सरकार र नेकपाबीच सहमति कार्यान्वयनका सन्दर्भमा छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा आज वार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी हुनुहुन्थ्यो भने नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुङ्ग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ । नेकपासँगका मुद्दा टुङ्ग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुङ्ग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुङ्ग्याउन वर्तमान कानूनले अफ्ठेरो पर्ने भएमा संशोधन गरेर भए पनि टुङ्ग्याउने निर्णय गरेको थियो ।

सो निर्णय कति कार्यान्वयन भयो र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन भन्नेबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राख्नुभएको थियो । जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थियो । सरकारका तर्फबाट गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ”, गृहमन्त्री खाणले भन्नुभयो, “केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ । निर्णयअनुसार कार्यान्वयन हुन्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?