महरू र म

Read Time = 7 mins

✍️ शम्भुप्रसाद निरौला

प्रिय शक्ति (उयधभच),
सादर अभिवादन !
लाल सलाम !
जय नेपाल !
नमस्कार !
आसा छ- तपाईं आरामै हुनुहुन्छ । चलायमान् हुनुहुन्छ । हट्ठाकट्ठा हुनुहुन्छ । हेर्दै रसिलो हुनुहुन्छ । भर्भराउँदो हुनुहुन्छ । तपाईंको मुखमण्डल दीप्त छ । कस्तो भने आरनको राऽऽऽतो फलाम जस्तै छ । आँखा घामका किरणतुल्य तेजिला छन् । ती धपधप बल्छन् । हिँडाइ, बसाइ, सुताइ र ख्वाइ सबै अद्वितीय छन् । प्रिय शक्ति, तपाईंका अघिपछि ठूलो लाम छ- हात मल्नेहरूको । कपाल कन्याउनेहरूको । डिच्च दाँत देखाखाउनेहरूको । प्रशस्ति गाउँने विशाल समूह छ । भजन मण्डली छन् ! जयजयकार गर्ने टुकुडी छन् । ‘अन्तिम सत्य नै तपाईं हो’ भन्ने मानसिकताका दुब्ला पातला आत्माहरू छन् । त्यस्ता आत्माहरूमा म छु अनि महरू छौँ ।

महरूभित्र तँ पर्छ, तिमी पर्छ, तपाईं पर्छ र हामी पर्छ ।

प्रिय शक्ति तपाईंका जस्तासुकै बोली मेरा वेदवाणी हुन् । बाइबल हुन् । कुर्आन हुन् । त्रिपिटक हुन् । मुन्धुम हुन् । आदर्श हुन् । पूर्ण सत्य हुन् । तपाईं हिँड्ने बाटो मेरो विश्वाश त्यही हो  ! तपाईं हाँस्दा म पनि हाँस्छु । मन रोइरहे पनि मुखले हाँस्छु । मेरा बगैँचाको सुन्तलाको बोटलाई तपाईंले खिर्रो देख्नुभयो भने त्यो मेरा लागि खिर्रै हो । सुन्तला हुन सक्तैन । जूनलाई घाम र घामलाई जून ठान्नुभयो भने मेरो ठम्याइ त्यही हो । तपाईंको जिब्रामा ‘मिस्री अमिलो हुन्छ’ फट्कार्यो भने म ठोकिदिन्छु,“हो त, मिस्री अमिलै हुन्छ । मिस्रीको गुण भनेकै अमिलो हुनु हो  !
प्रिय शक्ति, यतिखेर तपाईंको आँखाबाट अजस्र तेजोमय आभा निस्कन्छ- धपधप । ज्वालामुखीको लप्का निस्के जस्तै निस्कन्छ- हृर्वाहृवार्ती । त्यस लप्काले मेरा नयन र उपनयन धुमिल हुन्छन् । देख्दैनन् । कालो गोरो केही छुट्ट्याउँदैनन् । होचो अग्लाको भेद पाउँदैनन् । त्यो जाज्ज्वल्यमान व्यक्तित्वले म विचारशून्य हुन्छु । निस्प्राण मन तर कथित जीवित शरीर । तपाईंका नयनले जे देख्छन् मेरो नयनको पनि दृष्य त्यही हुन्छ । तपाईंलाई मन परेको सङ्गीत मलाई उधुम मन पर्छ । तपाईंको खाना, नाना मलाई अद्वितीय लाग्छ । तपाईंको शरीरको दुर्गन्ध अत्तरतुल्य हुन्छ । रात्रिकालीन कर्कश घुराइ श्रुतिमधुर लाग्छ ! नग्न हिँडिरहँदासमेत तासकुचिन वस्त्रजालले बेरिएको देख्छु । आहा ! यस्ता भगवानतुल्य शक्तिको सेवक हुन पाउनु ईश्वरीय अनुकम्पा हो ।

प्रिय शक्ति मेरो जपना, तपना, कामना, इच्छा सबै अझ थप शक्ति बढोस् भन्ने नै हो । त्यसैले त तपाईंको भक्त छु । पुजारी छु । तपाईंको महिमा सर्वत्र फिँजाउँछु ! प्रिय शक्ति ! म सेवक हुँ । म चाहन्छु सदैव तपाईंको अनुकम्पा पाइरहूँ ! कृपादृष्टि प्राप्त भइरहोस् तपाईंको नाम र शान सिरानी हालेर गौरवपूर्ण सप्न-मण्डलमा विचरण गर्न गर्दै छु  !

महामहिम प्रिय शक्ति  ! मलाई एउटा कुराको भने डर छ । त्यो के भने तपाईंमा अमरत्व त छैन । अजरत्व पनि छैन ! अजेयपन पनि छैन  ! र, यो चिरस्थायी पनि छैन । नाशवान् छ । यदि तपाईंका आन्तरिक र बाहृय अङ्ग क्षयीकरण हुन थाले भने नि विस्तारै भजनमण्डलीहरू तर्किन थाल्छन् । लाखापाख लाग्छन् । एक युगमा एकचोटि खुट्टो घुमाउने हो । एकचोटि आगाका लप्का उगेल्ने हो । एक फेरि आफ्ना तेजिला र तीखा पञ्जा फैल्याएर एकछत्र शासन गर्ने हो । महरूलाई वशीभूतमा राख्ने हो जुन ऐले तपाईं गर्दै हुनुहुन्छ  !

प्रिय शक्ति ! माथि भनिए झैँ एउटा कुराको बिन्ती बिसाउन चाहेँ : आज महरू तपाईंका वरिपरि छन् । तपाईं जे बोल्नुहुन्छ आँखा चिम्लेर ताली पिट्छन । तपाईं जे काम गर्नुहुन्छ छाती ठोकेर समर्धन गर्छन् । तपाईंका भित्री-बाहिरी कल्मष देख्दैनन् । भोलि तपाईंको तेज मलिन हुँदा महरू त्यहाँ हुने छैनन् । ठेस लागेर पल्टिँदा उठाउने कोही हुने छैनन् । महरू अर्कै शक्तिको पछि लाग्नेछन् । तिर्खाले प्याकप्यारी मुख बाउँदा पानी तुर्क्याउने कोही हुने छैनन् । महरूले तपाईंलाई मरेका मुसालाई उपियाँले छाडे जसरी छाड्ने छन् । कुल्चेर अघि बढ्नेछन् ! अतः प्रिय शक्ति शाश्वत् तथ्यलाई बुझ्ने कि ?

फेरि अर्को बिन्ती हालेँ- महरूभन्दा फाल्टाहरू पनि छन् । तिनले लप्सीलाई बिमिरोभन्दा ‘लप्सी नै हो’ भन्छन् । भोलि ठेस लागेर लड्नु हुँदा उठाउने तिनै हुनेछन् । महरू दुला पसिसक्छन् । त्यसैले प्रिय शक्ति महरू भन्दा अरूहरू चाहिँ भविष्यका सहयात्री हुन सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?