स्टार्टअप उद्यमशीलताका लागि चार संस्थाबीच सम्झौता

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इण्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रमका लागि सहकार्य गरेका छन् । कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्‍याउनुका साथै क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउने सिएनआईको भनाइ छ । सिएनआईका अनुसार ग्राथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सलेटर कार्यक्रम हो । जसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्टअपलाई स्केलिङअप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ ।

सिएनआई परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्तरूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्नो उद्यम सञ्चालन गर्ने संस्थापकलाई सहभागी गराइनेछ । जसले नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त उद्योगी, डोमेन विशेषज्ञ, सफल संस्थापक र लगानीकर्ताबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ ।

स्टार्टअप रेसोले भारतमा बुट क्याम्प र एक्सेलेटर कार्यक्रममार्फत् विगत नौ वर्षमा आठ सयभन्दा बढी स्टार्टअपलाई लगानी गर्दै १२ हजार बढीलाई प्रत्यक्षरूपमा रोजगारी सिर्जनामा सहयोग गरेको छ । त्यस्तै, ४० भन्दा बढी एक्सलेटर स्थापना, नवीनतम् रोजगारी सिर्जनामा सहयोग गर्दै एक करोड ३० लाख डलर बराबर राजस्व, अनुदान र प्रयोजनमा सहयोग पुर्‍याएको छ ।

सहकार्य सम्झौतापछि टिम भेन्चर्सका सिइओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअप व्यवसाय माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न सिएनआई, युवा उद्यमी मञ्च जस्ता साझेदार पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक लगानीकर्ताका रूपमा हाम्रो वास्तविक चुनौती हाम्रो पहिलो चेक जारी गरेपछि सुरु हुन्छ, कम्पनीहरूलाई तिनीहरूको रणनीतिक पहल कार्यान्वयन तथा तिनीहरूको सञ्चालन सुधार र सही बजार पहुँच बढ्दो व्यापारका पूर्वशर्त हुन् । एकैपटक यी चुनौती हटाउन गाह्रो छ । यस पहलका साथ हामी स्टार्टअप व्यवसाय माथि उठाउन सहयोग गर्नेछौँ ।’

ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमभन्दा फरक पहल भएको परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताउनुभयो । कार्यक्रम क्रस बोर्डर मेन्टरसिप, नेटवर्किङ र विस्तारमा केन्द्रित रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?