सबै बुझेका छौँ, गाउँपालिकाको स्रोत साधानले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो-“प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछौँ, यहाँ स्वास्थ्य, शिक्षा, विद्युत लगायत न्यूनतम विकास पनि हुन सकेको छैन, पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो ।”

यहाँका मतदाता भोट हाल्न पनि झण्डै एक दिन लगाएर निसीखोला गाउँपालिका-५ निसीमा आउनु पर्छ । कम जनसंख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन । स्थानीयले यस विषयमा पटक-पटक मागसमेत राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?