राजनीतिक अस्थिरताको बिजारोपण

डा. डीआर उपाध्याय
Read Time = 13 mins

अहिलेको आमनिर्वाचन मतपरिणाम राजनीतिक दलहरूको अपेक्षाभन्दा फरक आएको छ । एकातिर सत्ता गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबीसहित निर्वाचनमा होमिएको थियो भने अर्कोतर्फ नेकपा एमालेले जनमत आफ्नो पक्षमा आउने दाबी गरेको थियो । तर, परिणाम न त एमालेले सोचे जस्तो आयो न सत्ता गठबन्धनले सोचे जस्तो । नेकपा एमालेले आवश्यकता अनुसार केही ठाउँमा चुनावी तालमेल गरेको थियो । अहिलेको आमनिर्वाचन मतपरिणामले राजनीतिक अस्थिरताको बिजारोपण गरेको छ । किन भने कुनै दलको प्रष्ट बहुमत नआएपछि सत्ता बन्ने र ढल्ने खेल सुरु हुन्छ । त्यस्ता गतिविधिले राजनीतिमा अस्थिरता निम्त्याउँछ । देशमा राजनीति अस्थिरता भयो भने विकासको गति रोकिन्छ ।

मंसिर ४ को निर्वाचन मतपरिणामबाट दलहरूले धेरै कुरा सिक्नुपर्ने अवस्था सिर्जना भएको छ । लोकतन्त्रमा जनमतको सबैले कदर र सम्मान गर्नुपर्छ । जनताको म्यान्डेटका रूपमा अहिलेको निर्वाचन परिणामलाई स्वीकार गर्नुपर्छ । यद्यपि चुनावको गम्भीर समीक्षा भने आवश्यक छ । दलहरू चुनावी समीक्षा गरेर अघि बढ्ने बाटो तय गर्नुपर्छ । निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छैन । प्रत्यक्षको केही सिट र समानुपातिकको नतिजा आइसक्न बाँकी छ । तर, परिणामको आंकलन गर्न सकिने अवस्था भने देखिएको छ । प्रत्यक्षमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ तर बहुमत ल्याउन असफल भएको छ । एमाले दोस्रो भएको छ । माओवादी ठूलो मतान्तरमा सिटको आधारमा तेस्रो बनेको छ । एकीकृत समाजवादी सातौंको पंक्तिमा खडा हुन बाध्य भएको छ । भर्खर खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी सबैलाई आश्चर्यमा पार्ने गरी सिटको आधारमा चौथो राष्ट्रिय दलको रूपमा देखिएको छ । राप्रपा पनि राष्ट्रिय पार्टीको रूपमा संसद्मा पुगेको छ । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी विगतको तुलनामा नराम्ररी खुम्चिएका छन् । नयाँ शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको प्रवेश भएको छ । नेमकिपा र राष्ट्रिय जनमोर्चा एक-एक सिटमा चित्त बुझाउने अवस्थामा छन् ।

नेपाली कांग्रेसले विगतभन्दा राम्रो नतिजा ल्याएको छ भने नेकपा एमालेले विगतको उपलब्धि जोगाउन सकेको छैन । माओवादीका लागि यो परिणाम स्तब्ध बनाउने खालको हो । एकीकृत समाजवादीले विभाजनको औचित्य सावित गर्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले विश्वमा चर्चा पाएको छ ।

नेपाली कांग्रेसले विगतभन्दा राम्रो नतिजा ल्याएको छ भने नेकपा एमालेले विगतको उपलब्धि जोगाउन सकेको छैन । माओवादीका लागि यो परिणाम स्तब्ध बनाउने खालको हो । एकीकृत समाजवादीले विभाजनको औचित्य सावित गर्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले विश्वमा चर्चा पाएको छ । यो निर्वाचनको मुख्य सन्देश पनि यही हो । यसले यथास्थितिप्रतिको असन्तोष पोखेको छ । लोकतन्त्रमा निर्विकल्प कोही पनि छैन भन्ने सन्देश यो चुनावले दिएको छ । वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । यद्यपि यो पुराना राजनीतिक दल र नेतृत्वका लागि सुधारको जबरजस्त दबाब हो । जनमत पार्टी संघीय संसद्मा एक सिटमा मात्र उपस्थित छ । यद्यपि जनमतको हिसाबले तराई मधेसको वैकल्पिक शक्तिको रूपमा विकास हुने सम्भावना प्रबल छ ।

अहिलेको निर्वाचनले सबैभन्दा बढी अस्तित्वको संकटतर्फ धकेलेको माओवादी केन्द्र, जसपा, लोसपा र एकीकृत समाजवादीलाई हो । सत्ताको आडमा शक्ति आर्जन गर्न खोज्दा उनीहरू जनताबाट धेरै टाढा पुगिसकेको यो निर्वाचन परिणामले पनि देखाउँछ । विगतको समीक्षा गदै पार्टी पुनर्गठन र एकताको निम्ति अग्रसर नहुने हो भने यी पार्टीहरूको भविष्य संकटमा पर्ने निश्चित छ । यस सन्दर्भमा एकीकृत समाजवादीले तत्काल एमालेसँग एकताको बाटोमा लाग्नु नै राम्रो देखिन्छ । माओवादीले पनि एकताका लागि गम्भीर भएर सोच्नुपर्छ । यस्तै जसपा र लोसपा पनि मिल्नुपर्छ । यस निर्वाचनले फेरि संसद्मा कुनै दललाई बहुमत दिएन । दुई ठूला दलबाहेक अरू कुनै दुईवटा दल मिलेर सरकार बनाउन सक्ने अवस्थासमेत बनेन । यसले मुलुकलाई अघिल्लो पटकभन्दा बढी अस्थिरतातर्फ धकेल्ने संकेत देखाउछ । अब सरकार गठनमै सकस हुने अवस्था देखिन्छ । शक्ति बाँडफाँटमा दलहरूबीच विवाद हुने देखिन्छ ।

अहिलेको परिदृश्य हेर्दा पाँच वर्षभित्र सरकार बनाउने र ढाल्ने खेलमै बढी समय व्यतीत हुने अवस्था छ । यसले प्रणालीप्रति जनविश्वास घट्दै जानेछ । राष्ट्रिय हित र लोकतन्त्रका निम्ति यो राम्रो संकेत होइन । मुलुकलाई स्थिरता, सुशासन र समृद्धिको यात्रामा हिँडाउने जिम्मेवारी राजनीतिक दलको हो । लोकतन्त्रलाई बलियो बनाउन दलहरू गम्भिर बन्नुपर्छ । विद्यमान चुनौतीको सामना गर्न लोकतन्त्रवादी शक्तिबीच बलियो सहकार्य हुन आवश्यक छ । यी लोकतन्त्रवादी राजनीतिक शक्तिहरूले न्यूनतम समझदारी नदेखाउने हो भने फेरि बाहृय शक्तिको चलखेल बढ्ने निश्चित छ ।

पछिल्लो निर्वाचनको परिणाम आइनसक्दै त्यसको संकेत देखिइसकेको छ । यदि लोकतन्त्रवादी राजनीतिक शक्तिहरू गम्भीर नबन्ने हो भने जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि गुम्ने, लोकतन्त्र नै खतरामा पर्ने र मुलुक अकल्पनीय संकटमा धकेलिने स्थिति आउन सक्छ । अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । व्यवस्था परिवर्तन भएको पनि यति धेरै वर्ष भइसक्यो तर जनताको अवस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन । राजनीतिक दलहरू सरकारमा पटक–पटक गए तर जनताको मर्म बुझने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्टि छन् । देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिए तर कम्युनिष्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरूबीच विवाद चुलिँदै गएपछि अन्ततः एक ठाउँ रहन सकेनन् । माधव नेपालले पार्टी नै फुटाए ।

आज कम्युनिष्टहरू अलग-अलग हुँदा धेरै कमजोर देखिएका छन् । कम्युनिष्टका नेताहरू पदका लागि फुट्छन । यो कुरा इतिहासले प्रष्ट पार्दै आएको छ । कम्युनिष्टहरू पटक-पटक सरकारमा गए जनताको पक्षमा के काम गरेर देखाए ? यी कुरा जनताले बुझिरहेका छन् । जुन सुकै पार्टी पनि लोकप्रिय हुन जनहितमा काम गरेको हुनुपर्छ । जनहितमा काम नगर्ने पार्टी आफैँ सकिन्छन । देशमा युवाहरूले रोजगारीको अवसर नपाएर विदेशिन बाध्य छन् ।

तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरू फेरि दोहोरिएर आएका छन् । अब जनताले उनीहरूबाट के आश गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनुभनेको देशका लागि दुर्भाग्य हो ।

देशमा भएका राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको वितृष्णा छ । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो । अहिलेको चुनावमा रवि लामिछाने जस्ता युवाले नेतृत्व गरेको नयाँ दलहरूको उदय भएको छ । रवि लामिछानेले पाँच महिनाअगाडि स्वतन्त्र दल दर्ता गरे र निर्वाचनमा होमिए । राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । यस निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसद्मा प्रवेश गरेका छन् । नेपालको राजनीतिमा नयाँ दल आउने र विलय हुनेगरेको हामीले देखेका छौँ । अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । त्यसो भएर पनि देशमा समस्या आएको हो ।

तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरू फेरि दोहोरिएर आएका छन् । अब जनताले उनीहरूबाट के आश गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनुभनेको देशका लागि दुर्भाग्य हो । हामीले कस्तो देश बनाउन चाहेको हो ? अब सोच्नुपर्ने बेला भएको छ । कुरा गरेरमात्र हुँदैन अब जनता परिणाम खोजिरहेका छन् । नेताका भाषणमा जनताको कुनै विश्वास छैन । अहिलेको यो अवस्थामा जनता आफैं सचेत छन् । अहिलेको सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल सबै मिल्दा पनि सुविधाजनक बहुमत ल्याउन सकेनन् ।

यद्यपि, उनीहरूले निर्वाचनमा होमिँदा सत्तागठबन्धनको दुई तिहाइ आउने दाबी गरेका थिए तर जनताले उनीहरूको दाबीलाई भने पूर्णरूपमा अस्वीकार गरेका छन् । पाँचवटा राजनीतिक दल मिलेर निर्वाचनमा जाँदा पनि बहुमत ल्याउन नसक्नु भनेको उनीहरू पूर्णरूपमा असफल हुनु नै हो । अझै पनि राजनीतिक दल सुध्रिने अवस्थामा देखिँदैनन् । उनीहरू सुध्रिनै चाहँदैनन् । एकले अर्कालाई सिध्याउने खेलमा दलहरू रहेको देखिन्छ । जुन निकै घातक हो । यसले कसैलाई पनि फाइदा गर्दैन । राजनीति समाजसेवाभन्दा पनि व्यापार व्यवसाय जस्तै हुन पुगेको छ । उनीहरूलाई जनताका गुनासा तथा समस्या सम्बोधन गर्न कुनै ध्यान नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?