अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट दुई ग्राम खैरो हेरोइनसहित जोशीपुर गाउँपालिका-२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।

बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा घर भएका ५४ वर्षीया जगु गिरीलाई ४६० ग्राम चरेशसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट ३१२ ग्राम ब्राउनसुगरसहित सुन्दरहरैचा नगरपालिका-१० बस्ने २४  वर्षीय सौगात राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट ३ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र  नुर्फिन ६० एम्पुलसहित व्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिससहित ललितपुर महानगरपालिका-१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?