दमकल किन्न सिन्धुलीमाडीमा महोत्सव : अर्जुनकुमार श्रेष्ठ

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । जिल्लामा हुने आगलागी नियन्त्रणका लागि दमकल किन्न महोत्सवको आयोजना गरिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनु भएकाे छ ।

‘पुष ८ गतेदेखि १८ गतेसम्म सिन्धुलीमाडीमा छैठौँ सिन्धुली महोत्सव–२०७९ संचालनको तयारीमा छौँ । यसको मुख्य योजना शक्तिशाली दमकल किन्ने छ,’ उहाँले भन्नुभयो ।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले दमकल खरिद गर्न एक करोड २५ लाख लाग्ने सुनाउनुभयो । सिन्धुली सदरमुकाममा कम क्षमता भएको एउटामात्र दमकल भएको र ठूलो आगलागी हुँदा तत्काल नियन्त्रण गर्न नसकेर बर्षेनी करोडौँको सम्पति क्षति हुँदै आएको छ ।
गत बर्ष कमलामाई नगरपालिका–६ रातमाटामा रहेको एक हार्डवेयर पसलमा आगलागीका कारण पसल र गोदाम रहेका ५ वटा भवनमा क्षति भएको थियो । गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको स्मरण गर्नुहुँदै उहाँले रामेछापबाट दमकल झिकाएर घण्टौँपछि आगो नियन्त्रणमा आएको सुनाउनुभयो । सोही अवस्थालाई मध्यनजर गरेर दमकल किन्ने योजना बनाइएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकामा कम क्षमतामा एउटा दमकल छ । थप अर्को पनि अतिआवश्यकता खड्कीएको उहाँले बताउनु भयाे। सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव समुन्नत तथा समृद्ध सिन्धुली निर्माणका लागिपनि भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौँ, समृद्धि र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढाैँ’ महोत्सवको मुख्य नारा हो । जिल्लाको समग्र आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटन, कृषि, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानिय परम्परागत सीप कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रर्वधन गर्न महोत्सवले सहयोग पुग्ने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘सिन्धुलीमा ऐतिहासिक, धार्मिक, भौगोलिक, सामाजिक, सांस्कृतिक सुन्दरताको भण्डार छ । जिल्लामा रहेका त्यी सबैको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सघाउने छ ।’

दश दिनसम्म चल्ने महोत्सवमा तीन सय स्टलहरु रहने छन् । महोत्सव अवलोकनकर्ताहरुले टिकट शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । परिचयपत्रको आधारमा विद्यार्थी र एकल महिलालाई बीस रुपैयाँ छुट हुने तथा पूर्ण अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई महोत्सवमा प्रवेश निशुल्क गर्ने योजना समेत रहेको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?