जनमोर्चाको गढ बागलुङ क्षेत्र – १ (ख) मा दुई पूर्व सहकर्मीको रोचक भिडन्त

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ (ख) लाई विशेष चासोका रुपमा हेरिएको छ । यस क्षेत्रमा पूर्व सहयात्री अहिले प्रतिस्पर्धामा छन् । त्यसले गर्दा यहाँ निर्वाचन रोचक बन्ने देखिन्छ । गत स्थानीय तह निर्वाचन अगाडिसम्म एउटै पार्टीमा रहेका काम गरेका डिल्लीराम सुवेदी र नवराज पौडेलले यो निर्वाचनमा अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने पौडेल कांग्रेस बागलुङको निवर्तमान सचिव हुनुहुन्थ्यो । अहिले नेकपा एमालेबाट उम्मेदवार बन्नु भएको छ । सुवेदी भने पाँच दलीय गठबन्धनको उम्मेदवार हुनुहुन्छ । पौडेल एमालेका तर्फदेखि एक्लै चुनावमा होमिनु भएको छ । स्थानीय तहको निर्वाचनमा पौडेल पत्नी उषा पौडेलले जैमिनी नगरपालिकाको उपप्रमुखको टिकट नपाएपछि श्रीमान श्रीमती एमाले प्रवेश गरेका थिए ।

कांग्रेसले टिकट नदिएपछि एमालेमा पुग्नु भएका पौडेललाई यस पटक चुनाव जित्न सकस पर्ने कार्यकर्ताको भनाई छ । यस क्षेत्रमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बलियो शक्तिका रुपमा मानिदै आएको थियो । त्यसमाथि गठबन्धन हुँदा एमालेमा प्रवेश गरे लगत्तै टिकट पाउनु भएका पौडेललाई चुनाव जित्न सकस पर्ने नेताहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा पौडलेकी श्रीमती उषालाई एमालेले जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको थियो । तर उहाँले जित हात पार्न सक्नु भएको थिएन । पौडेललाई कांग्रेस बागलुङका सचिव हरिहर शर्माले पराजित गर्नु भएको थियो ।

पौडेललाई शर्माले छ हजार ५३७ मतान्तरले पराजित गर्नु भएको थियो । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा पौडेलले दुई हजार ६३६ मत ल्याउनु भएको थियो । यो पटकको निर्वाचनमा पनि परिणाम यस्तै आउन सक्ने धेरैको आँकलन छ ।

यस क्षेत्रमा बागलुङ नगरपालिका–१२, १३ र १४ नम्बर वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका १८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार गठबन्धनले १६ हजार ४६५ मत पाएको थियो भने एमालले सात हजार २२२ मत ल्याएको थियो ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी हुनु भएको थियो । थापाले नेपाली कांग्रेसका प्रकाश शर्मा पौडेललाई छ हजार ५४२ मतान्तरले पराजित गर्नु भएको थियो । थापाले १५ हजार ६३६ मत ल्याउँदा पौडेलले नौँ हजार ९४ मत ल्याउनु भएको थियो । अघिल्लो पटक थापालाई बाम गठबन्धनको साथ थियो भने पौडेले कांग्रेसका तर्फदेखि एक्लै चुनावी मैदानमा हुनुहुन्थ्यो ।

राष्ट्रियको जनमत राम्रो भएको क्षेत्रका रुपमा यस क्षेत्रलाई लिइन्छ । प्रतिनिधि सभा तर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी साझा उम्मेदवार बनेपछि यस प्रदेश क्षेत्र कांग्रेसले पाएको हो ।सुवेदी र पौडेलसहित यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्द सापकोटा, मंगोलनेशनल अर्गनाइजेशनका सहविर थापा चुनावमा होमिएका छन् ।

कुल ४६ हजार ८६ मतदाता रहेको यस क्षेत्रमा २१ मतदान स्थल र ५३ मतदान केन्द्र रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?