अन्तिम दौडधुपमा शीर्ष नेता, निर्वाचन नजिकिँदै जाँदा हिंसात्मक घटनामा वृद्धि

गठबन्धनका नेताहरू पूर्व-पश्चिम कुदिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता ओली मधेशमा

डिबी शर्मा
Read Time = 11 mins

डिबी शर्मा, चिसाङ शेर्पा/हिटा
काठमाडौं, खोटाङ । संघीय निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन् भने हिंसात्मक घटना हुन थालेका पनि छन् । बिहीबार रातिदेखि स्थिर(मौन) अवधि सुरु हुने भएकाले दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका हुन् । प्रमुख दलका शीर्ष नेताहरू अन्तिम चुनावी सभा/सम्मेलनमा व्यस्त भएका छन् । चुनावी सभा गर्ने क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहप्रदेश सुदूरपश्चिम पुग्नुभएको छ । उहाँले बुधबार डडेल्धुरा, बैतडी र अछाममा चुनावी सभालाई सम्बोधन गर्नुभयो । कांग्रेस सभापति देउवा गृहप्रदेश सुदूरपश्चिम पुग्दा गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी नेपाल पुग्नुभयो । अध्यक्ष ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङ र खोटाङमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । सत्ता गठबन्धनका नेताहरू पूर्व–पश्चिम कुदिरहँदा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मधेश झर्नुभएको छ । उहाँले बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँ विराटनगरबाट सुनसरी पुग्नुभएको हो ।

१५-२० वर्षसम्म गठबन्धन यथावत् राख्दै देशको मुहार फेर्ने योजना छ : देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताउनुभएको छ । गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले १५-२० वर्ष गठबन्धन कायम राख्दै देशको मुहार फेर्ने योजना रहेको बताउनुभयो । ‘१५–२० वर्षसम्म गठबन्धनलाई यथावत् राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना छ,’ उहाँले भन्नुभयो, ‘देशको मुहार फेरेरै छाड्ने हो । ढुक्क भए हुन्छ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेको स्मरण गर्दै सभापति देउवाले आफूहरूले त्यस्तो नगर्ने बताउनुभयो । ‘अहिलेको संविधानमा संसद् भंग गर्ने अधिकार कसैलाई छैन,’ उहाँले भन्नुभयो, ‘हामी त्यस्तो गर्दा पनि गर्दैनौँ ।’

कांग्रेस माकुराझैँ पर पर खुट्टा टेकेर हिँडेको छ, चुनावपछि दोस्रो हुन्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली कांग्रेस दोस्रो शक्ति बन्ने दाबी गर्नुभएको छ । सुनसरी लौकहीमा बुधबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस इतिहासमै कमजोर भएकोले अरूको साहारा लिन परेको आरोप लगाउनुभयो । कांग्रेस कमजोर भएकोले जम्मा एउटा सिट भएको राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको उहाँको जिकिर छ । ‘नेपाली कांग्रेसको दोस्रो शक्ति हो, आफैँ उम्मेदवार उठाउने शक्ति छैन,’ उहाँले भन्नुभयो, ‘कांग्रेस माकुराझैँ पर पर खुट्टा टेकेर हिँडेको जस्तो भएको छ ।’ ओलीले एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी नै नबन्ने ठोकुवा गर्नुभयो । लोसपाले प्रत्यक्षतर्फ एक सिट पनि जित्न मुस्किल हुने उहाँको दाबी छ ।

ओलीले एमाले कार्यकर्ताहरूलाई बाक्साहरू (मतपेटिका) प्रति विशेष नजर लगाउन निर्देशन दिनुभयो । ‘तपाईंहरू बाक्सा आफ्ना आँखाबाट कोठामा लान्छौँ, ताला लगाएर लाहा छाप राखेर राख्छौँ । यस्ता कुरामा कुनै भर नपर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘बाक्सा अगाडिबाट एक छिन पनि आँखा झिमिक्क नपार्नुहोस् । एउटा आँखो झिम्क्यो भने पनि अर्को खुला राख्नुहोस् ।’ एमाले अध्यक्ष ओलीले कांग्रेस नेता विजयकुमार गच्छदारमाथि व्यंग्य गर्दै जनताले जिताएर पठाएको मान्छे लुक्दै हिँड्नु विडम्बना भएको बताउनुभयो । जनताले जिताएर माथि पठाएको नेता हवल्दारसँग लुकेर हिँडेको उहाँले बताउनुभयो । ओलीले एमाले सरकारमा आएपछि नागरिकताको समस्या समाधान हुने बताउनुभयो ।

नेपाललाई पछि धकेल्नेहरू मिलेर एमालेको गठबन्धन बनेको छ, त्यसलाई पराजित गर्नुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई पछि धकेल्नेहरू मिलेर नेकपा एमालेले गठबन्धन बनाएको बताउनुभएको छ । डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ पुगेर बुधबार अध्यक्ष प्रचण्डले प्रतिगमन गर्न बनेको गठबन्धनलाई पराजित गर्नुपर्ने बताउनुभयो । उहाँले कोइरालाको प्रशंसासमेत गर्नुभयो । ‘नेपाललाई पछि धकेल्नेहरू मिलेर एमाले नेतृत्वको गठबन्धन बनेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई पराजित गर्नुपर्छ । डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकैले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो । जतिबेला हामी १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको तयारी गर्दै थियौँ । उहाँ सक्रिय नभएको भए देशमा यो परिस्थिति बन्थ्यो कि बन्थेन होला ।’ मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा (१) मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनबाट चुनावी मैदानमा हुनुुहुन्छ । उहाँले बुधबार नै धरान पुगेर त्यहाँका मेयर हर्क साम्पाङको प्रशंसासमेत गर्नुभयो ।

प्रचण्ड सहभागी हुने कार्यक्रम स्थलनजिकै बम विस्फोट, चितवनमा उमेश श्रेष्ठको गाडीमा तोडफोड
भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभानजिकै बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भनिएको सभास्थल नजिकै बम विस्फोट भएको हो । प्रहरी कार्यालय भोजपुरका अनुसार विस्फोटमा एकजना घाइते भएका छन् । घाइते हुनेमा सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व लगायतका दलहरूले चुनाव बहिष्कार गरेका छन् । उनीहरूले चुनावविरुद्ध भण्डाफोर अभियान चलाइरहेका छन् । प्रचण्ड सहभागी सभानजिकै विस्फोट भएसँगै सुरक्षा चुनौतीसमेत थपिएको छ ।

बुधबार बिहान चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार तथा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको थियो । भरतपुरमा रोकिराखेको गाडी अज्ञात समूहले तोडफोड गरेको हो । चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा३च २०४० नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको प्रहरीको भनाइ छ । यस्तै, घरदैलोको क्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि हातपात भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ विशेश्वर महतोमाथि हातपात भएको हो । एमालेका स्थानीय नेता कार्यकर्ताले घरमै आएर आफूमाथि हातपात गरेको उहाँको आरोप छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारमा रहेको गाडीमा समेत तोडफोड भएको थियो । आइतबार दिउँसो मुग्लिननजिकै गाडी तोडफोड भएको थियो । तोडफोडबाट बा१४च ७६८४ नम्बरको गाडीको सिसा फुटेको थियो ।

नेपालगञ्जमा बम विस्फोट
यस्तै, बाँकेको नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट भएको हो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समूहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष डिल्लीबहादुर डिसी क्षेत्री र कार्यकर्ता धर्मराज सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । घाइते दुबै जनको भेरी अस्पतालना उपचार भइरहेको छ ।

घटनामा संलग्न अन्य दुई जना फरार रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?