भोट हाल्न गाउँ फर्कनेको लर्को

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । प्रायः जसो सुनसान हुने धादिङबेंसी अहिले निर्वाचनको समयमा व्यापक चहलपल भएको छ । धादिङबेंसीका मुख्य सडक खण्डहरूमा विभिन्न राजनीतिक दलहरूको समर्थनसहित दलका झण्डा र चुनावी अभियानले धादिङको माहोल निकै तातेको छ ।

चुनावी अभियान गर्दा अहिले धादिङमा सवारी जामलगायत बाटो काट्ने बटुवाहरूलाई समेत समस्या हुने गरेको छ । यात्रु तथा अन्य गतिविधिहरूको चापले गर्दा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समेत धौ-धौ भएको छ । धादिङबाट राजधानी र राजधानीबाट धादिङ प्रवेश गर्ने यात्रुहरूको निकै भिड बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । चुनावमा आफूले रोजेको र जनताको समस्यालाई हल गर्ने नेतालाई भोट हाल्न अहिले काठमाडौंबाट ५५ हजारभन्दा बढी यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । कतिपय बस रिजर्भमा लिएर काठमाडौंबाट आफ्नो गाउँघर गएका छन् भने कतिपय पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ गरी मतदाताहरूलाई लगेको पाइएको छ । यस्तै, ४१ हजार यात्रु काठमाडौं भित्रिएका छन् । काठमाडौं छाड्नेको संख्या अझै बढ्ने ट्राफिक प्रहरी महाशाखाको अनुमान छ ।

निर्वाचनलाई लक्षित गरी मतदानस्थल रहेका शिक्षण संस्थाहरू आजदेखि कात्तिक ५ गतेसम्म बन्द भएका छन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरू ४ र ५ गते बन्द हुनेछन् । चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाडौंबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । यात्रुले भने निर्वाचनका बेला व्यवसायीले महँगोमा टिकट बेचेको आरोप लगाएका छन् । सामान्य दिनभन्दा महँगो भाडा लिने गरेको उनीहरूको गुनासो छ । व्यवसायीले महँगोमा टिकट बेच्ने गरेको तथा थोत्रा र पुराना गाडीमा यात्रा गर्न बाध्य बनाउँदासमेत ट्राफिक प्रहरीले अनुगमन नगरेको यात्रुहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?