बारा प्रदेशसभा १ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 6 mins

बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क) मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी साह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर श्रेष्ठबीच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलोकीले जित्नुभएको थियो । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसलाई साथ दिएको छ भने एमालेलाई जसपाको साथ छ ।

वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मतका आधार हेर्दा माओवादीसँगै नरहँदा समेत यस प्रदेशसभामा एमाले बलियो देखिएको छ । साथमा जसपा पनि हुँदा एमालेको पल्ला भारी भएको हो । वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत हेर्ने हो भने एमाले सत्ता गठबन्धनभन्दा करिब एक हजार मतले अगाडि छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा बाराको प्रदेशसभा १ (क) मा सत्ता गठबन्धनलाई जितका लागि निकै चुनौती छ ।

एमालेका मधेश प्रदेश सदस्यसमेत रहनुभएका एकबहादुर श्रेष्ठले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । एमालेका शिवनारायण थारुले पनि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँले आफू यस क्षेत्रको विकासका निम्ति रणनीतिक र योजनाबद्धरूपमा आएको बताउनुभएको छ ।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश दंगालले पनि आफूले जित्ने पक्का रहेको बताइरहनुभएको छ । लामो समय काठमाडौंमा बसेर व्यापार गर्दै आउनुभएका दंगालले कांग्रेसभित्रैका शम्भुबहादुर बुढाथोकी र सुरेशकुमार खनालले दाबी गरिरहेको बारा-१ (क) को प्रदेशसभाको प्रत्यक्षतर्फको टिकट उम्काउनुभएको थियो । यहाँका मतदातासँग उहाँको खासै चिनजानसमेत नरहेको आरोप छ । दंगाल कांग्रेससँगै रहेका सत्तारुढ गठबन्धनका माओवादी, एकीकृत समाजवादी र लोसपाका नेता-कार्यकर्ताको भरमा चुनावमा होमिनुभएको छ ।
उहाँले आफूसँग विकासको मास्टर प्लान रहेको बताउनुभएको छ तर मास्टर प्लानमा के-के छन् त्यो भने उहाँले खुलाउनुभएको छैन ।

भूगोलबारे प्रष्ट जानकार नहुँदा उहाँ यस क्षेत्रका समस्याका बारेमा समेत जानकार हुनुहुन्न । केही समयअगाडि दंगाल अखाद्य तेल बिक्रीवितरण गरेको भन्दै जिल्ला अदालत बाराको आदेशमा एक लाख धरौटी बुझाएर रिहा हुनुभएको थियो । दंगाल सञ्चालक रहेको ईशा सप्लायर्सको गोदामबाट भारतीय कम्पनी ‘सदाबहार’ ब्राण्डको म्याद नाघेको रिफाइन सोयाबिन तेल बरामद गरेपछि सञ्चालक दंगाललाई नियन्त्रणमा लिएर गोदाम घरमा पनि सिलबन्दी गरेको थियो । खाद्य प्रयोगशालाको रिपोर्टका आधारमा अखाद्य प्रमाणितपछि तेल नष्ट गरिएको थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी साह कलवार अर्का बलिया प्रतिस्पर्धीका रूपमा देखा पर्नुभएको छ । उहाँले ऊर्जाशील समय बाराको विकास गर्न साथ दिन मतदातालाई आग्रह गरेको र मतदाताले समेत उहाँलाई साथ दिएमा धोका नदिने बताउनुभयो ।

यस्तै, एमालेका त्रिलोकीप्रसाद चौधरी अर्का बलिया प्रतिस्पर्धी हुनुहुन्छ । यसअघि समेत यस बारा-१ (क) मा विजयी हुनुभएका चौधरी पुनः जित हात पार्नेमा ढुक्क रहेको बताउनुहुन्छ । उहाँले शिक्षाका समस्याहरूलाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू इमानदार युवा सीपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने बताउनुभयो ।

बाराको प्रदेशसभा १ (क) मा मुख्य प्रतिस्पर्धी दलका रूपमा एमाले र सत्ता गठबन्धन दल रहेका छन् तर अन्य दल र स्वतन्त्र उम्मेदवारका कारण यस क्षेत्रमा पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यस प्रदेशसभामा चार स्वतन्त्रसहित १० जना चुनावी मैदानमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?