प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज शोक विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैडाकोट–८ निवासी प्रजातन्त्र सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ७७ वर्षीय सापकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

विसं २०४८ को आम निर्वाचनमा नवलपरासी क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका सापकोटाले कांग्रेसको विभिन्न तहको साङ्गठनिक पदमा रहेर कार्य गर्नुभएको कांग्रेसले जनाएको छ । स्व सापकोटाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलन तथा सङ्घर्षका क्रममा पटक–पटक जेल जीवन बिताउनुभएको थियो ।

शैक्षिक तथा सामाजिक अभियानकर्मीका रूपमा परिचित सापकोटाको निधनबाट कांग्रेसले एक अग्रज अनुभवी नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ । सापकोटाको निधनप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

“नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा सापकोटाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, स्व सापकोटाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ”, सभापति देउवाले भन्नुभएको छ ।

सभापति देउवाले सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै मृतकको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?