नेपालीको बाध्यता : चुनाव होस् कि चाडबाड विदेश नगई चुलो बल्दैन

काठमाडौं । आसन्न निर्वाचनमा भाग लिएका प्रायः सबैजसो दल र उम्मेदवारका प्रतिबद्धता पत्रमा रोजगारीलाई प्राथमिकताका साथ समेटिएको छ । जनताको जनजीविकासँग प्रत्यक्ष जोडिएको रोजगारीको विषयलाई दलहरूले प्रमुखताका साथ चुनावी एजेण्डा बनाएका छन् । प्रमुख दलहरूले घोषणापत्रमा रोजगारीको बहारै ल्याएका छन् । प्रमुख दलहरूले घोषणापत्रमा उल्लेख गरेअनुसार रोजगारी सिर्जना हुने हो भने आगामी पाँच वर्षमा ५० लाखभन्दा बढीले प्रत्यक्ष रोजागरी पाउनेछन् । कतिपय दलले एक घर एक रोजगारीको आश्वासनसमेत बाँडेका छन् । नेपाली कांग्रेसले वार्षिक दुई लाख ५० हजारका दरले पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने घोषणा गरेको छ भने नेकपा एमाले पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । माओवादी केन्द्रले राष्ट्रिय रोजगार प्राधिकरणमार्फत आगामी पाँच वर्षभित्र २० लाखलाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने योजना घोषणापत्रमा समेटेको छ । अझै नेकपा (एकीकृत समाजवादी)ले एक कदम अघि बढेर एक घर, एक सीप र एक रोजगारी दिइने प्रतिबद्धता जनाएको छ । दलका घोषणापत्रमा रोजगारीका आश्वासन समेटिएको यो पहिलोपटक होइन ।

यसअघिका चुनावमा पनि दलहरूले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राथमिकताका साथ उठाएका थिए । दलहरूले रोजगारी सिर्जना गर्ने आश्वासनका पोका घोषणापत्रमा समेटिरहँदा वास्तविकता भने ठिक उल्टो छ । देशका सशक्त युवा तथा मतदाता भने रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । संघीय चुनाव मुखैमा आइसक्दासमेत नेपालीहरू रोजगारीका लागि सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य छन् । उनीहरूलाई न चुनावको चासो छ न कुनै चाडबाड । परिवार पाल्न विदेश जानुबाहेक विकल्प उनीहरूसँग छैन । चाडबाडको बेलासमेत विदेशिँदै गरेका कारुणिक दृश्य विमानस्थलमा देखिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै पछिल्लो एक सातामा ५४ हजार १३५ नेपाली बाहिरिएका छन् । यसमा केही अध्ययन र भिजिट भिसामा समेत गएको हुनसक्ने भए पनि बाहिरिनेमध्ये अधिकांश रोजगारीको सिलसिलामा बाहिरिने गरेका छन् । विमानस्थलबाट मात्रै होइन स्थलमार्गबाट पनि भित्रिनेभन्दा बाहिरिनेकै संख्या धेरै छ ।

विमानस्थलमा बाहिरिने धेरै, एक सातामै ५४ हजारले छाडे नेपाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो एकसातामा भित्रिनेभन्दा बाहिरिनेको संख्या धेरै रहेको छ । अध्यागमन विभागका अनुसार पछिल्लो एक सातामा विमानस्थलबाट ५४ हजार १३५ बाहिरिएका छन् । जबकि भित्रिनेको संख्या भने ३९ हजार ८६ मात्रै रहेको विभागले जनाएको छ । विभागका अनुसार नोभेम्बर ६ अर्थात् कात्तिक २० गते पाँच हजार सातजना नेपाल भित्रिँदा सात हजार १९७ जना बाहिरिएका छन् । त्यस्तै, कात्तिक २१ गते पाँच हजार ४६३ भित्रिँदा सात हजार ७३९ जना बाहिरिएका छन् । २२ गते पाँच हजार २०१ भित्रिँदा सात हजार ९३६ बाहिरिएको विभागले जनाएको छ । विभागका अनुसार २३ गते पाँच हजार १८९ भित्रिँदा सात ६०७ बाहिरिएका छन् भने २४ गते पाँच ९४६ भित्रिँदा सात ८६७ जना बाहिरिएका छन् । २५ गते ६ हजार ५३२ भित्रिँदा सात ८५५ बाहिरिएका छन् भने २६ गते पाँच हजार ७४७ भित्रिँदा सात हजार ३४ जना बाहिरिएका छन् ।

गड्डा चौकीमा नेपाल आउनेभन्दा जाने धेरै
सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डा चौकी नाकामा नेपाल भित्रिनेभन्दा बाहिरनेको संख्या धेरै रहेको छ । पछिल्लो एक सातामा उक्त नाकाबाट एक हजार ५९३ जना नेपाल भित्रिँदा एक हजार ८८८ जना बाहिरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार कात्तिक २१ गतेसम्म भित्रिनेको संख्या धेरै रहेकोमा २३ गतेदेखि बाहिरिनेको संख्या बढेको हो । कात्तिक २० गते ३०९ जना भित्रिएकोमा २८८ जना बाहिरिएका थिए । कात्तिक २३ गते भने १९६ जना भित्रिँदा २४७ बाहिरिएका हुन् । त्यसयता दैनिक भित्रिनेभन्दा बाहिरिनेको संख्या धेरै छ । कात्तिक २४ गते १८५ भित्रिँदा २५० बाहिरिएका थिए । २५ गते २०२ भित्रिँदा २४७ बाहिरिएका थिए भने २६ गते २०२ भित्रिँदा ३०६ बाहिरिएको कार्यालयले जनाएको छ । खेतीपातीको सिजन सकिएकाले सुदूरपश्चिम र कर्णालीको पहाडी जिल्लाबाट रोजगारीमा भारततिर जानेको संख्या बढेको हो ।

सुदूरपश्चिमकै कैलालीको धनगढीस्थित त्रिनगर नाका (गौरिफन्टा)मा भने बाहिरिनेभन्दा भित्रिनेको संख्या धेरै छ । उक्त नाकाबाट पछिल्लो एक महिनामा ११ हजार ३२ जना भित्रिँदा चार हजार ८९२ जना बाहिरिएका छन् । त्यस्तै, नेपालगञ्जस्थित जमुनाह नाकामा पनि पछिल्लो साता बाहिरिनेभन्दा भित्रिनेको संख्या धेरै छ । सीमा प्रहरी कार्यालयले दिएको जानकारीअनुसार उक्त नाकाबाट पछिल्लो एक महिनामा २० हजार बढी मानिसहरू भित्रिएका छन् । इलाका प्रहरी कार्यालय जमुनाका इञ्चार्ज वरिष्ठ सई माधव रिजालका अनुसार भित्रिनेको संख्या ६ हजार आसपास मात्रै छ । ‘हामीसँग यकिन विवरण छैन । पछिल्लो एक सातायता दैनिक तीन हजारको हाराहारीमा नेपालीहरू भित्रिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘बाहिरनेको संख्या भने दैनिक एक हजारभन्दा कम छ ।’ अघिपछि भित्रिनेभन्दा बाहिरिने धेरै भए पनि चुनाव आएकाले भित्रिने धेरै भएको हुनसक्ने उहाँले बताउनुभयो । चुनावपछि भारत जानेको लर्को लाग्नसक्ने उहाँको भनाइ छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । देशका हरेक सीमा नाका भएर अहिले नेपाल फर्कनेभन्दा बाहिरिने नै बढी रहेको हाम्रा जिल्ला संवाददाताहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?