रेशगाउँमा फस्टाउँदो चिया खेती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । पाँच वर्ष अगाडि काठेखोला गाउँपालिका-७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढोकेका थियो । तर, अहिले ती पाखाबारीहरू चिया बगानमा परिणत भएका छन् । त्यहाँ पुग्ने जोकोहीलाई चिया बगानले आकर्षित गर्छ । चिया खेतीले पाखोबारी ढाकिसकेपछि कृषकसमेत निकै उत्साहित भएका छन् । स्थानीयले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट थोरै विरुवा लिएर लगाएका थिए । चियाको विरुवा हुर्किंदै गयो र परीक्षणसमेत सफल भएपछि कृषक हर्षित भएका छन् ।

चियाको विरुवा राम्रो हुँदै गएपछि स्थानीयले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रूपमा यस गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार विरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार विरुवा लगाएको उहाँको भनाइ छ । आफूहरूले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख विरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो । कार्की भन्नुहुन्छ, ‘सुरुमा के हुन्छ, कसो हुन्छ भन्ने थियो, परीक्षणका लागि सिरुबारीबाट थोरै विरुवा लिएर लगायौँ, निकै राम्रो भयो, हामीहरू पनि उत्साहित भएका छौँ, गाउँभरी चिया खेती गर्ने उद्देश्यले अहिले तीन लाख विरुवा नर्सरीमा उत्पादन गरिरहेका छौँ ।’

कार्कीले हालसम्म करिब ४२ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चिया खेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चिया खेतीका लागि निकै उपयुक्त रहेको र अब हरेक नागरिकलाई यसतर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको विरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ ।
‘सुरुमा लगाएको विरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्नेछौँ, चिया खेती राम्रो हुँदै जाँदा गाउँका कृषकहरूलाई पनि हर्षित बनाएको छ, गाउँका हरेक नागरिकलाई चिया खेतीमा जोड्न योजना बनाएका छौँ’ कार्कीले भन्नुभयो, ‘सुरुवाती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख विरुवा गाउँभरी लगाउँछौँ ।’

स्थानीय भीमबहादुर थापाले सुरुमा विरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले विरुवा सप्रिँदै गएको भन्दै एक/डेढ वर्षमै आफूहरूले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो । थापाले भन्नुभयो, ‘सुरुमा विरुवा हुर्काउन कलिकति समस्या भयो, अहिले राम्रो हुँदै गएपछि हामीहरू खुसी भएका छौँ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रैछ, अब जताततै विस्तार गर्ने योजना छ ।’

थापाले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका विरुवा लगाएको हुँदा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो । थापाले यसको संरक्षणका लागि बारबन्देज गर्नुपर्ने देखिएको बताउनुभयो । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका कृषकहरू चिया खेतीतर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ ।

समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने २१ सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जन माध्यम बनाई गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

अध्यक्ष लामिछाने भन्नुहुन्छ, ‘गाउँबाट मानिसहरू धमाधम बसाइँसराइ गरी बजार झर्न थालेका छन्, गाउँमा भएको खेतीयोग्य जमिन बाँझिन थालेका छन्, युवाहरू विदेश पलायन भइरहेका छ, उनीहरूलाई गाउँमै रोक्नका लागि हामीहरूले रोजगार सिर्जना गर्नैपर्छ, त्यही हिसाबले गाउँमा स्वरोजगारमूलक काम गरौँ भनेर सुरुवात गरेका छौँ, सुरुमा ‘ट्रायल’का रूपमा केही विरुवा लगायौँ, तर पछि निकै राम्रो भयो, अहिले व्यावसायिक रूपमै खेती गर्न थालेका छौँ, अबको केही समयपछि उत्पादन पनि सुरु हुनेछ ।’

अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका विरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । ‘परीक्षणका रूपमा लगाएको विरुवा निकै राम्रो भयो, यसले कृषकलाई थप ऊर्जा मिलेको छ, धेरैले यो खेती गर्नतर्फ चासो देखाउनुभयो, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?