यादवको शतकमा भारतको जित

Read Time = 3 mins

नयाँदिल्ली । सूर्यकुमार यादवको विस्फोटक शतकको मद्दतमा भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा न्युजिल्याण्डमाथि ६५ रनको जित हात पारेको छ । योसँगै तीन टी-२० आई खेलको सिरिजमा भारतले एक-शून्यको अग्रता लिएको छ । जितका लागि भारतले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड १८.५ ओभरमा १२६ रनमा अल आउट भयो ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ५२ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै, डेभन कन्वे २५, ग्लेन फिलिप्स १२ र डर्याल मिचेल १० रनमा आउट हुनुभयो ।

यस्तै, न्युजिल्याण्डका ओपनर फिन एलेन र जेम्स निसमले खाता नै खोल्न सक्नुभएन । मिचेल सान्टनार दुई, एडम मिल्ने ६, इश सोधी र लोकी फर्गुसनले एक–एक रन बनाउनुभयो ।

भारतका दिपक हुडाले २.५ ओभरमा १० रन खर्चेर चार विकेट लिनुभयो । मोहम्मद शिराज र युजभेन्द्र चहलले दुई-दुई विकेट लिनुभयो । भुवनेश्वर कुमार र वासिन्टन सुन्दरले एक-एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनायो । भारतका सूर्यकुमार यादवले ५१ बलमा ११ चौका र सात छक्कासहित १११ रनको विस्फोटक शतकीय इनिङ खेल्नुभयो । उहाँले ४९ बलमा आफ्नो टी-२० आई करिअरको दोस्रो शतक प्रहार गर्नुभयो ।

ओपनर इशान किशनले ३१ बलमा पाँच चौका र एक छक्कासहित ३६ रन बनाउँदै आउट हुनुभयो । ऋषभ पन्त ६, श्रेयस ऐर र कप्तान हार्दिक पाण्ड्याले १३-१३ रन बनाउनुभयो । न्युजिल्यायडका टिम साउदीले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिनुभयो ।

साउदीले अन्तिम ओभरमा हृयाट्रिक गर्नुभएको थियो । अन्तिम ओभरको तेस्रो बलमा साउथीले हार्दिक पाण्ड्या, चौथो बलमा दीपक हुडा र पाँचौँ बलमा वासिन्टन सुन्दरलाई क्याच गराउँदै हृयाट्रिक पूरा गर्नुभएको थियो ।

लोकी फर्गुसनले चार ओभरमा ४९ रन खर्चेर दुई विकेट लिनुभयो । इश सोधीले एक विकेट लिनुभयो । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?