गाउँपालिका महासंघको महाधिवेशन काठमाडौंमा सुरु

तीन तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । गाउँपालिका महासंघको महाधिवेशन काठमाडौंमा सुरु भएको छ । तीन तहका सरकारबीच समन्वय हुनुपर्नेमा महाधिवेशनमा सहभागीले जोड दिएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा सहभागीहरूले मुलुकको समृद्धिका लागि तीनवटै तह एक-आपसमा समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने भन्दै दोष नदिई समन्वय गरेर अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्र पनि थप बलियो हुने उनीहरूको भनाइ छ । तीन सरकारका कामको समीक्षा भने हुनुपर्ने सहभागीरूको जोड छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागिता थियो । महाधिवेशनको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभयो । महाधिवेशन मंसिर २७ गतेसम्म चल्नेछ । महाधिवेशनबाट आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन हुनेछ । महाधिवेशनबाट ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ । त्यस्तै, विषयगत विज्ञहरूसँग अन्तरक्रिया, स्थानीय सरकार सबलीकरणसम्बन्धी कार्टुन चित्र प्रदर्शनी र काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

महासंघ नेपालभरिका ४६० गाउँपालिकाको छाता संगठन हो । महासंघको महाधिवेशन प्रतिनिधिका रूपमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एकजना वडा अध्यक्ष वा सदस्य रहने व्यवस्था छ ।

संघीयताको सफल कार्यान्वयन गर्न तीनै तहका सरकार एकजुट हुन आवश्यक : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आहृवान गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सबलीकरण हुनेगरी कानुनहरू निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो । ‘अबको प्राथमिकता संघीयता र लोकतन्त्रको आधार स्तम्भको रूपमा रहेको स्थानीय सरकारलाई सबलीकरण गरी नागरिकमा सुशासन र विकास अनुभूति गराउने हुनुपर्दछ । केही दुविधा र अस्पष्टतालाई थप स्पष्ट पार्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘संघीयताको सफल कार्यान्वयनका लागि हामी सबै एकजुट हुन आवश्यक छ ।’ जनसेवाको कामलाई प्रभावकारी बनाउन सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकार लगायतका सार्वजनिक सेवाहरूलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले तीनवटै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । तीनैवटा सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने उहाँको भनाइ थियो । ‘हरेक सरकारले आफूलाई समीक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘मिलेर अघि बढे गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन ।’ उहाँले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्नेसमेत बताउनुभयो । अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरू जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?