-ध्रुबसागर शर्मा
म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेशसभाको ‘मौन अवधि’ सुरु भएपछि उश्रृङ्खल गतिविधिहरु बढेका छन् । ठाउँ–ठाउँमा झडप,आगजनी र कुटपिट भएको छ । शुक्रबार राती बेनी नगरपालिका–९,ढोल्थानमा रोकिराखेको पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका युवाहरू सवार एक मोटरसाइकलमा आगजनी र ६ वटा मोटरसाइकलमा तोडफोड भएको हो।
घतानको ढोल्थानमा ध १ प ५०१६ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ भने ग १९ प ४२८१ , ध २ प २१२५ गरी ६ वटा मोटरसाइकलमा तोडफोड भएको गठबन्धनका युवा परिचालन टोलीका सदस्य कृष्ण शर्माले बताउनु भयो । ‘मतदातालाई पैसा बाँड्न लागेको भन्ने खबर सुनेपछि गएको टोलीलाई ढुंगा प्रहार गरियो, ज्यान जोगाउने क्रममा मोटरसाइकल छोडेर भागेका थियौं, ढुंगाले प्रहार गर्दा साथीहरु घाइते हुनुभएको छ’ शर्माले भन्नुभयो ।
ढुंगा प्रहारबाट नविन पौडेल, केदार पौडेल, शिव बानियाँ, अर्जुन खत्रीको टाउको र शरीरमा चोट लागेको छ ।
घटनामा नेकपा एमाले निकट युवाहरू रहेको घाइते नविन पौडेलले बताउनु भयो । घटनामा संलग्नको खोजी र कडा कारवाहीको माग गरिएको छ ।
यता बेनी नगरपालिका–५, नयाँ गाउँमा गठबन्धनका युवाहरुले एक दलित महिलालाई कुटपिट गरेको नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रिय सदस्य सुवाश विश्वकर्माले बताउनु भयो ।
पुलाचौरको नयाँ गाउँकी दिलकुमारी परियार, गौरब रामदाम, चन्द्रबहादुर भण्डारीलाई हातपात भएको र एक महिला घाइते भएको विश्वकर्माले बताउनु भयो । ‘घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्छु,‘बालबालिकालाई समेत कुटपिट भएको छ’ विश्वकर्माले भन्नुभयो । उहाँले घटनामा संलग्नको पहिचान गरी कारवाहीको माग गरिएको बताउनु भयो।
पुलाचौरको घटनामा नेपाली कांग्रेसका वडा सभापति यामबहादुर बानियाँले मतदाता किन्न खोज्नेहरुलाई रोक्न खोज्दा हतियारको प्रयोग गरी उल्टै आक्रमण भएको बताउनु भएकाे छ भने नेकपा एमाले बेनी नगर कमिटीको फेसबुकमा पुलाचौरमा आक्रमण भएपछि स्थानीयले मोटरसाइकल आगजनी गरेको दावी गर्नुभएकाे छ ।
बेनी नगरपालिकाभित्र भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनु भयो । ‘दुवै घटनाको अनुसन्धान भइरहेको छ,‘विगतमा समेत यी ठाउँमा घटना हुने गरेका थिए’ प्रनाउ भारतीले भन्नुभयो ।
तदानको ४८ घण्टाअघिको ‘स्थिर समय’ वा ‘मौन अवधि’मा दल र उम्मेदवारको प्रचारप्रसार निषेधित गरिएपनि मतप्रभावित बनाउन यही समयमा दलहरु सक्रिय हुदाँ झडप हुने गरेको छ । दुवै घटना मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अपराधिक उपद्रवमा पर्ने भएकाले अनुसन्धान भएमा तीन वर्ष कैद, तीस हजार रुपैयाँसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच