वेस्ट इण्डिजका चाडविकले जनकपुरबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वेस्ट इण्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को सातादेखि टियु क्रिकेट मैदानमा हुने नेपाल टी-२० लिगमा जनकपुर रोयल्र्सबाट खेल्नुहुने भएको छ । ३७ वर्षीय वाल्टनले वेस्ट इण्डिजबाट दुई टेस्ट, ९ ओडिआई र १९ टी-२० खेल खेल्नुभएको छ ।

उहाँले अन्तिम पटक वेस्ट इण्डिजबाट २०१८ मा बंगलादेशविरुद्ध खेल्नुभएको थियो । ‘जनकपुरको टोलीमा हुँदा म निकै उत्साहित छु । नेपाल आएर राम्रोे क्रिकेट खेल्न आतुर छु,’ वाल्टनले भन्नुभएको छ ।

जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी र मुख्य प्रशिक्षकमा उमेश पटवाल हुनुहुन्छ । सोमपालसँगै टोलीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललितनारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी मगर रहनुभएको छ । जनकपुरले पहिलो खेल २४ डिसेम्बरमा पोखरासँग खेल्नेछ ।

यस्तै, पाकिस्तानका अलराउण्डर हुसेन तालतले विराटनगर सुपर किंग्सबाट खेल्नुहुने भएको छ । तीव्र गतिका बलिङ अलराउण्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । २६ वर्षीय उहाँ मध्यक्रमका ब्याट्सम्यान पनि हुनुहुन्छ । टी-२० मा उहाँले २ अर्धशतकसहित कुल ३९४ रन बनाउनुभएको छ । उहाँले ४ विकेटसमेत लिनुभएको छ । २०१८ मा वेस्ट इण्डिजविरुद्ध कराँचीमा भएको पाकिस्तानको टी-२० टोलीबाट उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?