भलिबल टोली बंगलादेश प्रस्थान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगबन्धु एसियन यू-२३ सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले टोलीलाई राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामनासहित बिदाइ गर्नुभयो ।

खेलाडीहरूलाई बिदाइ गर्दै सदस्य-सचिव घिसिङले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिताको आवश्यकता रहेको भन्दै खेलाडीहरूलाई राष्ट्रको झण्डा उचाल्दै नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना प्रदान गर्नुभयो । यसै क्रममा बंगलादेश जाने टोलीका लागि संघका पूर्व-अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोगबापत नगद एक लाखको चेक अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गर्नुभएको थियो ।

बंगलादेश जाने टोलीमा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीमराज गुरुङ (लिबेरो) रहनुभएको छ । यस्तै, टिमको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहनुभएको छ ।

यसैगरी टिम व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ रहनुभएको छ । पुस ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ ।

सोही क्रममा सेन्ट्रल एसिया भलिबल एसोसिएसनले प्रथमपटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एसिया भलिबल एसोसिएसन बिच भलिबल इन्टरनेसनल टुर्नामेन्टमा सहभागी हुन जाने महिला तथा पुरुष भलिबल टोलीलाई पनि बिदाइ गरिएको छ । टोलीमा महिलातर्फ कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार रहनुभएको छ ।

यस्तै, टिममा प्रशिक्षकका रूपमा राष्ट्रिय भलिबलका पूर्वकप्तान तथा बिच भलिबल खेलाडी भरत शाह र अफिसियलमा संघकी सदस्य जुनु पुन मगर रहनुभएको छ । प्रतियोगिता बंगलादेशको कोक्स बजारमा पुस ११ गते देखि १६ गते सम्म सञ्चालन हुनेछ । बिच भलिबल टोली एक सातापछि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?