पर्वतमा खेल मैदान अभाव

हिमालय टाइम्स
Read Time = 6 mins

कुश्मा । पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरूका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्रसमेत ओझेलमा परेको छ । ‘२० वर्षअघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो,’ पूर्वफुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, ‘अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्ड अनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।’

अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, हृयाण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । ‘विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।’ ४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, ‘अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।’

अर्का कराते प्रशिक्षक तथा कराते महासंघ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताउनुभयो । ‘सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो’, उहाँले पुरानो दिन सम्झँदै भन्नुभयो, ‘हामीले पनि बडगाउँ खेल मैदानमा कराते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिनँ ।’

सशस्त्रको छेउमै खेलकुदलाई भनेर जग्गा छुट्याइएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताउनुभयो । उहाँका अनुसार खेलकुदलाई भनेर दिइएको जग्गा पनि विभिन्न संघसंस्थाको नाममा रहेको छ । ‘हाम्रो खेल मैदान सानो र बर्खामा हिलाम्मे हुँदा खेलकुद प्रतियोगिता गर्न समस्या हुने भएकाले केही महिनाअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सशस्त्र प्रहरीको गणभित्रै सम्पन्न ग¥यौँ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘जग्गा पनि हाम्रो नाममा छैन भोलि निकलेर जा भन्यो भने हट्नुपर्ने अवस्था छ ।’

पर्वतको खेल क्षेत्र सुस्ताउँदा युवा लागूऔषधको कूलततर्फ फसिरहेको स्थानीय युवा नरेन्द्र केसीले बताउनुभयो । ‘कुश्माका युवा पनि लागूऔषधमा फसिरहेका छन्, उनीहरूलाई खेलकुदमा जोड्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘खेलकुदले नै युवालाई सही बाटो हिँड्न सघाउने भएको हुँदा अब राज्यले सशस्त्रलाई दिएको खेल मैदान फिर्ता गर्नुपर्छ । युवाले आफ्नै खेल मैदानमा खेल खेल्न पाउनुपर्छ ।’
खेल मैदानको अभावमा धेरै युवा कोठाभित्रै मोबाइलमा गेम खेलेर बस्ने अवस्था रहेको क्रिकेट खेलाडी सुरेन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेल मैदान त छ, तर सानो । सेभेन ए साइड फुटबल खेल्न पनि नमिल्ने खालको । क्रिकेट खेल्नका लागि छिमेकी जिल्ला बागलुङ जानुपर्छ ।’ उहाँले सशस्त्र बसेको खेलकुद मैदानमा आफूहरूलाई जतिबेला पनि निर्धक्कले खेल्न दिने वातावरण मिलाइदिन माग गर्नुभयो ।

सो खेल मैदान २०६१ सालमा आफूहरूले खेलकुद विकास समितिमार्फत २५ लाख रुपैयँमा खरिद गरेको सशस्त्र प्रहरीको भनाइ छ । ‘मन्त्रिपरिषद्को निर्णय भएर जग्गा हाम्रो नाममा आएको हो’, सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र बमले भन्नुभयो, ‘खेल खेल्नका लागि हामीले रोकेका छैनौँ’, अनुशासित भएर खेल खेल्दा हुन्छ । विगतमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न दिएका थियौँ, रोकावट गरेका छैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?