६ दलको समाजवादी मोर्चा यसै साता घोषणा गर्ने तयारी

फरक उद्देश्य भएकाहरू एकै ठाउँ हुनुको कुनै औचित्य छैन : ओली

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । विभिन्न ६ वटा राजनीतिक दल मिलेर यसैसाता समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरिएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सरकारमा सहभागी दल नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा), पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान र संसदीय प्रक्रियामा नरहेको दल नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणाको तयारी भएको हो । समाजवादी मोर्चा नेपाल नाम दिएर स्थानीय तहसम्म संयन्त्र बनाउने गरी ६ दलको संयुक्त मोर्चा यसै हप्ता घोषणा हुने नेताहरूले बताएका छन् । मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरू सहमत भएका बताइएको छ । अहिले केन्द्रमा मात्र रहने गरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता मस्यौदा तयार भएको र दलहरूले आ–आफ्ना बैठक राखेर छलफल गरेपछि सबैको सुझाव समेटेर पूर्णता दिने नेताहरूको भनाइ छ ।

फरक विचार र उद्देश्य बोकेका दल समाजवादी मोर्चा बनाउने अन्तिम तयारीमा रहे पनि आबद्ध दलहरूको राजनीतिक नीति, उद्देश्य, दृष्टिकोण र कार्यक्रम फरक छ । नेकपा माओवादी केन्द्र जनयुद्ध लडेर आएको शक्ति हो । नेकपा एस एमालेबाट छुट्टिएर गठन भएको राजनीतिक दल हो । एमाले माओवादी जनयुद्धप्रति असहमत शक्ति हो । एमालेसँग छुट्टिएर आएकाले नेकपा एसको पृष्ठभूमि फरक छैन । उपेन्द्र यादव नेतृत्वको जसपा क्षेत्रीयतावादी दल हो । जसपाले कम्युनिष्ट विचारधारालाई अंगालेको छैन । तर, समाजवादी मोर्चा गठनको नाममा ऊ कम्युनिष्ट घटकसँग जोडिँदै छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वमाओवादी हुनुहुन्छ । तर, २०७२ सालमा कम्युनिष्ट विचारधारा परित्याग गरी भट्टराईले गैरकम्युनिष्ट विचारधाराको छुट्टै पार्टी गठन गर्नुभएको थियो । कम्युनिष्ट विचारलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिँदै भट्टराईले कम्युनिष्ट सिद्धान्तको औचित्य समाप्त भएको घोषणा गर्नुभएको थियो ।

नेत्रविक्रम चन्दले माओवादी केन्द्र संसदीय व्यवस्थाको भासमा फसेको, जनयुद्धप्रति गद्दारी गरेको आरोप लगाउँदै पार्टीबाट बाहिरिएर अर्धभूमिगत शैलीमा क्रियाकलाप सञ्चालन गर्नुभएको थियो । तर, अर्धभूमिगत गतिविधिको औचित्य पुष्टि गर्न नसकेपछि अहिले खुल्ला राजनीति गरिरहनु भएको छ । वामदेव गौतम नेकपा एमालेका पूर्वउपाध्यक्ष भए पनि अहिले पार्टीविहीन र राजनीतिक ओझेलमा परेको अवस्थामा हुनुहुन्छ । चारैतिर मुख फर्किएका पार्टी मिलेर बन्न लागेको समाजवादी मोर्चाको निश्चित लक्ष्य र उद्देश्य भने देखिएको छैन ।

राजनीतिक स्थिरताका लागि समाजवादी मोर्चा : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको दाबी गर्नुभएको छ । मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो संघर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘विसं २०४६ को आन्दोलनमा पनि वामपन्थीको मोर्चा बनाएर राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह भयो । देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न तेस्रो शक्तिका रूपमा मोर्चालाई स्थापित गराइनेछ । शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन निर्माण गरिएको मोर्चा छिट्टै घोषणा हुन्छ । कुनै पनि पार्टीलाई मोर्चामा विलय गराउने उद्देश्य छैन ।’

प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, जसपाको १२, नेकपा एसको १० र माओवादी केन्द्रको चुनाव चिह्नबाट नेसपाको एक सांसद छन् । यी सबै दल समेटिँदा प्रतिनिधिसभामा मोर्चाका ५४ सांसद हुनेछन् र यो संसद्को तेस्रो ठूलो शक्ति हुनेछ । मोर्चाको आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ । दलहरूका सदस्यताका आधारमा सो संख्या राखिएको छ । ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ । देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान मोर्चा बनाउनुपरेको नेताहरूको जिकिर छ । शीर्ष नेताहरूको बैठक बसेर घोषणा मिति तोक्ने बताइएको छ । समाजवादी मोर्चा बनाउने गृहकार्यमा दलहरूले स्थानीय तह निर्वाचनभन्दा पहिले नै जुटेका थिए । तर, चुनावका बेलामा मोर्चा बन्न सकेन । प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि सहकार्य गर्ने चर्चा चले पनि मोर्चा बनाउने गृहकार्य अघि बढ्न सकेन । अहिले भने समाजवादी मोर्चा घोषणा गर्ने अन्तिम तयारी भएको छ ।

दुई दिनभित्र समाजवादी मोर्चा घोषणा हुन्छ : पाण्डे
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकारबाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताउनुभएको छ । असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको जानकारी दिँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो ।’

‘लिभिङ टुगेदर चलेकै छ किन चाहियो मोर्चा ?’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकाले डराउनु आवश्यक नरहेको जिकिर गर्नुभयो । सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीति गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित छैनन् । म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि, अरू पार्टीमाथि लगाएका आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरूलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालेसँग मुकाबिला गर्न र अर्को कांग्रेस तर्साउन ।’

नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएका अध्यक्ष ओलीले समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने ? सँगै हिँडिरहेकै हो, लिभिङ टुगेदर चलेकै थियो, छ त । चारतिर फर्किएका चारतिरका फरक उद्देश्यका तत्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ । २०८४ सम्म हुनसक्छ हामी अब मिसन ०८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?