भूकम्पपीडित भन्छन्-‘घरले पेट अघाउँदो रैनछ’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । काठेखोला गाउँपालिका-५ बिहुँ करिलिममा एकैनासका १० घर छन् । सिमेन्टका ब्लगको पर्खाल । नीलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । तर, यहाँका बस्ने दलित समुदायको पीडा छुट्टै छ । वि.सं. २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरूको घर भत्कियो । त्यही बर्खा गाउँ नै पहिरोले चिराचिरा पर्‍यो ।

घरसहित भए भरको सम्पत्ति पहिरोको उच्च जोखिममा परेपछि उनीहरू घरबासविहीन भए । केही वर्ष उनीहरू छरछिमेकी र आफन्तीको आश्रय लिएर बसे । सरकारले १० घर परिवारलाई गत वर्ष बिहुँ करलिममा नमुना बस्ती निर्माण गरेर हस्तान्तर गर्‍यो । उनीहरूले घर त पाए तर सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्ने माध्यम भने पाएनन् । भूकम्प पीडितहरूले अहिले सरकारसँग सामान्य भए पनि रोजिरोटिका लागि रोजगारको माग गरेका छन् ।

स्थानीय बसीमाया परियार भन्नुहुन्छ, ‘दैव पनि हामी गरिब दुःखीमाथि लाग्यो, सात वर्ष अगाडि भुइँचालो र पहिरोले घरबारी सबै चिराचिरा पारि दियो, घर र भए भरको सम्पत्ति बस्न नमिल्ने गरि भत्किएपछि हामी धेरै वर्ष बाटोमा बस्यौँ, पोहोर साल सरकारले यो ठाउँमा घर बनाएर दिनुभयो र यहाँ सर्‍यौँ, सरकारबाट अरु सेवा सुविधा भने केही पाउन सकेका छैनौँ ।’

परियारले आफ्नो तीन जनाको परिवार रहेको र गरि खाने ठाउँ नहुँदा विहान बेलुकीको छाक टार्न समस्या भएको बताउनुहुन्छ । उमेरले ६० काटि सक्नु भएकी बसीमायालाई अहिले विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गिट्टी ढुङ्गा गरेर परिवार चलाएको भन्दै हातपाखुरा बसे भने भोकै बस्नुपर्ने चिन्ताले उहाँलाई सताई रहेको छ । ‘अहिलेसम्म त हातपाखुरा चल्दै छन्, दुई/चार दिन काम गरे भने पनि विहान बेलुकी छाक टर्छ, घरले खान लाउन दिने रैनछ, पेटले माम खोज्दो रैछ, मामका लागि फलाउने ठाउँ छैन,’ परियारले भन्नुभयो, ‘अहिले त काम पनि पाइएको छैन, चिसो बढ्न लाग्यो, यो बेला काम पनि गर्न गाह्रो हुन्छ, थोरै आफ्नै बारी भएको भए मकै कोदो लगाएपछि खान पुग्थ्यो ।’

अर्का स्थानीय रूपा परियारले नमुना बस्तीमा खानेपानीको चरम अभाव रहेको बताउनुभयो । उहाँले खानेपानीको जोहो गर्न घण्टौँ बिताउनुपर्ने अवस्था रहेको बताउनुभयो । सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरूको बस्तीसम्म सडक नपुगेको उहाँको गुनासो छ । सरकारले आफूहरूका लागि खानेपानी र सडक निर्माण गदिए सहज हुने उहाँको भनाइ छ ।

परियारले घरसँग जोडिएको बाँझो जमिनलाई सिकाउँदै भन्नुभयो, ‘हाम्रो सम्पत्ति भनेको यही घर मात्रै हो, यो जमिन पनि अरूको पर्छ, घर बाहिर निस्किएर थुक्ने ठाउँ पनि छैन हाम्रो त, घर मात्रै भएर के गर्ने, गरि खाने ठाउँ छैन, काम गर्ने पनि कहाँ गर्ने ? के काम गर्ने ?, निकै अप्ठ्यारो अवस्थामा छौँ हामीहरू त ।’

पहिरोले नबगाउँदासम्म आफ्नो गरिखाने जग्गा जमिन प्रशस्तै भए पनि अहिले उक्त ठाउँमा ढुंगा मुडा मात्रै थुप्रिएको उहाँको भनाइ छ । सरकारले पीडितहरूका लागि गरि खाने ठाउँ नदिए पनि रोजगारी अवसर मिलाई दिन परियारले अपिल गर्नु भयो । ‘पीडा त हामी यसै पनि छौँ, त्यसमाथि परिवार पाल्न नसक्ने अवस्थाले निकै पिरोल्छ, हामी पोहोर सालसम्म घरविहीन थियौँ, सरकारले घर बनाइदिएपछि अहिले हामीहरूसँग घर छ, तर बिहान बेलुकाको छाक टार्ने उपाय केही भएन, अध्यक्ष, माननीयहरूले केही मेसोमेलो मिलाइ दिए हुन्थ्यो, कसैको बाँझो जमिन पनि पाइँदैन, अँधिया गरेर कमाएको मकैले वर्ष बित्दैन’ उहाँले भन्नुभयो ।

स्थानीय लालबहादुर दमाइले आफूलाई सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले आफ्नो घर भूकम्पले भत्किएको र जग्गा जमिन सबै पहिरोले बगाएको भन्दै अहिले आफू सडक कुनामा बस्नु परेको बताउनुहुन्छ । दमाइले सबै पीडितले घर पाउँदा आफू वञ्चित भएको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘गाउँका अरू जस्तै म पनि भूकम्प र पहिरो पीडित हुँ, अरूको जस्तै अवस्था हो मेरो, अरुले घर भए पनि पाए मैले त्यही घर पनि पाएन, अहिले सडक छेउमा छाप्रो बनाएर बस्दै आएको छु, खाना लाउनको पनि उस्तै समस्या छ, बुढो भएँ काम गर्न सक्दैन, सरकारले हेर्नुभएन ।’

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नमुना बस्तीमा रहेको खानेपानी समाधानका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उक्त सम्सया केही समयमै समाधान हुने बताउनुभयो । उहाँले यस बस्तीसम्म सडक पुर्‍याउने प्रयास थालेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?