समानुपातिक सांसद छनोट गर्न अन्तिम कसरतमा दलहरु

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । आज राजनीतिक दलहरू समानुपातिक सांसद छनोट गर्ने अन्तिम कसरतमा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्न अधिकांश दलहरू यतिबेला छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित हुने सदस्यहरूको सूची बुझाउन दिएको अन्तिम समयसम्म पनि प्रतिनिधिसभामा राष्ट्रिय दल बनेका दलहरूले निर्वाचित हुने सांसदको सूची पठाउन सकेका छैनन् । राष्ट्रिय दल बनेका सातमध्ये ६ दलले समानुपातिक सांसद छनोट गर्न सकेका छैनन् । आयोगले समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम शनिबार ४ बजेभित्र पठाउन दलहरूलाई बिहीबार नै पत्र लेखेको थियो । तर, अधिकांश दलहरूले शनिबार मात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् ।

बन्दसूचीबाट समानुपातिक सांसद छनोट गर्न प्रमुख दलका नेतृत्वलाई दबाब परेको छ । समावेशी व्यवस्थाअनुसार क्लष्टर मिलाउन पनि उनीहरूलाई समस्या भएको हो । संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रत्यक्षमा थोरै महिलालाई टिकट दिएको र तीमध्ये अधिकांश पराजित भएकाले संघीय समानुपातिकमा अधिकांश महिला छान्नु पर्नेछ । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार दलहरूले पाएको सिटलाई खस(आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेसी र मुस्लिम गरी ६ समावेशी समूहमा बाँडेर प्रतिनिधित्व गराउनुपर्छ ।

समानुपातिकमा ३४ सिट पाएको नेकपा एमालेले १९ महिला छान्नु पर्नेछ भने समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले २९ जना महिला छान्नु पर्नेछ । माओवादीले समानुपातिकको १४ सिटमध्ये १२ महिला, राप्रपाले सातमध्ये पाँच र जसपाले पाँचमध्ये चारमा महिला छान्नुपर्ने बाध्यता छ । प्रत्यक्षमा दुई महिला निर्वाचित गराएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको १३ सिटमध्ये पाँच महिला छान्नु पर्नेछ । यसमध्येबाट पनि विभिन्न जाति र समूहका क्लष्टर मिलाउनुपर्छ । सबै दलहरूमा पुरुष आकांक्षी धेरै भए पनि महिला नै छान्नुपर्ने दबाब नेतृत्वलाई छ ।

कांग्रेसलाई तीन पुरुष छान्न सकस, एमालेमा पनि समस्या
नेपाली कांग्रेसलाई समानुपातिकमा तीनजना पुरुष सांसद छान्न सकस परेको छ । संघीय संसद्मा ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये तीनजना मात्रै पुरुष पठाउन पाउनेछ । समानुपातिकको बन्दसूचीमा आ(आफ्नो क्लष्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी हुनुहुन्छ । उहाँहरू पूर्व र वर्तमान पदाधिकारी हुनुहुन्छ ।

महत खस आर्यतर्फ, श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा हुनुहुन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारू क्लष्टरबाट पहिलो नम्बरमा हुनुहुन्छ । यसमध्ये तीनजना छान्न देउवालाई सकस परेको हो ।सबै नेताहरूले आफूलाई सांसद बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् ।

आज बसेको कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।

समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।

एक पदाधिकारीका अनुसार अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ ।

नेकपा एमालेलाई पनि समानुपातिक सांसद छान्न सकस परेको छ । समानुपातिक सांसद छनोट गर्ने भनिएको सचिवालय बैठकसमेत शुक्रबार बस्दै नबसी स्थगित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउनु पर्नेछ । उसो त एमालेको समानुपातिक बन्दसूचीमा रहेका व्यक्ति छनोटमा पनि केही असन्तुष्टि जनाएका छन् ।

खस–आर्यतर्फको दुई नम्बरमा विवादास्पद छविका धर्म प्रचारक एकनाथ ढकाल हुनुहुन्छ । नेपाल परिवार दलका अध्यक्षसमेत रहनुभएका ढकाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकको दुई नम्बरमा राख्नुभएको थियो । ढकाल समानुपातिक सांसद हुने निश्चित भएपछि एमालेभित्र असन्तुष्टि पोखिन थालेको छ । ढकाललाई बन्दसूचीमा प्राथमिकतासाथ राखिएको विषयमा एमालेभित्र तीव्र असन्तुष्टि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?