चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ । बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिनुभएको हो । उहाँले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले विष्णुमती र सामाखुसी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले चक्रपथ विस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुने गरी गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय समस्याहरूको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरा सम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चावहिल सम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गर्नुभयो । उहाँले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरूसँग पनि आफूहरूले कुरा गर्ने भन्दै चक्रपथ विस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागिपर्ने बताउनुभयो ।

नेता पौडेलसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको कामअन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताउनुभयो । उहाँले उपभोक्ताहरूले ढल निर्माणको माग राख्नुभएको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरू पनि भइरहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?