बेनीमा सातौँ म्याग्दी महोत्सव हुने

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ देखि सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ ।

उद्योग वाणिज्य संघ म्याग्दीले विहीवार बेनीमा पत्रकार सम्मलेनको आयोजना गरेर पुस २८ गतेदेखि माघ ७ गते १० दिनसम्म महोत्सवको आयोजना गर्ने तयारी सुरु गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ हुने जानकारी गराइएको थियो ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्याली नाच प्रतियोगिता र झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

महोत्सवमा हेलिकोप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन, कालीगण्डकी नदीमा र्याफ्टिंग, बालउद्यान, मिनि चिडियाघर, स्थानीय उत्पादनको प्रर्दशनी लगायतको कार्यक्रम हुने जनाइएको छ । महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको छ ।

महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य रहने छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा २५८ वटा व्यवसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि प्रत्येक ३/३ वर्षमा संघले महोत्सव गर्दैै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?