सनातन धर्मावलम्बीहरूले महाभारतबाट केही सिक्ने कि !

Read Time = 19 mins

✍️ मणि शर्मा

अहिले फेरि इण्डियाले महाकाली नदीको धारलाई नेपालतिर फर्काएर नेपाली भूभागलाई डुबानयुक्त बनाउने दुष्साहस गरेकोमा नेपाली जनताले गुलेली लिएर त्यसको प्रतिकार गरे । नेपाली जनतालाई इण्डिया रौं बराबर पनि मान्दैन किनकि सत्तासीनहरू उसैको आशीर्वादले गद्दीनसीन भएका छन् र हुनेछन् । स्थानीय प्रशासन र प्रहरी मुकदर्शक बनेका छन् । कहिले तुइन काटेर इण्डियाले नेपालीको हत्या गर्छ कहिले सीमा मिचेर नेपाल आमालाई खण्ड विखण्ड पार्छ । गल्ती महाकाली सन्धि गर्ने अहिलेका प्रायः सबैजसो राजनीतिक दलहरूले गरेका छन् । सिंगो महाकाली नदी नेपालको थियो, इण्डियाले फालेका भारू सोहोरेर राजनीतिक दलहरूका नेताहरू उसैको सेवक जस्ता भएका छन् ।

जसको प्रतिफल अहिले नेपाली जनताले भोगिरहेका छन् । राष्ट्रमाथि हमला हुँदा सेना मुकदर्शक बन्छ । आक्रमण केवल गोली र तोपादिले मात्रले गरिँदैन, सीमा मिचेर हाम्रो भूभाग कब्जा गरेर नदीनालामाथि कब्जा जमाएर वा अप्रत्यक्षरूपले यहाँको सरकार चलाएर कुनै पनि मुलुकलाई कब्जामा राख्न सकिन्छ । नेपाली सेनाको पद विभाजन वैदिक कालमा गरिएको सेनाको पद विभाजन अनुसार छ । प्राचीन कालमा सेनाको प्रमुख योद्धाहरूलाई छ श्रेणीमा बाँडिएको थियो ।

१. अर्धरथी-अर्धरथी एउटा प्रशिक्षित योद्धा हो । अर्धरथी एक्लै २ हजार ५०० योद्धाहरूसँग लड्न सक्थे । महाभारतमा भीष्मले कर्णलाई अर्धरथी भनेकाले उनी बाँचुञ्जेल कर्णले युद्ध लडेनन् । २. रथी-रथी एक यस्तो योद्धा हो जो सम्पूर्ण अस्त्रशस्त्र चलाउन निपुण हुन्थे । जसले दुईजना अर्धरथी अर्थात् पाँच हजार सेनासँग एक्लै लड्न सक्थे । ३. अतिरथी- एक यस्तो योद्धा जो सामान्य अस्त्रशस्त्रको अलावा अनेक दिव्यास्त्रहरूको ज्ञाता हुन्थे । जसले युद्धमा १२ रथीहरू अर्थात् ६० हजार सेनासँग एक्लै लड्न सक्थे । ४. महारथी- यो सबैभन्दा प्र्रसिद्ध पद थियो, यो पद पाउने व्यक्ति संसारमा सबैभन्दा सम्मानित तथा प्रतिष्ठित व्यक्ति हुन्थे । यिनी सबैखाले अस्त्रशस्त्रसहित दिव्यास्त्रहरू चलाउन समर्थ हुन्थे ।

युद्धमा महारथी १२ अतिरथी अर्थात् ७ लाख २० हजार सशस्त्र योद्धाहरूसँग लड्न सक्थे । जुन योद्धालाई ब्र्रहृमास्त्रको ज्ञान हुन्थ्यो उसलाई पनि सोझै महारथी पद दिइन्थ्यो । रामायणमा भरत, शत्रुघ्न, अंगद, सुग्रीव, अतिकाय, कुम्भकर्ण, प्रहस्त, जामबन्त, रावण, बाली, कार्तवीर्य अर्जुन, महारथी थिए । महाभारतमा अभिमन्यू, बब्रुवाहन, अश्वत्थामा, भगदत्त, बर्बरिक (यलम्बर) आदि महारथी थिए । ५. अतिमहारथी- यो श्रेणीको योद्धा दुर्लभ हुन्थ्यो । अतिमहारथी योद्धा त्यो हुन्थ्यो जो १२ महारथी योद्धाहरू अर्थात् ८६ लाख ४० हजार योद्धाहरूसँग एकै पटक लड्न सक्थे । यिनलाई दैवीय शक्ति प्राप्त हुन्थ्यो ।

शत्रु बलियो छ भने ऊसँग सोझो लडाइँ लड्नुभन्दा कूटनीतिक लडाइँ लड्नु जरुरी छ । श्रीकृष्णले कालयवन र जरासन्धसँग यही गरेका थिए । उनले कालयवनलाई मुचुकुन्दको हातकाट हत्या गराएका थिए र जरासन्त्रलाई भीमको हातबाट ।

महाभारतमा केवल श्रीकृष्ण मात्र अतिमहारथी थिए । रामायणमा राम र मेघनाद अतिमहारथी थिए । यिनीहरूसँग महास्त्र, ब्रहृमास्त्र, नारायण अस्त्र तथा पाशुपत अस्त्र हुन्थे । ६. महामहारथी- महामहारथी एक त्यस्तो योद्धा हुन जो २४ अतिमहारथी अर्थात् २० करोड ७३ लाख ६० हजार सशस्त्र योद्धाहरूसँग एक्लै लड्न सक्थे । जोसँग दैवीय तथा महाशक्ति हुन्छ उही नै महामहारथी बन्न योग्य हुन्छ । यो पद त्रिदेवबाहेक अरूसँग छैन । हाम्रो सेनामा पनि महारथीसम्मको पद छ । हाम्रो राजनीति पनि देशको लागि नभएर सत्ताको लागि परालम्वित छ । नेताहरूका लागि देशभन्दा सत्ता ठूलो भएको छ । प्रजातन्त्रको नाममा हुने चुनाव, चुनाव नभएर धोकाधडीको एउटा खेल भएको छ । पाँच-पाँच वर्षमा हुने आमनिर्वाचनमा झुट, छल, भ्रष्टाचार, गुण्डागर्दी, पैसा, बुथ कब्जा आदि तरिकाहरू अपनाउने गरिन्छ । पाँच प्रतिशत पनि चुनाव प्रजातांत्रिक छैन । धर्म, जाति, कथित राष्ट्रवाद, धर्मनिरपेक्षता, दक्षिणपन्थ, वामपन्थ र दक्षिण तथा वामपन्थको समिश्रणबीच सत्तासंघर्ष चलिरहन्छ र यो संघर्षको खेलको डोरी विदेशी शक्तिकेन्द्रको हातमा छ ।

महाभारतको युद्धमा श्रीकृष्णले धर्मको साथ दिएका थिए । धर्म अर्थात् सत्य, न्याय तथा ईश्वर । सत्य कहाँ छ ? नेपाली मतदाता यो देख्दैनन् । जसले भोज खुवायो, जसले पैसा र कपडा लत्ता बाँँड्यो अशिक्षित ठाउँका अधिकांश जनताले भोट उतै दिन्छन् । कहिलेकाहीँ यो सहरी शिक्षित वर्ग भएको ठाउँमा पनि देख्न पाइन्छ । विवेकलाई बन्धकी राखेर भोट खसाल्ने चलन नेपालमा छ । आपराधिक, देशद्रोही तथा सनातन धर्मविरोधी पृष्ठभूमि भएकाहरूलाई बारम्बार जिताउने गर्छन् । भगवान श्रीकृष्ण पाण्डवहरूसँग किन थिए । किनकि पाण्डवहरू सत्य तथा धर्मसंँग थिए । यसकारण होइन कि पाण्डव उनको फुपू कुन्तीको पुत्र भएकै कारण उनको साथ दिएका थिए । दुर्योधन पनि श्रीकृष्णको आफन्त नै थिए । श्रीकृष्णका पुत्र साम्बले दुर्योधनको पुत्री लक्ष्मणासँग प्रेमविवाह गरेका थिए । बलराम र दुर्योधनसँग पारिवारिक सम्बन्ध थियो । पाण्डवहरूका सेनाभन्दा कैयौं गुणा विशाल र शक्तिशाली थियो कौरव सेना, त्यसमा श्रीकृष्णको नारायणी सेना पनि कौरवसँगै सामेल भयो । यस अतिरिक्त कौरवहरूको सेनामा महावीर योद्धाहरू थिए जस्तै भीष्म, कर्ण, अश्वत्थामा, द्रोण आदि ।

पाण्डवहरूका सेना निकै कमजोर छन् भनेर जान्दाजान्दै पनि श्रीकृष्णले पाण्डवहरूलाई साथ दिए । सत्य तथा धर्म कमजोर भए तापनि उसलाई साथ दिनुपर्छ भन्ने ज्ञान महाभारतले दिन्छ तर हाम्रो आमनिर्वाचनमा अधिकांश मतदाताहरूले कौरवहरूको साथ दिए । भीष्मले युद्धको केही नियमहरू बनाएका थिए जस्तै निहत्थामाथि प्रहार नगर्ने, साँझ ढलेपछि युद्ध नगर्ने वा झुक्याएर कसैको वध नगर्ने । श्रीकृष्णले नियमको पालना तबसम्म गरे जबसम्म अभिमन्यूलाई चक्रव्युहमा फसाएर कौरव पक्षले युद्धका नियमलाई लत्याएर निमर्मतापूर्वक वध गरेका थिएनन् । अभिमन्यु श्रीकृष्णका भान्जा थिए । त्यसपछि श्रीकृष्णले युद्धमा कुनै पनि नियम नमान्ने निर्णय गरे । त्यसपछि सुरु भयो श्रीकृष्णको कूटनीतिक खेल ।

उनले भीष्मको अगाडि शिखण्डिलाई उभ्याइदिएर उनलाई मृत्युशैय्यामा सुताइदिए । भीष्मले प्रतीज्ञा गरेका थिए, उनी कुनै स्त्री वा स्त्रीस्वरूपसँग युद्ध गर्ने छैनन् । शिखण्डिका पछाडिवाट अर्जुनले तीर चलाएर भीष्मलाई शरशैय्यामा सुताइदिएका थिए । त्यसपछि सत्यवादी युधिष्ठिरबाट यो भ्रम फैलाई दिए कि अश्वत्थामा युद्धमा मारिए । भीमले श्रीकृष्णको आदेशमा अश्वत्थामा नाम गरेको हात्तीलाई मारेका थिए तर द्रोणाचार्यलाई युधिष्ठिरले भन्दा अश्वत्थामा मारिए भने । उनले विस्तारै नर हो कि हात्ती भने तर पछिल्लो वाक्य भन्दा श्रीकृष्णले जोरसँग शंख फुक्न लागे जसले गर्दा द्रोणाचार्यले नर कि हात्ती भन्ने शब्द सुन्न सकेनन् । यसै मौका छोपी द्रुपद पुत्र धृष्टद्युम्नले द्रोणाचार्यको शिर तलवारले काटे ।

जब कर्ण र अर्जुनको युद्ध चलिरहेको थियो तब श्रीकृष्णले रथलाई भगाएर यस्तो स्थानमा लगे जहाँ हिलोले भरिएको यौटा खाल्डो थियो । कर्णको सारथिले पनि आफ्नो रथ लिएर अर्जुनतिर कुदायो तर उसले अगाडि हिलोमा खाल्डो भएको देखेन र रथ खाल्डोमा फस्यो । कर्णले अस्त्रशस्त्र फालेर रथको पांग्रा निकाल्न लागे तब श्रीकृष्णले अर्जुनलाई भने यही सही मौका हो कर्णलाई वध गर्ने । यो सुनेर अर्जुनले भने, यो युद्धको नियमविपरीत हो । तब श्रीकृष्णले भने सत्य तथा धर्मका लागि नियमहरूको पालन गर्न आवश्यक छैन । यदि तिमी हारे सत्य पनि हार्नेछ । यो सुनेपछि अर्जुनले तीर चलाएर कर्णको शिर घाँटीबाट अलग गरिदिए ।

श्रीकृष्णले वचन दिएका थिए कि युद्धमा कुनै किसिमको अस्त्रशस्त्र उठाउने छैन । उनले यो पनि वचन दिलाएका थिए कि उनले पाण्डवहरूलाई युद्धमा जित दिलाउने छु । जब उनले देखे कि युद्धमा भीष्मले उपद्रो मच्चाइरहेका छन् र पाण्डव सेनाको संहार गरिरहेका छन्, अर्जुन उनीसँग लड्न अक्षम थिए तब श्रीकृष्णले भीष्मलाई शान्त गर्न रथको पांग्रा उचालेर भीष्ममाथि फाल्न थाले । तब भीष्मले आफ्नो धनुष तथा वाण एकातिर राखेर भने, तपाईले त युद्धमा शस्त्र नउठाउने वचन दिनुभएको थियो, तपाईले तपाईको वचन कसरी भंग गर्न सक्नुहुन्छ ? यो सुनेर कृष्णले भने, हे भीष्म तपाई त स्वयं ज्ञानी हुनुहुन्छ । तपाई आफ्नो वचन वा प्रतिज्ञा कहिल्यै तोड्नुहुन्न, त्यसैले तपाई भीष्म कहलिनु भयो तर तपाईलाई थाहा छ, मेरो लागि धर्म तथा सत्यको रक्षा गर्नु आफ्नो प्रतिज्ञाभन्दा पनि ठूलो हो । तर, तपाई आफ्नो प्रतिज्ञा पूरा गर्ने चक्करमा अधर्मलाई साथ दिई रहनु भएको छ ।

कृष्णको नीतिलाई वर्तमान शासन व्यवस्था र भर्खरै सम्पन्न आमनिर्वाचनलाई मध्यनजर राखेर हेरौँ त ? महाभारत कालदेखि अहिलेसम्म युद्धको शैली र खेल परिवर्तन हुँदै आएको छ तर युद्धमा पहिला जस्तो छलकपट हुने गर्दथ्यो त्यो आज पनि भइरहेको छ । चाहे त्यो अस्त्रशस्त्रको खेल होस् वा आमनिर्वाचनको । यस्तो अवस्थामा सत्य तथा धर्मलाई कैयौं पटक पराजित हुन परेको छ । किनकि हर युगमा कृष्ण धर्म तथा सत्यको पक्षमा साथ दिन अवतार लिँदैनन् तर हामीले कृष्णको नीतिलाई बुझ्नु जरुरी छ ।

शत्रु बलियो छ भने ऊसँग सोझो लडाइँ लड्नुभन्दा कूटनीतिक लडाइँ लड्नु जरुरी छ । श्रीकृष्णले कालयवन र जरासन्धसँग यही गरेका थिए । उनले कालयवनलाई मुचुकुन्दको हातकाट हत्या गराएका थिए र जरासन्त्रलाई भीमको हातबाट । यी दुवै योद्धा अति शक्तिशाली थिए, त्यसैले महाभारतको युद्धअगाडि नै यिनीहरूको कथाको अन्त्य गराएका थिए । बबरिक (यलम्बर) महारथी थिए । यिनलाई पाखा लगाउन ब्राहृमणको भेष धारण गरी दानमा उनको शिर नै लिए । युद्धमा संख्याबलको महत्व राख्दैन । युक्रेनलाई हेरौँ । पूरै युरोप र अमेरिका लाग्दा पनि युक्रेनको रक्षा गर्न सकिरहेका छैनन । युद्धमा साहस, नीति र सही समयमा सही अस्त्र एवं व्यक्तिको उपयोग गर्नु महत्वपूर्ण हो । पाण्डवहरूको संख्या कम थियो तर श्रीकृष्णको सही नीतिका कारण पाण्डवहरूले जित प्राप्त गरे । उनले घटोत्कचलाई युद्धमा तबमात्र उतारे जब उसको आवश्यकता थियो । घटोत्कचको बलिदान खेर गएन । उनको कारण नै कर्णसँग भएको अचूक अस्त्र अमोघास्त्र उनले चलाउनु प¥यो जुन अर्जुनमाथि चलाउन चाहेका थिए । जो राजा वा सेनापति आफ्नो एक एक सैनिकलाई राजा सम्झी उनको ज्यानको रक्षा गर्छ, जित उसको सुनिशिच्त छ । पाण्डवहरूले त्यस्तै गरेका थिए । आफ्नो सेना शत्रु पक्षको घेराबन्दीमा पर्दा उनीहरू त्यहाँ गएर तिनीहरूलाई बचाएका थिए ।

जब आफ्नो शत्रुलाई मार्ने अवसर पाइन्छ तब उसलाई मारिहाल्नुपर्छ । नत्र ऊ बाँचे तपाईलाई अप्ठ्यारोमा पार्न सक्छ । कृष्णले द्रोण र कर्णसँग यही गरेका थिए । महाभारतले शिक्षा दिन्छ कि कुनै पनि वचन, सन्धि, सम्झौता अटल हुँदैन । उसले यदि राष्ट्र, धर्म र सत्यको अहित गर्छ भने त्यसलाई खारेज गरिदिनुपर्छ । अक्सर यो देखिन्छ कुनै योद्धा आफ्नो पक्षको भएर पनि शत्रु पक्षका लागि जासुसी गरिरहेको छ भने चनाखो भई त्यसको पहिचान गरी त्यसलाई समाप्त पार्नुपर्छ । महाभारतको युद्धमा मृत सैनिकहरूको दाहसंस्कार, घाइतेहरूको औषधोपचार, भोजनको व्यवस्था, सैनिकहरूलाई हतियारहरूको आपूर्ति बडो कौशलको साथ गरिएको थियो । यसको जिम्मा कृष्णको थियो । यस्तो भयंकर युद्धमा पनि कृष्णले अर्जुनलाई गीताको ज्ञान दिएका थिए । जीवनको कुनै मोर्चामा व्यक्ति, दल, संघसंस्था सत्य तथा धर्मका लागि लडिरहेका छन् भने उसले ज्ञान, प्रवचन र सत्यसँग सुन्नु पर्दछ । कृष्ण सिकाउँछन्, संकटको समय वा असफलतामा कहिल्यै हरेश खानु हुँदैन । समस्याहरूको सामना गर्नू भन्छन् उनी । एकचोटि भयलाई जितेपछि जित तपाईको सामु छ भन्ने सन्देश दिन्छन् कृष्ण ।

नेपाल अधर्म, कथित राष्ट्रवाद, धर्मनिरपेक्षता, दक्षिणपन्थ, वामपन्थ र दक्षिण तथा वामपन्थ मिश्रित शिखण्डिपन्थको चौबाटोमा उभिएको छ । यहाँ यी कौरवहरूका विरुद्ध विभिन्न दल, संघसंगठनहरू पाण्डव बनी उभिएका छन् । लक्ष्य, नेपाललाई फेरि सनातन धर्मसापेक्ष अधिराज्य बनाउँदै, सनातन धर्म, संस्कार र परम्पराहरूको जगेर्ना तथा अभिवृद्धि गर्दै समुन्नत सनातन धर्मसापेक्ष अधिराज्य बनाउने । लक्ष्य एउटै, युद्ध एउटै तर विभाजित । अब सम्पूर्ण व्यक्तिगत तृष्णाहरूलाई समाप्त पारेर सबै एकजुट भई अक्षौहिणी धार्मिक सेना तयार पारी सत्य तथा धर्म रक्षाको युद्धमा अग्रसर हुुन आवश्यक छ । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?