दिल्लीसँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली दुई विकेटले पराजित भएको छ । दिल्लीमा बिहीबार भएको खेलमा जितका लागि ३०४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्लीले ४९.३ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीको जितमा ओपनर साहिल मल्होत्रा ६० बलमा पाँच चौकासहित ५२, ओपनर तिलक ठाकुर १५, वैभम शर्मा ४४ र सक्षम शर्माले ३३ रन जोड्नुभयो ।

यस्तै, यश वर्धान ओबेरियोले २४ बलमा चार छक्कासहित ४२ रन, मनिष श्रीवातले सात बलमा एक चौका र एक छक्कासहित १५ तथा शिवम शर्माले २३ बलमा दुई चौका र एक छक्कासहित ३१ रन बनाउनुभयो ।

नेपालका तीव्र गतिका बलर नन्दन यादवले आठ ओभरमा ६५ रन खर्चेर दुई तथा कुशल भुर्तेलले ६ ओभरमा ३६ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, सोमपाल कामीले सात ओभरमा ५३ रन खर्चेर १ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३०३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १३५ बलमा ११ चौका र एक छक्कासहित ११३ रनको शतकीय पारी खेल्नुभयो ।

त्यसपछि दीपेन्द्रसिंह ऐरीले पनि विष्फोटक शतक पूरा गर्नुभयो । उहाँले ६२ बलमा आठ चौका र ६ छक्कासहित १०९ रन बनाउनुभयो ।
नेपालको सुरुवात राम्रो नभएपछि छैटौँ विकेटका लागि रोहित र दीपेन्द्रले १२० रनको सानदार प्रदर्शन गर्दै नेपालको इनिङ्स अघि बढाउनुभएको थियो । यस्तै, सातौँ विकेटका लागि दीपेन्द्र र आरिफ शेखले ५९ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पु¥याउनुभएको हो ।

आरिफले १० बलमा एक छक्कासहित १८ रन बनाउनुभयो । नेपालका पाँच ब्याटरले खाता नै खोल्न सक्नुभएन । ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट हुनुभएको थियो । तल्लोक्रमका सोमपाल कामी र गुलशन झाले पनि खाता खोल्न सकेनन् ।
तीनजना नै पवेलियन फर्कँदा नेपालले जम्मा दुई रन बनाएको थियो । चौथो विकेटका लागि रोहित र हरिशंकरले ५८ रनको साझेदारी गरेपछि स्कोरबोर्डमा नेपालले रन बनायो । हरिशंकरले २९ बलमा ३ चौकासहित २५ रन बनाउनुभयो । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट हुनुभयो ।

दिल्लीका प्रिन्स यादवले नौ ओभरमा तीन मेडन राख्दै ४२ रन खर्चेर तीन तथा मनिष श्रीवातले दुई विकेट लिनुभयो ।
नेपालले आइसिसी विश्वकप लिग दुईअन्तर्गत नामिबिया भ्रमणअघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?