सुदूरपश्चिम प्रदेशसभा : दुई दल हराए, दुई दल उदाए

हिमालय टाइम्स
Read Time = 6 mins

यज्ञराज जोशी/हिटा
धनगढी । मंसिर ४ गते भएको आम निर्वाचनबाट सुदूरपश्चिम प्रदेशसभामा दुई दल हराएका छन् भने दुई नयाँ दलले प्रवेश गरेका छन् । यसपल्ट सुदूरपश्चिम प्रदेशसभामा ६ दलको प्रतिनिधित्व हुने भएको छ । त्यसबाहेक एक स्वतन्त्र उम्मेदवार पनि छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले आफ्नो प्रतिनिधित्व यथावत राख्दा नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थपिएका छन् । यस्तै, यसअघि प्रदेशसभामा रहेका जनता समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसले यसपल्ट निर्वाचनमा छलाङ मारेको छ । यस निर्वाचनमा कांग्रेसले प्रदेशतर्फ १२ प्रत्यक्ष र सात समानुपातिक गरी १९ सदस्य प्रदेशसभामा प्रतिनिधित्व गराउने भएको छ ।

यस्तै, अघिल्लो प्रदेशसभामा माओवादीका १४ जना सदस्यको प्रतिनिधित्व रहेकामा यसपल्ट प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा घटेको छ ।

यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित थिए । पार्टी विभाजन भएपछि भने एमालेका १४ सांसद एकीकृत समाजवादीतर्फ लागेका थिए । यसपल्ट नेकपा (एमाले)बाट तीनजना प्रत्यक्ष र सातजना समानुपातिक गरी १० सदस्य निर्वाचित भएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट तीनजना प्रत्यक्ष र एकजना समानुपातिक गरी चार जनाको प्रतिनिधित्व रहनेछ ।

पहिलोपल्ट निर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टीबाट पाँच प्रत्यक्ष र दुई जना समानुपातिकमा गरी सातजना निर्वाचित भएका छन् । यस्तै, राप्रपाबाट प्रत्यक्षमा कसैले नजिते पनि समानुपातिकबाट एकजना निर्वाचित भएका छन् । त्यसबाहेक डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले पनि प्रतिनिधित्व गर्नुहुने भएको छ ।

यसपल्ट अघिल्लो संसद्बाट चुनावमा होमिएका मध्ये चारजना पुनः निर्वाचित भएका छन् । जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट, एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनः प्रदेशसभामा निर्वाचित हुनुभएकोे हो ।

त्यसबाहेक दुईजना सदस्य भने प्रदेशसभाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । प्रदेशसभाका पूर्वसदस्य एवं कांग्रेस नेता डिल्लीराज पन्त कैलाली-५ बाट र अर्का पूर्वसदस्य तारा लामा तामाङ कञ्चनपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै, एमालेका उपाध्यक्ष भीम रावलको क्षेत्रमा टिकट पाउनुभएका पूर्व प्रदेशसभा सदस्य झपट बोहोरा भने प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभयो ।

यसअघिको प्रदेशसभाका १२ सदस्यको यसपल्ट पुनः प्रदेशसभामा निर्वाचित हुने सपना पूरा हुन सकेन । चुनाव हार्नेमा कञ्चनपुरबाट समाजवादी पार्टीका लालबहादुर खड्का, कैलालीबाट अमरबहादुर साउद, कैलालीबाटै माओवादी केन्द्रका नन्दबहादुर साउद, डडेल्धुराबाट एमालेका पठानसिंह बोहोरा, बैतडीबाट लीलाधर भट्ट, कैलालीबाट नेपालु चौधरी र बाजुराबाट बलदेव रेग्मी हुनुहुन्छ ।

यस्तै, एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएका रतनबहादुर थापा, कैलालीबाट प्रदेशसभा सदस्यका लागि पुनः टिकट पाउनुभएका कांग्रेसका नेता डा. रणबहादुर रावल र लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी दोस्रोपटक प्रदेशसभामा पुग्न असफल हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?