नेपालले जित्यो युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । शुक्रबार भएको निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज दुई-एकले जितेको हो । जितका लागि १७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि आसिफ शेख ११९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहनुभयो । आसिफले रोहन मुस्तफाको बलमा विजयी चौका प्रहार गर्दै नेपाललाई जित दिलाउनुभएको थियो । यस्तै, नेपालका ज्ञानेन्द्र मल्लले ७३ बलमा सात चौका र तीन छक्कासहित ६४ रन बनाउनुभयो ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीच १२२ रनको शतकीय साझेदारी भएपछि नेपालले जित हात पारेको हो । यो नेपालबाट ओडिआई क्रिकेटमा भएको दोस्रो ठूलो साझेदारी पनि हो । गतवर्ष पपुवा न्यूगिनीविरुद्ध तेस्रो विकेटका लागि देव खनाल र दीपेन्द्रसिंह ऐरीले १२९ रनको शतकीय इनिङ खेल्नुभएको थियो । दोस्रो विकेटका लागि गतवर्ष ओमानविरुद्ध ज्ञानेन्द्र र आसिफले नै ९५ रनको साझेदारी गर्नुभएको थियो । उक्त साझेदारी तोड्दै दोस्रो विकेटका लागि यस खेलमा उहाँहरूले १२२ रन बनाउनुभएको हो । त्यसबाहेक नेपालका कप्तान रोहित पौडेलले १७ बलमा एक चौकासहित १० रन बनाउनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएई एक समय ३१.१ ओभरमा नौ विकेट गुमाएर ९३ रहेको थियो तर दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै सम्मानजनक स्थितिमा पुर्‍याउनुभएको थियो । आयन खान ६३ बलमा सात चौका र एक छक्कासहित ५४ रनमा अविजित रहनुभयो । बिलालले ५४ बलमा एक छक्कासहित २० रन बनाउनुभयो । युएईका एलिशान शराफुले ६९ बलमा चार चौकासहित ३३ रन बनाउनुभयो । चौथो विकेटका लागि अलिशान शराफु र रोहन मुस्तफाले ६३ रनको साझेदारी गर्दै इनिङ उकास्नुभएको थियो । मुस्तफाले ५६ बलमा दुई चौकासहित २४ रन जोड्नुभयो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा तीन मेडनसहित २२ रन खर्चेर दुई विकेट लिनुभयो । कुशल भुर्तेलले सात ओभरमा एक मेडनसहित ३२ रन खर्चेर दुई तथा गुलशन झाले सात ओभरमा ४२ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिनुभयो । खेलमा नेपालले तीव्र गतिका बलर करण केसीलाई बेञ्चमै राखेको थियो । करणको स्थानमा हरिशंकर शाहलाई मौका दिएको थियो । यसै सिरिजको पहिलो खेलमा नै हरिशंकरले नेपालका लागि डेब्यू गर्नुभएको हो । यसअघि नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो ।

नेपालले सुरुवाती ११ मा आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशीलाई मौका दिएको थियो । नेपालले अब आइसिसी विश्वकप लिग-२ का लागि नामिबिया भ्रमण गर्नेछ । नामिबिया, नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल २ डिसेम्बरमा नामिबियासँग खेल्नेछ । ४ डिसेम्बरमा स्कटल्याण्डसँग खेल्नेछ । ७ डिसेम्बरमा नामिबिया र ८ डिसेम्बरमा स्कटल्याण्डसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?