प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले नेपाल आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनुपूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो ।

उपाधिसँगै एपिएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले पाँच लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गरेका छन् ।

फाइनलमा आर्मीका लागि रोहित पौडेलले ४९ रन बनाउनुभयो । जितेन्द्र मुखियाले नटआउट २४, सुशन भारीले १९, राजेश पुलामीले १६, कुशल मल्लले १६, हरि चौहानले १५ रन जोड्नुभयो ।

एपिएफका लागि मौसम ढकाल र अमर रौटेलाले समान तीन-तीन विकेट लिनुभयो भने किशोर महतोले दुई विकेट लिनुभयो ।
१८० रनको लक्ष्य एपिएफले ३८ ओभर तीन बलमा पूरा गर्‍यो । यसका लागि भुवन कार्कीले ५५ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । यस्तै, सुमित महर्जनले ३४, प्रदीप ऐरी र सन्दीप जोराले १७ र शरद भेशवाकरले नट आउट १६ रन बनाउनुभयो भने आसिफ शेखले १४ रन जोड्नुभयो । आर्मीका जितेन्द्र मुखियाले दुई विकेट लिनुभयो । यस्तै, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान एक-एक विकेट लिनुभयो ।

प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरी पिएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चयन हुनुभयो । सर्वोत्कृष्ट बनेसँगै दीपेन्द्रले ५० हजार नगद प्राप्त गर्नुभयो । दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत चुनिनुभयो । उहाँले २० हजार प्राप्त गर्नुभयो ।

पुलिसकै करण केसी उत्कृष्ट बलर चुनिनुभयो । उहाँले २० हजार प्राप्त गर्नुभयो । इमर्जिङ प्लेयरको अवार्ड मौषम ढकालले प्राप्त गर्नुभयो । एपिएफका उहाँले १० हजार नगद पाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?