विश्वकपको सेमिफाइनल समीकरण पूरा

Read Time = 3 mins

दोहा । कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान सकिएको क्वाटरफाइनलका दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्कोले स्थान बनाएका छन् । आइतबार इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले र पोर्चुगललाई पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएका हुन् । यसअघि अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

अब फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन् । सेमिफाइनलको पहिलो खेलमा मंगलबार राती पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राती पौने १ बजे फ्रान्स र मोरक्को भिड्नेछन् ।

इंगल्याण्डलाई दुई-एक गोलअन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । तारको अल वयात रंगशालामा भएको खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । खेलको ५४औँ मिनेटमा इंग्ल्याण्डका लागि हृयारी केनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । यस्तै ५८औँ मिनेटमा ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

यस्तै, क्वाटरफाइनलको अर्को खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुग्यो । मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अतिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदानबाट बाहिरिनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?