पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउन कांग्रेस महामन्त्री थापाको आग्रह

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनु भएको छ ।

आफू सांसद भएमात्रै काँग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाई थियो । पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहो¥याउनु भयो । त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि बाँकि समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो ।

महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘ठूलो मतदाताले काठमाडौंमा राजनीतिक नेतृत्वको बदलाव खोजीरहनु भएको छ । तर, राजनीतिक यथार्थ के छ ? राजनीतिक यथार्थ यो पटक निर्वाचन पछाडि कुनै पनि नेपालको ठूलो राजनीतिक दलको संसदीय दलको चुनाव समेत पनि हुनेवाला छैन । म अरु दलको बारेमा चर्चा गर्दिन । प्रत्येक दलका आ–आफ्नो विशेषता हुन्छ, आ–आफ्नै चरित्र हुन्छ । तर मैले बुझेको कुनै पनि दलको संसदीय दलको निर्वाचन हुनेछैन । भयो भने जम्मा एउटामा हुन्छ । काँग्रेसमा हुन्छ । काँग्रेसमा पनि कतिखेर हुन्छ ? काँग्रेसमा पनि एउटा अवस्थामा मात्रै चुनाव हुन्छ, क्षेत्र नम्बर ४ बाट तपाईँले चुनाव लड्ने मान्छे जिताएर पठाई दिनु भयो भने बल्ल चुनाव हुन्छ । नभए त्यहाँ पनि हुँदैन । अनि, देशमा ठूलो परिवर्तन सबलाई चाहिएको छ । राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो । जहाँनेर प्रतिस्पर्धा गर्ने हो । त्यो प्रतिस्पर्धा नै भएन भने चाँही परिणाम कहाँबाट आउने हो ? अनि, त्यो प्रतिष्पर्धा गर्ने, लडाइँ लडने मान्छे चाहिएला नि पहिला । मेरो प्रस्ताव विश्वप्रकाश शर्मा झापाबाट जितेर आउनुपर्ला । उम्मेदवार जित्ने मान्छे जितेर जानु पर्ला । अनि बल्ल लडाई होला । लडाई भएन न परिणाम आउने सम्भावना बाँकि रहला । नभए सम्भावना बाँकि रहन्छ कहाँ ? सब जनाले ठूल्ठूलो बदलाव ल्याउने भन्नु भएको छ । एउटा संसदीय राजनीतिक पद्धति छ । त्यो पद्धतिबाट निर्वाचन क्षेत्रबाट सांसद जितेर जान्छ । कोही प्रधानमन्त्री निर्वाचित हुने होइन । यहाँ त सांसद निर्वाचित भएर जाने हो । अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ । अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दावी गर्न पाउँछ । त्यो निर्वाचन लडनै कोही तयार छैन यहाँ । अनि, त्यो निर्वाचन लडदाखेरी न बल्ल दावी होला । मेरो मतदातालाई गएर तपाईले यो कुरा बताईदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन । भनिदिनुपर्नेछ–कुरा बुझाई दिनुपर्नेछ । तपाई आफैं हुनुहुन्छ त्यो ठाउँमा । तपाई गई दिनुपर्नेछ । तपाईहरु मलाई २ अव दिनुहोस् । म तपाईहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’

महामन्त्री थापाले अवको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिनु भयो । जनप्रतिनिधिहरुले अव पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरी चुनाव लडन नपाउने पनि उहाँको बताउनु भयो ।

महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बहुमत ल्याउन चाहन्छौं । बहुमत किन ल्याउन चाहन्छौं ? स्थिर सरकार चलाउन चाहन्छौं । स्थिर सरकार किन चलाउन चाहन्छौं ? हामी जनतासँग गरिएका बाचाहरु पूरा गर्न चाहन्छौं । जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौं । जनजीविकासँग जोडिएका विषयहरुलाई सम्बोधन गर्न चाहन्छौं । यसका निम्ति हामी एक ठाउँमा हो । यसलाई हामी प्रयोग गर्न चाहन्छौं । म क्षेत्र नम्बर ४ बाट निर्वाचन भएर संसदको त्यो समूहमा जाँदैगर्दा मैले निर्वाह गर्ने कर्तव्य यही हो । त्यहाँ बहुमत हुन्छ । बहुमतले कहिलेकाही अहंकारी बनाउँछ । बहुमतले कहिलेकाँही अल्छी पनि बनाउँछ । त्यो बहुमत भएको भीडमा म त्यहाँ उभिएर मैले अहिले जुन डरको बारेमा चर्चा गरेँ । म त्यही डर नेताहरुको बीचमा लिएर जान चाहन्छु । त्यही चिन्ता नेताहरुको बीचमा लिएर जान चाहन्छु । वातानुकुलित कोठामा बसेर टाउको गन्दै गर्दाखेरी हामीसँग त सात वटै प्रदेशमा सरकार छ । हामीसँग त संघमा सरकार छ । हामीसँग त स्थानीय सरकार ४ सय भन्दा बढि छ । अव हामीलाई कसले छुने, कसले हल्ल्याउने ? त्यो सोच आउन सक्छ । त्यो सोच आउने कुरा रोक्न चाहन्छु । त्यहाँ गएर लगातार आफ्नै सांसदहरुको समूहमा गएर प्रश्न उठाउन चाहन्छु । खवरदारी गर्न चाहन्छु । म यो विषय लगातार उठाउन चाहन्छु । सुस्ताउन पनि पाईदैन, बिराउन पनि पाईदैन । विश्राम गर्न पनि पाईदैन । एक वर्षमा गर्नुपर्ने काम एक महिनामा गर्नुपर्नेछ । एक महिनामा गर्नुपर्ने काम एक दिनमा गर्नुपर्नेछ । निर्वाचनमा जसरी दिनरात काम गरिरहेका छौं, निर्वाचन पछि पनि सुस्ताउन पाईदैन अव । ६ देखि १२ लगातार काम गर्नुपर्नेछ । एउटा गति देशलाई दिनुपर्नेछ । त्यो विषय समूहमा लिएर जान चाहन्छु । त्यसका निम्ति जान चाहन्छु त्यहाँ । यो पटक हामीलाई ढिलो गर्ने सुविधा छैन । असफल हुने सुविधा छैन । हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं । यो जिम्मेवारीबाट कथमकदाचित हामी कुनै पनि कारणले चुक्यौं भने त्यसको मूल्य पहिला हामीले चुकाउनु पर्छ । प्रकारन्तरले देशका चुकाउनुपर्नेछ । समयले चुकाउनुपर्नेछ । त्यसकारण त्यहाँ गएर इमान्दारितापूर्वक नडराईकन काम गर्न चाहन्छु । त्यसका लागि तपाईको साथ चाहिएको हो । एक्लैले सक्दिन । टिम चाहिन्छ । यस पटक पाइएको मतको प्रतिष्ठा राख्न सकिएन भने अर्को पटक उठन पाईदैन । यस पटक मतदातको इज्जत राख्न सकिएन भने अर्को पटक मत माग्ने व्यवस्था नै बाँकि रहँदैन । अवस्थाको कुरा छोडिदिऊ । यो कुरामा हामीहरु सचेत छौं ।’

महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरुलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?