अधिकांश उम्मेदवार पराजित भएपछि माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

बुटवल । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि यसको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनुभएको हो । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार समेत हुनु हो ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र सहिदहरूको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले विविध कमीकमजोरीका बाबजुद गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गर्नुभएको छ ।

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिक तर्फको उम्मेदवार सुची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट बाडफाट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तर्विरोधलाई यथासमयमा सम्बोधन गर्न नसकेकोलगायत कारण बरालले उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो राजीनामामा विभिन्न समस्याका वावजुद विजयी आफ्ना पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त व्यक्त गर्नु भएको छ । बरालले लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका वावजुद प्रदेश पार्टीमा समस्याहरु रहेकाले नतिजा अनुकुल हुन नसकेको पनि बताउनु भयो ।

०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले पाँच सिट मात्र जितेको छ । प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री रहेका बराल माओवादी केन्द्रभित्र इमान्दार, स्वच्छ छबी र वौद्धिक नेतामा पर्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?