कृषि औजार कारखाना सञ्चालन गर्न ३० करोड माग

Read Time = 3 mins

काठमाडौं । बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि तत्कालै ३० करोड बजेट चाहिने भएको छ । कारखाना सञ्चालनको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई बुझाएको प्रतिवेदनमा न्यूनतम् २५ देखि ३० करोड बजेट सरकारबाट प्राप्त भएमा सञ्चालन गर्न सकिने उल्लेख छ । केन्द्रले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले बजेट पास हुनासाथ कारखाना सञ्चालनको काम सुरु हुने बताइएको छ ।

केन्द्रका १८ जनाको टिमले पहिलो चरणमा दैनिक १४ घण्टा खटेर कारखानाभित्रका पुराना औजार सरसफाइ, औजारको अवस्था र अनुमानित सञ्चालन खर्चबारे अध्ययन गरेको थियो । केन्द्रका अनुसार पुराना मेसिन मर्मतसम्भारका लागि सातदेखि आठ करोड, विद्युतीकरणका लागि १० करोडसहित कारखाना सञ्चालन गर्न न्यूनतम् ३० करोड रकम सरकारसँग माग गरिएको हो । कारखाना सञ्चालनपछि पहिलो चरणमा कुन-कुन औजार उत्पादन गर्ने भन्ने विषयमा कार्यविधि बनाउने काम भइरहेको छ ।

२५ देखि ३० करोड बजेट सरकारबाट प्राप्त भएमा कारखाना सञ्चालन गर्न सकिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

कारखानामा रहेका ५४ ठूला मेसिनमध्ये ४३ वटा मेसिन सामान्य मर्मतसम्भारबाटै सञ्चालन गर्न सकिने र अन्य ७५ प्रतिशत औजार मर्मतसम्भारबाटै सञ्चालन गर्न सकिने केन्द्रले जनाएको छ ।

पुराना मेसिन मर्मतसम्भारका लागि १० महिनासम्म लाग्ने देखिए पनि एक वर्ष नपुग्दै १०/१५ प्रकारका औजार पहिलो चरणमा उत्पादन गर्ने केन्द्रको तयारी छ । पहिलो चरणमा कुटो, कोदालो, बेल्चादेखि धान झार्ने मेसिन र अन्य हातले चल्ने साना मेसिन उत्पादन सुरु गर्ने र दोस्रो वर्षदेखि सरकारको आर्थिक सहयोगमा कारखानामा आधुनिक प्रविधि भित्र्याउने केन्द्रले जनाएको छ ।

सरकारले गत असोजमा कृषि औजार कारखाना सञ्चालनको सम्पूर्ण जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गर्दै सम्झौता गरेको थियो । तत्कालीन सोभियत संघ(रुस) सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखाना स्थापना भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?