क्रिकेट संघ ताक्दै पारस

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बिहीबार एक स्टाटस लेख्दै क्रिकेटको प्रशासनिक निकायमा आउने स्पष्ट पार्नुभएको छ । २०७८ सालमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गर्दै पारसले त्यसको जनाउँ दिनुभएको थियो । लामो समय त्यसबारे नबोल्नुभएको पारसले आगामी असोजमा हुने चुनावअघि नेपाल क्रिकेट संघको प्रशासनमा आउने स्पष्ट संकेत गर्नुभएको हो ।

नेपाल क्रिकेट संघको विधानमा क्यानको चुनाव लड्न दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छोडेको हुनुपर्छ । सोही प्रावधान अनुसार पारसले दुई वर्षअघि नै सन्न्यास घोषणा गर्नुभएको थियो । यसपटक भने आगामी असोजमा हुने चुनावका लागि पारसले खुलेरै चुनावमा आउने स्पष्ट पार्नुभएको छ ।

‘खेलाडीका रूपमा क्रिकेटबाट मैले सन्न्यास लिएको दुई वर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाल क्रिकेटलाई अझै थप उचाइमा पु¥याउनेमा केन्द्रित छ’, पारसले लेख्नुभएको छ, ‘सोही अनुरूप पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाको जोश, जागर र ऊर्जालाई एकीर्कत रूपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्‍याउने ध्येय बनाएको छु । तसर्थ हजुरहरू सबैको सहयोग, हुटहुटी र समर्थनको अपेक्षा राख्दछु ।’

पारस निकट एक खेलाडीका अनुसार हाललाई पारसले बागमती क्रिकेट संघको अध्यक्ष लड्ने तयारी गर्नुभएको छ । क्यानको निर्वाचन कार्यतालिका अनुसार असारमा जिल्ला संघ र १० भदौभित्र प्रदेशको चुनाव हुनेछ । सोही अनुसार पारस जिल्लामा आफ्नो माहौल बनाउन तल्लिन हुनुहुन्छ ।

विधान अनुरूप खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर र क्लबका प्रतिनिधिले भोट गर्न पाउँछन् । पारसले सबैसँग भेटवार्ता र लबिइङ गरिरहेनुभएको छ । बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा क्रिकेट संघ छ ।

जिल्लाको चुनावका क्रममा प्रदेश अधिवेशनका लागि चार-चारजना प्रतिनिधि छनोट हुनेछन् भने वर्तमान कार्यसमितिमा रहेका १३ जनाले मतदान गर्न पाउनेछन् । हाल राजु बस्न्यात बागमती क्रिकेट संघको अध्यक्ष हुनुहुन्छ ।

बागमती क्रिकेट संघको नतिजापछि पारसले केन्द्रीय चुनावबारे बोल्ने रणनीति लिनुभएको छ । केन्द्रको चुनाव असोज ५-६ गते हुँदैछ । उक्त चुनावमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह अध्यक्षका रूपमा लड्ने निश्चित जस्तै छ । दुवैजनाले आफ्नो पक्षमा भोट माग्न सुरु गरिसकेका छन् ।

यस्तै दुवै पक्ष खड्कालाई फकाउँदै उहाँलाई आफ्नो पक्षमा पार्ने कोसिसमा समेत हुनुहुन्छ । नेपाली क्रिकेट टोलीमा पारस सबैभन्दा सफल खेलाडी तथा कप्तानका रूपमा रहनुभयो । उहाँले दुई दशक नेपाली टोलीमा बिताउँदा एक दशक कप्तानी गर्नुभयो । अलराउण्डर भूमिकामा रहनुहुने उहाँले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा शतक प्रहार गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

उहाँको कप्तानीमा नेपालले २०१४ को टी-२० विश्वकप खेल्दै टी-२० आईको मान्यता हासिल गरेको थियो । यस्तै २०१८ मा उहाँको कप्तानीमा नेपालले ओडिआई मान्यता पाएको थियो ।

उहाँले २०२० मार्चमा थाइल्याण्डविरुद्ध एसीसी इस्टर्न रिजन टी-२० मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । त्यसपछि इन्जुरी र कोरोनाभाइरसका कारण उहाँलाई मैदानमा देखिएको थिएन । २०२० को नोभेम्बरमा पारस आइसीसी मेन्स दशककै उत्कृष्ट एसोसियट क्रिकेटर अवार्डको मनोनयनमा समेत पर्नुभएको थियो ।

२०७६ असोजमै पारसले राष्ट्रिय टोलीको कप्तानी छोड्नुभएको थियो । कप्तान छाडेपछि पनि उहाँले दुई वर्ष नेपाली टोलीसँगै बिताउँनुभयो । पारस सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य हुनुहुन्थ्यो ।

क्यान निलम्बनमा हुँदा पारसले खेलाडी छनोटकर्ता, मेन्टर, कप्तान, खेलाडीको भूमिका निर्वाह गर्नुभएको थियो । तर क्यान निलम्बन फुकुवा भएकै दिन उहाँले कप्तानी छोड्दै ती जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्नुभएको थियो ।

खेल जीवनपछि क्रिकेटको व्यवस्थापनमा आउने इच्छा पारसले त्यसबेला नै जनाइसक्नुभएको थियो । सोही कारण उहाँ पोखरामा पोखरा प्रिमियर लिग, बलियो नेपाल फाउण्डेसनलगायत कार्यक्रमबाट क्रिकेट व्यवस्थापनमा उत्तिकै संक्रिय हुनुहुन्थ्यो । यसपटक भने उहाँले खुलैर क्यान व्यवस्थापनमा आउने जनाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?