आशिष र इन्डिरालाई स्वर्ण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक नेपाल एपीएम प्रा.लि.का आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोस्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । आशिषले यु-१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जित्नुभएको छ ।
भैसेपाटीस्थित आयोजक एपिएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७-११, ११-५, ११-३ र ११-६ को सेटमा पराजित गर्नुभयो । एपिएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रूपमा तेस्रो हुनुभयो । यो स्पर्धा ब्वाइज/गल्र्सलाई मिसाएर खेलाइएको थियो । शीर्ष तीनस्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामग्री प्राप्त गर्नेछन् ।

यु-१६ मा सहभागी ब्वाइज/गल्र्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो । महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११-३, ११-३ र ११-३ को सोझो सेटमा हराउनुभयो । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेस्रो बन्नुभयो ।

पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो हुनुभयो । उहाँले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३-११, ११-९, ११-७ र १४-१२ को सेटमा पाखा लगाउनुभयो । नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । प्रतियोगितामा पुरुषमा पाँच र महिलामा एक गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेस्रोले १०-१० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?