सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ ।

हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमन्टलगायतका उद्योगहरू तथा स्थानीय उपभोक्ताहरूले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरू र स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरूदण्ड भएको बताउनुभयाे ।

‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिंदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरूबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटक-पटक ट्रिपिङ हुने जस्ता गुनासाहरू आउने गरेका थिए । बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँग बुटवल सबस्टेसनको चाप घटेको छ, सुनवल तथा परासी क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ, उपभोक्ताहरूले मागेजति विद्युत पाउने छन् भने प्राविधिक चुहावटसमेत घट्ने छ ।’

सबस्टेसनमा १३२/३३, ६३ एमभिएका दुई वटा र १३२/११ केभी,२२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरू रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरूमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ ।

३३ केभीका तीन वटा फिडरहरूमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताउनुभयाे ।

अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरू निर्माणाधीन छन् ।

औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि  सुनवल (भुमही)-हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।

प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । मैनहिया सबस्टेसनबाट विद्युत दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भई आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?