आज हुने प्रतिनिधिसभाको सभामुखमा एमालेबाट घिमिरे र कांग्रेसबाट न्यौपानेको उम्मेदवारी

सत्ता गठबन्धनको पक्षमा बहुमत, नेकपा एस र लोसपा कांग्रेसको समर्थनमा

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । संघीय सदनअन्तर्गत प्रतिनिधिले आज (बिहीबार)नयाँ सभामुख पाउँदै छ । गत मंसिरमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाले आज सभामुख पाउन लागेको हो । सभामुखको निर्वाचन बिहान ११ बजे हुने तय भएको छ । जसअन्तर्गत बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसअघि बुधबार प्रतिनिधिसभा सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले मनोनयन दर्ता गर्नुभएको छ । विपक्षी गठबन्धनमा कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी छन् । सत्ता गठबन्धनबाट मनोनयन दर्ता गराउनुभएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहनुभएको छ । घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०५६ सालमै राष्ट्रियसभाको सांसद हुनुभएको थियो ।

कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराउनुभएकी ईश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थक रहनुभएको छ । उहाँ समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ पुसमा बसेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अध्यक्षता ग्रहण गरिरहनु भएको छ ।

सभामुखका दुवै उमेदवारले जित्ने दाबी गरे पनि २७५ जना सांसद रहेको संसद्मा सत्ता गठबन्धनका उम्मेदवार घिमिरे नै अगाडि हुनुहुन्छ । घिमिरेको पक्षमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ मत छ । उहाँलाई जित सुनिश्चित गर्न १३८ मत आवश्यक पर्छ । तर, एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।

यस्तै, विपक्षी गठबन्धनबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको चार सिट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसद मात्रै हुन्छन् ।

तर, मन्त्रिपरिषद् विस्तारमा भागबण्डामा असन्तुष्टि जनाएर सत्ताबाहिर बसेको जसपाले कसलाई समर्थन गर्छ भन्ने टुंगो छैन । १२ सिट रहेको जसपाले बिहीबार मात्रै निर्णय गर्ने जनाएको छ । यीबाहेक ६ सिट भएको जनमत पार्टी, चार सिट भएको नागरिक उन्मुक्ति पार्टी पनि सभामुखको उम्मेदवारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिर्णित छन् । प्रधानमन्त्री नियुक्त हुने बेलामा प्रचण्डलाई १६९ सांसदले समर्थन गरेका थिए । तर, अहिले साना दलको असन्तुष्टिको कारणले त्यही मत कायम नहुन सक्ने आँकलन गरिएको छ ।

बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र आफ्नो उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न हृवीप जारी गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखका लागि मतदान हुँदै छ । सभामुख निर्वाचनमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

म सभामुख हुने कुरा निश्चित छ, विगतबाट शिक्षा लिँदै प्रभावकारी भूमिका निर्वाह गर्नेछु : घिमिरे
सत्ता गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का सांसद देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो जित निश्चित भएको बताउनुभयो । विगतका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने उहाँले बताउनुभयो । सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्य सम्पादन गर्ने उहाँको भनाइ छ । ‘म सभामुख हुने कुरा निश्चित छ,’ उहाँले भन्नुभयो, ‘यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधिसभाबाट विजयी भएर जाने हो । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।’

निर्वाचनमा हार्छु भनेर कोही जाँदैन, म पक्कै जित्छु : न्यौपाने
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ । बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि उहाँले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले आफ्नो लागि जित्ने आधारहरू भनेकै प्रतिनिधिसभाका सदस्यहरू भएको बताउनुभयो । निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको बनेर काम गर्ने उहाँको भनाइ छ । ‘निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा म हार्छु भनेर कोही पनि जाँदैन । म पक्कै जित्छु,’ उहाँले भन्नुभयो, ‘मेरो जित्ने आधारहरू सांसदको मत हो ।

निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो । सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु ।’

सांसदहरूले विवेकपूर्ण मतदान गर्दा संसद्ले पुनः महिला सभामुख पाउनेछ : शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कांग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसद्को सभामुखका लागि योग्य व्यक्ति भएको बताउनुभएको छ । न्यौपानेको प्रस्तावक रहनुभएका शर्माले अहिलेको संसद्का लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभयो ।

न्यौपानेमा शालिनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सक्षम अनुभवी सभामुख प्राप्त गर्ने उहाँको भनाइ छ । ‘हामी प्रमुख प्रतिपक्षी दल हौँ । सरकारसँगको सम्बन्ध गुण र दोषको आधारमा हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, संसद्लाई प्रतिपक्षको भन्ने मान्यता छ । सांसदहरूले विवेकपूर्ण मतदान गर्दा नेपालको संसद्ले पुनः महिला सभामुख पाउनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?