Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

हस्तकला उद्योग प्रवद्र्धनको आवश्यकता

A A- A+

✍️ के.बी. बस्नेत

हस्तकला नेपालको सबै जिल्लामा विद्यमान छ । प्रत्येक जिल्लामा विभिन्न जातजातिका व्यक्ति बसोवास गर्ने हुनाले उनीहरूका आआफ्ना संस्कृति अनुसार विभिन्न किसिमका हस्तकलाका सामान पाइन्छन् । हाल नेपालबाट ४२ प्रकारका हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निर्यात गरिन्छ, जसमध्ये पश्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेण्टिङ उल्लेखनीय छन् । संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत, फ्रान्स, डेनमार्क र क्यानडा नेपाली हस्तकलाका निर्यात हुने प्रमुख देश हुन् । वर्तमान समयमा छिमेकी देश भारत र चीनमा यहाँका हस्तकलाका सामानको माग बढेको छ ।

आजकाल देशभित्र पनि सजावटका लागि हस्तकलाका सामानहरू प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यतिमात्र होइन, प्रत्येक वर्ष नेपाल आउने पर्यटकमध्ये धेरैले यहाँको चिनोको रूपमा वस्तुकलाका सामान खरिद गर्छन् । नेपाल आउने कतिपय विदेशी राष्ट्रप्रमुख तथा प्रसिद्ध व्यक्तिलाई हस्तकलाका सामान उपहार स्वरूप प्रदान गर्ने चलन छ । यहाँको हस्तकलालाई प्रश्रय दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्न जोड दिएको छ तर यो व्यवहारमा भने लागू हुन सकेको छैन ।

पछिल्लो समय हस्तकलाका सामानहरू छिमेकी राष्ट्रहरू, युरोप र अमेरिकामा बढे पनि कामदारको कमीले गर्दा माग पूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समययता भारत र बंगलादेशका कालिगडहरूले पनि सुन–चाँदीका गहना एवं विभिन्न हस्तकलाका सामान बनाउँदै आएका छन् ।

यहाँ प्रत्येक धातु तथा कपडाबाट उत्पादित हस्तकलाका सामानहरूको माग झण्डै उस्तै नै छ । कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानको बढी माग छ । ऊनबाट बनेका सामग्रीको निकै माग छ । यसैगरी सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेत, बाँस, थान्कालगायत सरदर १६ प्रकारका हस्तकलाका सामान विदेश निर्यात हुँदै आएका छन् । एक आधिकारिक तथ्यांकअनुसार हस्तकला उद्योगमा संलग्न प्रत्यक्ष र अप्रत्यक्ष गरी २१ लाख जति व्यक्तिहरूले रोजगारी पाएका छन् । परन्तु यहाँ कामको सम्मान गर्ने प्रवृत्ति नभएकाले उक्त उद्योगमा हिनताबोध हुन थालेको छ । त्यसैले परम्परागत रूपमा काम गर्ने मजदुरको संख्या कम हुँदै गएको छ । यस व्यवसायमा युवाहरूको आकर्षण बढ्न नसकेकाले श्रमको अभाव छ ।

पछिल्लो समय हस्तकलाका सामान छिमेकी राष्ट्रहरू, युरोप र अमेरिकामा बढे पनि कामदारको कमीले गर्दा माग पूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समययता भारत र बंगलादेशका कालिगडले पनि सुन-चाँदीका गहना एवं विभिन्न हस्तकलाका सामान बनाउँदै आएका छन् । नेपालमा उत्पादित हस्तकलाका सामानमध्ये माटाका भाडाको कम महत्व छैन । यहाँ उत्पादित माटाका भाँडामध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि छन्, जसमध्ये खुत्रुकेको विदेशमा निकै माग छ । विदेशबाट यहाँ केही माटाका भाँडाहरू आयात गरिए तापनि यहाँबाट प्रत्येक वर्ष झण्डै ३ करोड मूल्यबराबरका माटाका भाँडा निर्यात गरिन्छन् ।

वस्तुतः यहाँ माटाका सामान प्राचीनकालदेखि नै बनाउन थालिए पनि हाल माटो र विभिन्न किसिमका रङको बढ्दो मूल्यका कारण उक्त सामान बनाउने काममा बाधा पुगेको छ । वर्तमान समयमा यहाँ धातु तथा प्लाष्टिकका सामानको बढ्दो प्रयोगले गर्दा नयाँ पुस्ताका व्यक्ति यस व्यवसायमा आकृष्ट भएका छैनन् । यति मात्र होइन कालिगडलाई तालिम दिने संस्थाको अभावमा, यहाँबाट उत्पादित माटाका भाँडाको गुणस्तर अभिवृद्धि गर्न सकिएको छैन । हस्तकलाको प्रवद्र्धनका लागि समसामयिक तालिमको आवश्यकता छ । तर यहाँ उक्त कलासम्बन्धी तालिम दिने संस्था छैनन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।

भारत र बंगलादेशमा हस्तकलाका सामान बनाई निर्यात गर्ने संघसंस्थालाई प्रोत्साहन दिने विशेष व्यवस्था भएकाले ती देशमा उक्त व्यवसायमा संलग्न व्यक्ति उत्साहित छन् । किन्तु यहाँ हालसम्म पनि उक्त व्यवस्था गर्न नसकिएकाले सम्बन्धित व्यक्ति तथा संस्थाको ध्यान आकृष्ट हुन जरूरी छ । हस्तकलामा युवाहरूको खासै चासो देखिँदैन । त्यसैले विद्यालयको पाठ्यक्रममा हस्तकलासम्बन्धी कुरा समावेश गर्नसके भविष्यमा यहाँका युवाहरू उक्त कलामा संलग्न हुन आकर्षित हुने छन् । आगामी दिनमा हस्तकलाका सामानको माग अभिवृद्धि गर्न यिनीहरूको डिजाइनमा पनि केही परिवर्तन गर्न जरुरी छ । यसका लागि अन्तर्राष्ट्रियस्तरका डिजाइनर झिकाई यहाँका कालिगडलाई समसामयिक तालिम दिन आवश्यक छ ।

यहाँको हस्तकलाको विकासका लागि मजदुरहरूको संख्या बढाउन नितान्त आवश्यक छ । यसको लागि इच्छुक व्यक्तिलाई तालिम दिने व्यवस्था हुनुपर्छ । यसका साथै सम्बन्धित व्यक्ति तथा संस्थाहरूबाट बेलाबेलामा हस्तकलासम्बन्धी प्रदर्शनीहरू आयोजना गर्ने, हस्तकलासम्बन्धी प्रतियोगिता आयोजना गर्ने र ऋण सहज तथा सुलभ तरिकाले उपलब्ध गराउन जरुरी छ । एक आधिकारिक तथ्यांकअनुसार नेपालमा वार्षिक ३ सय ५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अल्लोजन्य हस्तकलाका सामान उत्पादन गरिन्छ । यी सामानमध्ये ८० प्रतिशतभन्दा बढी निर्यात गरिन्छ । यसरी निर्यात गरिने देशहरूमा खास गरेर संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, डेनमार्क, फिनल्याण्ड र दक्षिण कोरिया प्रमुख छन् ।

नेपाल हस्तकला महासंघको हस्तकला निर्यात तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/०६५ मा ४८ लाख ४१ हजार १५३ मूल्य बराबरको अल्लोजन्य हस्तकलाका सामान निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०६५/०६६ मा ४७ लाख ३९ हजार ६६८ रुपैयाँबराबरको अल्लोजन्य हस्तकलाका सामान निर्यात गरिएको थियो । हालका वर्षमा उक्त रकमभन्दा केही बढी मूल्यका हस्तकलाका सामान निर्यात गरिन्छ । नेपालमा १२ सयदेखि तीन हजार मिटरसम्मको उचाइमा अल्लो पाइन्छ । यो यहाँको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ३५ हिमाली तथा पहाडी जिल्लाहरूमा पाइन्छ । वास्तवमा अल्लोका रेशा तथा रेशाजन्य वस्तुलाई प्रशोधन गरेर अल्लोसम्बन्धी हस्तकलाका सामान बनाइन्छ ।

हाल नेपालमा अल्लोजन्य हस्तकलाका सामानहरूको उत्पादनमा विभिन्न संघसंस्था आबद्ध छन् जसमध्ये हिमालयन नेचुरल फाइबर फाउन्डेसन, निनामरिदम हृयान्डिफ्राफर र नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ अग्र पंक्तिमा छन् । नेचुरल फाइबर फाउण्डेसनले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको सिलिचोङ, गाउँपालिकालाई आधार क्षेत्र मानेर ती क्षेत्रका गरिब किसानहरूलाई अल्लाका बेर्ना उतपादन, खेती गर्ने तरिका, प्रशोधन गर्ने तरिकालगायत विभिन्न तालिमहरू प्रदान गरी अल्लो तथा यसबाट बनाउने हस्तकलाका सामानको उत्पादनमा सक्रिय सहयोग गरेको छ ।

उक्त फाउण्डेशनले रुकुम र रोल्पामा पनि साना तथा घरेलु उद्योग विभाग जर्मनको जिटिजेड संस्थाको सहकार्यमा अल्लो उद्योग प्रवद्र्धनका लागि तालिम सञ्चालन गरेको थियो । नेडेप नेपालले पर्वत, बाग्लुङ र म्याग्दी जिल्लामा इच्छुक व्यक्तिहरूका लागि अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण र उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरी अल्लोसम्बन्धी हस्तकलाको प्रवद्र्धनमा मद्धत गर्दै आएको छ ।

केही वर्षयता होमनेट नेपालले अल्लोका हस्तकलाका सामान बनाउने र बेच्ने काम गर्दै आएको छ । अल्लोका हस्तकलाका सामानहरू बनाई बिक्री गर्ने अन्य संस्थामा महागुठी, साना हस्तकला संघ र हस्तकला उत्पादक संघका नाम उल्लेखनीय छन् । त्यी संस्थाले अल्लोसम्बन्धी हस्तकला उद्योगको संबद्र्धन तथा प्रबद्र्धनमा टेवा पुर्‍याएका छन् ।

नेपाल एक कृषिप्रधान देश भए पनि बढ्दो भूमि खण्डीकरण सिँचाइको अपर्याप्तता, खेतीको समयमा बीजबिजन तथा मलको अपर्याप्तता, पुरानो खेतीपाती गर्ने तरिका आदि कारणले गर्दा कृषिक्षेत्रबाट प्राप्त हुने प्रतिफलबाट मात्र यहाँको आर्थिक समृद्धिको लक्ष्यमा पुग्ने सम्भावना देखिँदैन । त्यसैले वैकल्पिक व्यवस्थापनका लागि औद्योगिक विकास गर्न आवश्यक छ, जसका लागि हस्तकला उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

हस्तकला उद्योगको प्रबद्र्धनका लागि अल्लोबाट तयार गरिने कपडा, झोला, जुत्ता आदि सामानहरूको उत्पादन वृद्धि गर्न आवश्यक छ । आजकल यस्ता सामानको माग दिनप्रतिदिन बढे पनि अझसम्म धेरैलाई यससम्बन्धी ज्ञान छैन । त्यसैले बेलाबेलामा देशका विभिन्न स्थानमा हस्तकलासम्बन्धी भेला आयोजना गरी अल्लोका सामान प्रदर्शन गरेमा भविष्यमा यसको व्यापार बढ्नेछ र हस्तकला उद्योगको विकासमा केही टेवा पुग्नेछ । फलतः यहाँको अर्थतन्त्रमा समेत सकारात्मक असर पर्नेछ ।

हस्तकला उद्योगको प्रवद्र्धनका लागि अल्लोबाट तयार गरिने कपडा, झोला, जुत्ता आदि सामानहरूको उत्पादन वृद्धि गर्न आवश्यक छ । आजकल यस्ता सामानहरूको माग दिनप्रतिदिन बढे पनि अझसम्म धेरैलाई यससम्बन्धी ज्ञान छैन ।

हस्तकलाको माग निकै बढेकाले लोक्ता उत्पादन गर्न इच्छुक व्यक्तिलाई सरकारले लोक्ता उत्पादन परियोजनाअन्तर्गत लिजमा जग्गा उपलब्ध गराई प्रोत्साहन गर्न आवश्यक छ । यसबाहेक हस्तकलासम्बन्धी उद्योगलाई प्रवद्र्धन गर्न हस्तकलाका सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन निकासी गर्दा लाग्ने ढुवानी भाडामा सहुलियत प्रदान गर्न जरुरी छ ।

विगतमा निकासीयोग्य भनी तोकिएका हस्तकलाका सामानको गुणस्तर प्रवद्र्धन गर्न इच्छुक व्यवसायीलाई प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्न वाञ्छनीय देखिन्छ । उक्त समानहरूको सूची तयार गरी वेबसाइटमा राखेमा निर्यात प्रवद्र्धनमा केही योग्दान पुग्न सक्छ । बढ्दो व्यापार घाटाले यहाँ अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । हस्तकलासम्बन्धी उद्योगहरूको प्रवद्र्धन गर्न सके उक्त घाटा न्यून गर्न केही योगदान पुग्नसक्छ । तसर्थ आगामी दिनहरूमा एकतर्फ यहाँका हस्तकलाका सामानको गुणस्तर बढाउन आवश्यक छ भने अर्कोतर्फ उक्त उद्योगहरूको संरक्षण गर्न जरुरी छ ।

यहाँ विसं २०८५ सालसम्म गरिबीको रेखामुनिको पाँच प्रतिशत र विसं २१०० मा शून्यमा झार्ने लक्ष्य छ । जसका परिपूर्तिका लागि हस्तकला उद्योगहरूको विकासले केही योगदान पुग्न सक्छ । अर्थतन्त्रका महत्वपूर्ण परिसूचक विवरण र तथ्यांक समावेश गरिएको आर्थिक सर्वेक्षर्ण २०७५/०७६ अनुसार आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको देशमा रूपान्तर हुँदै समुन्नत तथा समृद्ध समाजवादउन्मुख अर्थातन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्य छ, जसका लागि हस्तकला उद्योगहरूको भूमिका महत्वपूर्ण हुनसक्छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?