किन बन्दैनन् धार्मिक चलचित्र ?

Read Time = 25 mins

✍️ विजयरत्न तुलाधर

चलचित्र निर्माण हुने जुन सुकै देशमा त्यस देशका धार्मिक मान्यता र परम्परालाई चलचित्रको पर्दामा प्रस्तुत गर्ने चलन छ । हलिउड भनिने अमेरिकाका चलचित्रहरूमा इसाई धर्मका प्रवर्तक येशुको कथामा आधारित चलचित्रहरू प्रशस्त बनेका छन् । विश्वमा चलचित्रको यात्रा आरम्भ हुँदादेखि नै यस्तो हुँदैै आएको छ । त्यस्ता चलचित्रहरूमा द टेनकमान्डमेन्ट देखि द लास्ट टेम्पटेशन अफ क्राइष्ट जस्ता अनगिन्ति चलचित्र बनेका छन् भने बलिउड भनिने हिन्दी चलचित्र क्षेत्रमा रामायण वा महाभारत लगायतका थुप्रै धार्मिक मान्यताका कथाहरूमा चलचित्र र टिभी सिरियल निर्माण हुँदै आएका छन् ।

अहिले भने भारतमा विशुद्ध धार्मिक चलचित्रभन्दा पनि धार्मिक आस्थामा आधारित चलचित्र बन्ने प्रचलन सुरु भएको छ । यस्ता चलचित्रहरूमा बलिउड भनिने हिन्दी चलचित्र जगतमा सन् २०२२ मा सार्वजनिक भएको ‘ब्रहृमास्त्र’ उल्लेखनीय उदाहरणका रूपमा लिन सकिन्छ । भारतकै दक्षिण भेगमा रहेको दक्षिण भारतीय चलचित्रहरूमा पनि यस्तो चलन बढ्दै गइरहेको छ । सन् २०२२ मा अपार सफलता हासिल गरेको ‘कान्तारा’ त्यस्तै एउटा उदाहरण हो । यस चलचित्रमा एउटा गाउँमा देवताको रूपमा पूजा गर्दै आएको एउटा शिलालाई लिएर कथा बुनेको छ ।

चीनमा चीनका एक बौद्ध भिक्षु हृवेन साङ्गले पवित्र बौद्ध धर्म ग्रन्थ त्रिपिटकको खोजीमा चीनबाट पश्चिमतिर गरेको यात्रामा आधारित कैयौं चलचित्र र टिभी सिरियल बनेका छन् । तीमध्ये ‘सि यउ ची’ नामक एउटा टिभी सिरियल विश्व प्रसिद्ध भएको छ । विश्वका पचासौं भाषामा स्वरांकन भएको यो सिरियल नेपालीमा समेत ‘पश्चिमतिरको यात्रा’ शीर्षकमा प्रसारण भइसकेको छ । हृवेन सांग र उसँग हिँड्ने एउटा चतुर बाँदरको दन्त्यकथालाई जोडेर चीनले हलिउडसँग मिलेर ‘द मंकी किङ्ग’ नाम गरेको चलचित्र बनाएको छ भने भारतसँग मिलेर ‘सुयान चाङ्ग’ नाम गरेको चलचित्र बनाएका छन् । यो ‘सुयान चाङ्ग’ को पनि नेपाली अनुवाद भई प्रदर्शनमा आइसकेको छ ।

धार्मिक चलचित्र बनायौं भने त्यसका दर्शक भनेको पचास साठी नाघेका मात्र हुनेछन् र उहाँहरू भनेको हलसम्म आएर चलचित्र हेर्न आउने वर्गमा पर्नुहुन्न । दर्शक नै नआउने देखेर नै धार्मिक भावनामा आधारित चलचित्रहरू नबनेका हुनुपर्छ भन्ने चलचित्र निर्देशक यादव खरेलको ठहर छ ।

विश्वको चलचित्र जगतमा यसरी आआफ्नो धार्मिक मान्यताका कथाहरूलाई चलचित्रको पर्दामा प्रस्तुत गरेका धेरै उदाहरणहरू भेटिन्छन् तर चलचित्र निर्माण थालनी गरेको करिब ७० वर्षको इतिहास बोकेको नेपालको चलचित्र इतिहासमा पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ नै धार्मिक कथा बोकेको चलचित्र भए तापनि धार्मिक मान्यताका कथा बोकेका चलचित्र खासै बनेको पाइँदैन । नेपालमा बनेको पहिलो धार्मिक चलचित्र भनेको ‘श्रीस्वस्थानी’ हो । यस चलचित्रका निर्देशक यादव खेरल हुनुहुन्छ । नेपालको चलचित्र इतिहासमा एउटा छुट्टै स्थान हासिल गर्न सफल चलचित्र ‘श्रीस्वस्थानी’ पछि नेपालमा खासै धार्मिक चलचित्र बन्न सकेन । यस विषयमा निर्देशक खरेल, ‘हामीले ‘श्रीस्वस्थानी’ बनाउँदा प्रविधि महँगो थियो । धार्मिक चलचित्रमा देखाउनुपर्ने चमत्कारका दृश्य तयार पार्न निकै ठूलो खर्च लाग्थ्यो । ‘श्रीस्वस्थानी’ बनाउँदा भारतबाट विशेष खालको क्यामेरा र क्यामेरा प्राविधिकहरू समेत मगाएका थियौ’ । त्यसमा ठूलो लगानी लागेको थियो । नभए म पनि अर्को एउटा धार्मिक चलचित्र बनाऊँ कि भन्ने सोचमा थिएँ तर खर्च र प्राविधिक झमेलाको कारण मैले आँट गरिन । नभए म त विविध विषयमा चलचित्र बनाउन रुचाउने मान्छे हुँ । मैले आदिकवि भानुभक्त बनाएँ । प्रेम पिण्ड जस्तो ऐतिहासिक महत्वको चलचित्र बनाएँ तर धार्मिक चलचित्र बनाउने आँट दोहोर्‍याएर गरिन । मेरो विचारमा बनाउने भनेर घोषणा गरिएका चलचित्रहरू पनि त्यही कारणले नबनेका होलान् जस्तो मलाई लाग्दछ’ भनी आफ्नो विचार पोख्नु हुन्छ ।

त्यतिबेला कठिन प्रविधि र प्राविधिकहरूको अभाव थियो भने खर्च पनि ठूलै लाग्ने सम्भावना थियो । चलचित्रहरू सेलुलोयड भनिने रिलमा बन्थे तर अहिले प्रविधि परिवर्तन भइसकेको छ । डिजिटल कम्प्युटरको प्रयोगले चलचित्रमा कुनै पनि खालका दृश्य प्रभाव पार्न सरल भएको छ । त्यसमा समय र लगानी दुवै बढी लाग्ला तर पहिला जस्तो दुरुह अवस्था भने रहेन । त्यसैले भारतमा धार्मिक आस्थामा आधारित चलचित्र बन्ने क्रम सुरु भएको छ तर नेपालमा भने त्यसतर्फ कुनै प्रयास नहुनुको कारणमा, ‘अहिलेका पुस्ताको रुचि फेरिइ सकेको छ । चलचित्र भनेको युवा पुस्ताकै भरमा चल्ने हो । हामीले धार्मिक चलचित्र बनायौं भने त्यसका दर्शक भनेको पचास साठी नाघेका मात्र हुनेछन् र उहाँहरू भनेको हलसम्म आएर चलचित्र हेर्न आउने वर्गमा पर्नुहुन्न । दर्शक नै नआउने देखेर नै धार्मिक भावनामा आधारित चलचित्रहरू नबनेका हुनुपर्छ’ निर्देशक खरेलको ठहर छ ।

नेपालमा बुद्ध धर्मका कथामा आधारित केही चलचित्रहरू बनेका छन् । त्यस्ता चलचित्रहरूमा ‘चाण्डालिका’, ‘पटाचारा’, ‘कृषा गौतमी’, ‘सेरी बन्जा’, ‘घोषक’, ‘कर्म’ चलचित्रहरू नेपाल भाषामा बनेर प्रदर्शनमा आइसकेका छन् । बुद्ध धर्ममा आधारित ‘अंगुलिमाल’ शीर्षकको एउटा टेलिफिल्म भने नेपाली भाषामा नै बनेको टेलिचलचित्रको रूपमा लिन सकिन्छ । सिद्धार्थ गौतम बुद्धलाई चलचित्रमा प्रस्तुत गर्ने प्रयास नेपालमा हुँदै नभएको भने होइन । भएका छन् । तर त्यस्ता चलचित्रहरूको यात्रा पर्दासम्म भने पुग्न सकेनन् । त्यस्ता चलचित्रहरूमा निर्देशक बन्नी प्रधानले आजभन्दा तीस वर्षअघि नै चार करोडको ठूलो लगानीमा ‘लर्ड बुद्ध’ निर्माण सुरु गरेका थिए । निर्माता निर्देशक युवराज लामाले पनि ‘सिद्धार्थ’ शीर्षकमा चलचित्र बनाउने घोषणा गरेका थिए भने निर्देशक लेखक प्रकाश सायमीले जर्मनीका विश्यात आख्यानकार हर्मन हेस्सेले लेख्नु भएको ‘सिद्धार्थ’ मा आधारित चलचित्र बनाउने घोषणा गरेका थिए भने ख्यातिप्राप्त चलचित्रकर्मि तुलसी घिमिरेले नेपालकै पहिलो एनिमेसन चलचित्रका रूपमा ‘सिद्धार्थ’ बनाउने कार्य सुरु गरेका थिए तर यी सबै प्रयासले मूर्तरूप भने लिन सकेन ।

निर्देशक तुलसी घिमिरेले एनिमेसन प्रविधिलाई अँगालेर त्यो चलचित्र बनाउन आरम्भ गर्नुभएको थियो तर पूरा भने गर्नु भएन ।
यसमा निर्देशक घिमिरेले आफ्नो कुरा यसरी राख्नुभयो, ‘त्यो फिल्म बनाउने काम सुरु गर्‍यौं तर पूरा गर्न सकिएन । किनभने त्यसमा एनिमेसनमा निकै ठूलो समय लाग्ने देखियो । लेखनको कार्य सकिएको थियो तर एनिमेसनको माध्यमबाट दृश्यहरू संरचना गर्दा ठूलो कठिनाइ आइप¥यो । लागत पनि निकै ठूलो लाग्ने भएपछि त्यो प्रोजेक्ट बन्द हुन पुग्यो ।’ यसरी बुद्ध धर्ममा आधारित चलचित्रहरू पनि नेपालभाषामा मात्र सिमित रहेको छ । त्यसमा पनि भारतमा हिन्दी भाषामा बनिने गरेका बुद्धसम्बन्धी सिरियल वा चलचित्रहरूमा देखिने गरेका चकाचौंध पूर्णसेट र भेषभूषा भने नेपाली भाषाका त्यस्ता सिर्जनाहरूमा पाइँदैन । सामान्य भेषभूषा र सेट वा स्थान प्रयोग गरी बनाएका छन् त्यस्ता चलचित्रहरू । पटाचारा, कृषा गौतम र कर्म गरी तीनवटा चलचित्रहरू बुद्धकालीन कथामा आधारित बनाइसकेका निर्देशक रामकृष्ण खड्गीले आफूले ती चलचित्रहरू निर्माणपूर्व प्रख्यात बौद्ध विद्वानहरूसित परामर्श गरेको र उहाँहरूको सहमतिमा नै त्यस्तो परिवेश र भेषभूषा प्रयोग गरेको बताउनु हुन्छ ।

उहाँका अनुसार, ‘बुद्धकालीन समय कसले देखेको थियो र यस्तै उस्तै हुनु पर्छ भनेर देखाउन । हाम्रा दर्शकहरूले हिन्दी फिल्म वा सिरियल हेरेर त्यस्तो दृश्य र भेषभूषा कल्पना गर्नुहुन्छ र हामीले उहाँहरूको कल्पनाअनुसार त्यस्ता गर्नुपर्ने हो तर मैले बनाएका फिल्महरूलाई अहिलेसम्म कसैले आलोचना गर्नु भएको मैले सुनेको छैन । त्यसर्थ उहाँहरूलाई मैले प्रस्तुत गरेको कुरा मन परेको छ भनी मैले अनुमान लगाएको छु ।’

केही चलचित्रबाहेक नेपालमा बनेका धार्मिक चलचित्रहरूमा निर्माता उद्धव पौड्यालले निर्माण गर्नु भएको ‘जयबाबा पशुपतिनाथ’ र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ जस्ता ऐतिहासिक महत्व बोकेका चलचित्रहरू निर्देशन गर्नु भएका प्रसिद्ध निर्देशक यादब खरेलको निर्देशनमा बनेको ‘श्रीस्वस्थानी’ गरी जम्माजम्मी दुईवटामात्र धार्मिक चलचित्र प्रदर्शनमा आएको स्थिति छ । ‘श्रीस्वस्थानी’ चलचित्रमा श्रीस्वस्थानी देवीको भुमिका निर्वाह गर्नु हुने अभिनेत्री जल शाह अचेल अमेरिका बस्ने गर्नु हुन्छ भने अहिले केही समयका लागि नेपालमा आउनु भएको छ ।

त्यतिबेला उहाँले सो चलचित्रमा शीर्ष भूमिका पाउनु भनेको पनि ठूलो कुरा थियो भने त्यसमाथि पनि आराध्य देवीको रूपमा पुजिने श्रीस्वस्थानी देवीको रूपमा अभिनय गर्न पाउँदा आफूलाई गर्व महसुस भएको कुरा सुनाउनु हुन्छ । देवीको रूपमा आफूलाई तयार पार्न शृंगार प्राविधिक र भेषभूषा संयोजकहरूलाई निकै लामो समय लाग्ने गरेको कुरा उहाँ बेलामौकामा सुनाउने गर्नुहुन्छ । सोही चलचित्रमा भगवाना शिवको भूमिका गर्नुहुने राकेश खड्का त्यो फिल्म आइसकेपछि आफूलाई बाटोमा भेट्दा धेरैले भगवान शिव भनेर सम्बोधन गर्ने गरेको कुरा सुनाउनु हुन्छ । यसरी आफूलाई भगवान शिव भनेर सम्बोधन गरेको देखेर आफूलाई अर्को चलचित्रमा यस्तै खालको देवता वा भगवानको भूमिका गर्ने ईच्छा जागृत भएको छ तर नेपालमा धार्मिक चलचित्र निर्माणको परम्परा नै अगाडि बढ्न नसकेकोमा दुःखः प्रकट गर्नु हुन्छ ।

नेपालमा धार्मिक फिल्म बन्न नसक्नु कारण यसमा लाग्ने खर्च र समय धेरै हुनु पनि हो भन्ने ठहर अभिनेता खड्काको रहेको छ । जे भए पनि नेपालीमा बनको दुई वटा धार्मिक चलचित्रमध्ये एउटामा आफू भगवान शिव बनेर खेल्न पाउँदा खुशी लागेको उहाँ बताउनु हुन्छ । श्रीस्वस्थानीको कथासँग माघ महिनाको गहिरो सम्बन्ध रहेको छ । हिन्दू धर्माबलम्बीहरूको घरघरमा श्रीस्वस्थानीको कथा पौष शुक्ल पक्ष पूर्णिमादेखि माघ शुक्ल पक्ष पूर्णिमासम्म एक महिनासम्म महिनाभरि कथा वाचन र श्रवण गरिने गर्दछ । श्रीस्वस्थानीको महात्म्यको जनजीवनमा ठूलो प्रभाव रहँदै आएको छ ।

यसरी जनजीवनमा समेत गहिरो प्रभाव पार्दै आएको श्रीस्वस्थानी कथामा वर्णन गरिएको पवित्र धार्मिकस्थल काठमाडौंको शंखरापुर नगरपालिका अन्तर्गतको साँखुमा रहेको शालिनदी हो भने पौराणिक कालमा स्वर्गका अप्सराहरू र त्यतिबेला लावण्य देश भनिने साँखुका राजा गोमा ब्राहृमाणीका पुत्र नवराजकी धर्मपत्नी चन्द्रावती गहिरो संकटमा पर्दा शालिनदीको किनारमा बसेर श्रीस्वस्थानीको कठिन व्रत बसेको फलस्वरूप संकटबाट मुक्त भई आफ्ना पति राजा नवराजसँगको मिलन सुखभोग गर्न पाएको भनी वर्णन गरिएको छ ।

यही पौराणिक कथामा आधारित ‘श्रीस्वस्थानी’ चलचित्र नै नेपालमा बनेको पहिलो र अहिलेसम्मको एक्लो शास्त्रीय अर्थात् पौराणिक कथामा आधारित धार्मिक चलचित्र हो भने ‘जय बाबा पशुपतिनाथ’ हिन्दुहरूको आराध्यदेव पशुपतिनाथप्रतिको धार्मिक आस्थामा आधारित चलचित्र हो । नेपाली र हिन्दी भाषा गरी दुई भाषामा निर्माण गरिएको यस चलचित्रका निर्माता उद्धव पौड्याल हुन् भने निर्देशन भने भारतका सतिश कुमारले गरेका हुन् । यो चलचित्रको कतिपय सुटिङ भारतको गुजरात अवस्थित वृन्दावन स्टुडियोमा गरिएको थियो । ‘श्रीस्वस्थानी’ चलचित्रको चर्चा गर्दा यसको सम्पूर्ण सुटिङ नेपालमै भएको थियो । यस चलचित्रको निर्देशन सुप्रसिद्ध निर्देशक यादव खरेलले गर्नुभएको हो ।

माघ महिनामा वाचन गरिने र साँखुको शालिनदीमा बसिने श्रीस्वस्थानी व्रत कथामा आधारित यस चलचित्रमा अभिनेत्री जल शाहले श्रीस्वस्थानी माताको भूमिका निर्वाह गर्नुभएको छ । यसमा महादेवको भूमिका अभिनेता राकेश खड्का, शिव शर्मा ब्राहृमणको भूमिका उमेश मायालु, भगवान विष्णुको भूमिका रघु गौतम, पार्वतीको भूमिकामा अभिनेत्री पूजा चन्द, हिउँबाला गौतमलगायत विभिन्न कलाकारले विभिन्न भूमिकामा अभिनय गर्नुभएका थिए । ‘श्रीस्वस्थानी’ शीर्षकको यो चलचित्रबाहेक ‘तिलहरी’ शीर्षकको एक मूलधारको चलचित्रमा पनि श्रीस्वस्थानी व्रत कथाको महिमा वर्णन गरिएको छ ।

सन् १९७५ मा प्रदर्शित ‘जय सन्तोषी माँ’ नामक हिन्दी चलचित्रबाट प्रभावित भई निर्माण गरिएको ‘तिलहरी’ चलचित्रका निर्देशक बन्नी प्रधान र रेशराज आचार्य हुन् भने मौसमी मल्ल, भुवन केसी र कृष्टि केसीको प्रमुख भूमिका रहेको यस चलचित्रमा अभिनेत्री मौसमी मल्लले घरपरिवारबाट दुःख कष्ट व्यहोर्नु परेकी एक महिला पात्रको भूमिकामा अभिनय गर्नुभएको थियो । यसरी दुःखकष्टमा परेकी पात्रले श्रीस्वस्थानीको कठिन व्रत बसेको फलस्वरूप दुःखकष्टबाट मुक्ति पाउने कथा यस ‘तिलहरी’ चलचित्रमा देखाइएको छ । यो चलचित्रको ‘जय जय श्रीस्वस्थानीमाता महिमा तिम्रो अपार’ बोलको गीत अत्यन्त लोकप्रिय भएको थियो भने अद्यापि श्रीस्वस्थानी कथा वाचन गर्ने र व्रत बस्ने महिनाले यो गीत बजाउँदै आइरहेको पाइन्छ । ‘जय सन्तोषी माँ’ बाट प्रभावित एक अर्को नेपाली चलचित्र ‘महामाया’ पनि हो । बाघ निर्देशकका रूपमा ख्यातिप्राप्त प्रकाश थापाले निर्देशन गर्नुभएको ‘महामाया’ चलचित्रमा अभिनेत्रीहरू गौरी मल्ल र मिथिला शर्माले दुःखकष्ट व्यहोर्नु परेका नारीहरूको भूमिका निर्वाह गर्नुभएको छ भने महामाया देवीको व्रत बसेको परिणामस्वरूप दुःखकष्टबाट मुक्ति पाउने देखाइएको छ ।

चलचित्र भनेको श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गरिने कथा हो । त्यसैले यसमा कथालाई सकेसम्म श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । यो चलचित्र पूरै हेर्दा करिब चार घण्टाको रहेको छ भने यसलाई विभिन्न खण्डमा विभक्त गरी पनि प्रस्तुत गरिएको पाइन्छ ।

यी चलचित्रहरूको अलावा गत वर्ष युट्युबमा ‘श्रीस्वस्थानी महिमा’ शीर्षकको एउटा चलचित्र पनि प्रकाशमा आएको छ । सञ्चार प्रविधिको विकाससँगसँगै अहिले युट्युब सञ्चारको एक प्रभावशाली माध्यम बनेको छ भने यस्तो प्रभावशाली माध्यममा राखिएको “श्रीस्वस्थानी महिमा” चलचित्र करिब चार घण्टाको रहेको छ । रेशम सापकोटाको परिकल्पना र निर्देशनमा बनेको यस युट्युब चलचित्रमा रेशम सापकोटा स्वयंले महादेवलगायत केही भूमिकामा अभिनय गर्नुभएको छ । कथा वाचनको शैलीमा निर्माण गरिएको यस युट्युब चलचित्रमा रेशम सापकोटा स्वयंले सशक्त ढंगमा कथा वाचन गर्नुभएको छ भने चलचित्रलाई सिंगार्न गीत संगीत र नृत्यको सहारा लिइएको छ । यसका साथसाथै कथा वाचन गर्दै जाँदा कथालाई कथामा वर्णन गरिएको दृश्यको माध्यमबाट प्रस्तुत गरिएको छ । चलचित्र भनेको श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गरिने कथा हो । त्यसैले यसमा कथालाई सकेसम्म श्रव्यदृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । यो चलचित्र पूरै हेर्दा करिब चार घण्टाको रहेको छ भने यसलाई विभिन्न खण्डमा विभक्त गरी पनि प्रस्तुत गरिएको पाइन्छ । करिब आधा आधा घण्टाका विभिन्न भागहरूमा महादेवको जालन्धर युद्ध, गोमालाई श्राप, स्वस्थानीको प्रसाद, लुटे विष्णुले गोमाको स्वस्थानी व्रतलगायत कथाहरूलाई छुट्टाछुट्टै पनि राखिएको छ ।

तरेली संगीत कुञ्जको युट्युबमा राखिएको यो ‘श्रीस्वस्थानी महिमा’ चलचित्रलाई यो धर्को कोरिरहँदासम्ममा करिब तीन लाख पैतीस हजारभन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन् । श्रीस्वस्थानी व्रत कथा वाचनकै शैलीमा प्रस्तुत गरिएको यस चलचित्रको निर्माताका रूपमा मीरा सापकोटा रहनुभएको छ भने यस चलचित्रमा नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार लोकनाथ अधिकारीको पनि एक प्रमुख भूमिका रहेको छ । यसैगरी रेशम सापकोटाको साथमा यसमा चीरन अधिकारी, वसन्ती भट्ट, सपना वली, नन्दा बस्याल, पवित्रा रिजाल, कुमार बोगटी, अर्जुन कँडेल, रोशनी सापकोटा, कुमार बोगटी, चन्दा बोगटीलगायत धेरै कलाकारले अभिनय गर्नुभएको छ ।

प्रविधिको विकाससँगसँगै श्रव्यदृश्यको विशेष प्रभाव (भिएफएक्स) सरल हुँदै गइरहेको वर्तमान अवस्थाको लाभ उठाउँदै कतिपय दृश्यहरूलाई प्रभावकारी प्रस्तुत गर्ने प्रयास गरिएको यो चलचित्र यादव खरेलको ‘श्रीस्वस्थानी’ जति प्रभावकारी नभए पनि श्रीस्वस्थानी कथालाई पूर्णरूपमै प्रस्तुत गरिएको हुनाले यसको महत्व बेग्लै छ । अझ कथालाई आवश्यकता अनुसार खण्ड खण्डमा पनि विभक्त गरेर प्रस्तुत गरिएको यो ‘श्रीस्वस्थानी महिमा’लाई श्रीस्वस्थानीको कथा बोकेको एक महत्वपूर्ण चलचित्रको रूपमा लिनुपर्दछ भने यस चलचित्रले श्रीस्वस्थानीको महिमालाई विश्वभर फैलिएर रहेका श्रद्धालु दर्शकमाझ पुर्‍याउन सफल भएको छ भन्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?