आमचुनाव-२०७९ को अन्तिम परिणाम सार्वजनिक

कुल ८२५ सांसद निर्वाचित, प्रतिनिधिसभामा ३३ र प्रदेशसभामा ३६ प्रतिशत महिला

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको अन्तिम परिणाम सार्वजनिक गरेको हो । मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएको थियो । निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभातर्फ पुरुष १८४ जना अर्थात् ६६ दशमलव नौ प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव एक प्रतिशत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभातर्फ पुरुष ३५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

समानुपातिकमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा निर्वाचनमा बढी मत बदर
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदान भएकोमा एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको छ । कुल खसेको मतमध्ये पाँच दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचनको पहिलो निर्वाचित हुने निर्वाचनमा ६१ दशमलव ४१ प्रतिशत मत खसेको थियो ।

त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा ६१ दशमलव ८५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक करोड १० लाख ३४ हजार ५०० मतदान भएकोमा एक करोड पाँच लाख ८५ हजार ३०० मत सदर भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचन प्रणालीमा चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको हो । प्रदेशसभा प्रत्यक्ष निर्वाचन प्रणालीमा ६१ दशमलव ३६ प्रतिशत मतदान भएको थियो ।

प्रदेशसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ मतदान भएकोमा एक करोड तीन लाख ६ हजार ११ मत सदर भएको हो । प्रदेश समानुपातिकमा ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थपलियाले बताउनुभयो ।

चार हजार बढी उम्मेदवार र ४० दलको धरौटी जफत
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि पाँच हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर, महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुन्छ । उहाँका अनुसार प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १८९ गरी जम्मा एक हजार ९६१ जनाको धारैटी रकम जफत भएको हो । त्यस्तै, प्रदेशसभातर्फ पुरुष दुई हजार ८६, महिला २३७ र अन्य एक गरी जम्मा दुई हजार ३२४ जनाको धरौटी रकम जफत भएको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको निर्वाचनमा एक सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको छ । प्रदेशसभातर्फ प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको थपलियाले जानकारी दिनुभयो । त्यस्तै, प्रदेशसभामा एक दशमलव पाँच प्रतिशतभन्दा बढी मत कटाएर प्रदेश १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको उहाँले जानकारी गराउनुभयो ।

निर्वाचन परिणाम सहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइने
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामको प्रतिवेदन बिहीबार (आज) राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । आयोगले सम्पूर्ण निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोहीबमोजिम बिहीबार (आज) राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रस्तुत गरिने प्रमुख निर्वाचन आयुक्त दिने थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई पुस ३ गते आइतबार निर्वाचित प्रमाणपत्र दिइने पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?