किन दोहोरिन्छन् दुर्घटना

हिमालय टाइम्स
Read Time = 5 mins

नेपालमा ठूला दुर्घटनाहरूमध्ये पुनः अर्को थपिएको छ । हुन त संसारभरि नै दुर्घटना हुने गर्छन्, तर नेपालका भौगोलिक विकटताले बढी नै दुर्घटना हुनेगरेका हुन् कि जस्तो देखिन्छ । हवाईभन्दा पनि सडक दुर्घटना त दिनहुँ जस्तो हुनेगरेका छन् । पहाडी बाटो, पुराना गाडी तथा चालकको लापरबाही जस्ता विभिन्न कारणले सडक दुर्घटना हुनेगरेका छन् । हवाई यातायातमा पनि मूलतः कारक तत्व भने यिनै हुन् । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज पहाडमा ठोक्किएर भएको दुर्घटनामा जहाजमा सवार यात्री र चालक दलका सदस्य गरी २२ जनाको दुःखद् निधन भएको छ । दुर्घटना भन्नेबित्तिकै त्यो निश्चय दुःखद् हुन्छ, कुनै दुर्घटना सुखद् हुँदैन ।

जहाज नष्ट भएको छ भने कुशल चालकहरूको अवसान भएको छ । एकै परिवारका सातजना व्यक्तिको निधन हुनुको पीडा त्यस परिवारका बाँचेकाहरूले कसरी सहन सक्लान् । यस दुःखद् दुर्घटनामा यसरी २२ जनाले ज्यान गुमाए तर यान्त्रिक, मानवीय तथा मौसमी ती तीन कारणमध्ये कुनै न कुनै कारण त जिम्मेवार बन्यो । सामान्यतया हवाई दुर्घटनामा यिनै कारण जिम्मेवार मानिन्छन् । अर्थात् मानवीय, यान्त्रिक तथा मौसमी कारणमध्ये कुनै कारणले यो दुर्घटना भएको हो । तारा एयरको यो जहाज पहाडमा ठोकिएर भएको दुर्घटना प्रारम्भिक अनुमानबमोजिम प्रतिकूल मौसमले दुर्घटनामा परेको अनुमान गरिएको छ ।

त्यस क्षेत्रको प्रतिकूल मौसमबाट जहाजले आफ्नो मार्ग निर्धारण गर्न नसकी दुर्घटनामा परको हुनसक्ने आँकलन छ । मानवीय त्रुटि पनि यसको कारक नहोला भन्न सकिँदैन तर सवार चालकहरू अनुभवी दक्ष रहेका कारण सामान्यतया यो दुर्घटना मानवीय कारणले हो भन्न सकिएको छैन । तर, त्रुटि भन्ने कुरा दक्षहरूबाट हुन नसक्ने भन्ने चाहिँ हुँदै होइन । यान्त्रिक दुर्घटनाको मुख्य कारण हुनसक्छ । यात्रामा प्रयोग भएको सो जहाज ४३ वर्ष पुरानो थियो भन्ने चर्चा चलिरहेको छ । दुर्घटना हुन्छ अनि छानविन समिति बनाइन्छ, निष्कर्षमा जे देखाए पनि सार्वजनिक गर्दा मानवीय त्रुटिले दुर्घटना भएको भन्ने प्रतिवेदन आउँछ ।

यान्त्रिक कारण देखाउँदा कम्पनीहरूले उडान भर्न नै नसक्ने खालका जहाजहरू चलाउन लगाएर मानवीय क्षति गराएको देखिएला भनेर सकेसम्म त्यस्तो निष्कर्ष बाहिर ल्याइँदै ल्याइँदैन । खराब मौसम भएका बेलामा पनि चालकलाई जहाज उडाउन लगाएको आरोप कम्पनीलाई लाग्नसक्ने सम्भावना रहन्छ । त्यस्ता दोषबाट छुट्कारा पाउन छानविन समितिमा दबाब पर्ने र मानवीय त्रुटि देखाउनुपर्छ भन्न लगाइने परिपाटी छ । दुर्घटनामा परेर मृत्यु वरण गरेका मानिस प्रतिकारका लागि आउने होइन ।

त्यसैले उसैलाई दोषी देखाएर प्रतिवेदन तयार पार्ने गरिन्छ । यो दुर्घटनामा भने प्ररम्भिक अनुमानमा मौसमी प्रतिकूलताको अनुमान गरिएका कारण सम्भवतः मानवीय त्रुटि नभनिएला कि । दुर्घटनाको छानविन गर्न बनेका समितिले नियतबस तयार पारेका प्रतिवेदन पेश गर्नुको सट्टा यथार्थ तथ्य समाविष्ट प्रतिवेदन तयार पार्ने हो भने छानविनप्रति विश्वसनीयता कायम हुन सक्नेछ । यसका लागि हवाई कम्पनीहरू तथा नेपाल सरकारले समेत जिम्मेवार बन्नुपर्ने हुन्छ । आफ्ना कमजोरी देखिएलान् भनेर यथार्थभन्दा फरक खालको प्रतिवेदन तयार पर्न प्रत्यक्ष वा परोक्ष दबाब सिर्जना गर्नु हुँदैन, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ र यसका लागि संबद्ध सबैमा प्रतिबद्धता आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?